काठमाडौं । नेपाल सरकारले कोरोनाको उच्च जोखिम हुने भन्दै सर्वसाधारणलाई चलचित्र भवनमा नजान आह्वान गरेको छ । सरकारले केही दिन पहिले गरेको धेरै निर्णय मध्य १९ औं नम्बरको बुँदामा भनिएको छ, ‘कोरोना भाइरसको संक्रमणबाट जोगिन ठूलो संख्यामा मानिसहरू भेला हुने सिनेमा हल, सभा समारोह, सामाजिक कार्य एवम् मेला महोत्सव सहभागी नहुन आम जनसमुदायलाई आह्वान गर्ने ।’
यद्यपि, सरकारले यो आह्वान पूर्व नै कोरोनाको त्रासले चलचित्रघरमा दर्शक पातलिन थालिसकेका थिए । सोही कराणले चलचित्र रिलिज समेत धमाधम पछि सर्न थालेका छन् । सरकारको यो कदमले देशभर सञ्चालनमा रहेको सयभन्दा बढी हलहरु बन्द हुनसक्ने सम्भावना देखिएको छ ।
दर्शकको स्वास्थ्यलाई ख्याल गर्दै कोरोनाको जोखिम न्यूनिकरणका लागि केही मल्टिप्लेक्स चलचित्र घरले विशेष सावधानी अपनाए छन् । तर सिंगल थिएटरको अवस्था भने नाजुक रहेको छ । सरकारको यो निर्णयले चैत २१ मा आउन लागेको फिल्म ‘लक्का जवान’ र चैत २८ का दुई फिल्म ‘प्रेमगीत ३’ र ‘चपली हाईट ३’ को प्रदर्शनमा अन्योलता देखिएको छ ।