काठमाडौँ, ५ भदौ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले टेलिमेडिसिन सेवालाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभएको छ ।
स्वास्थ्य सेवा विभाग उपचारात्मक महासाखाले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सहकार्यमा आज यहाँ आयोजना गरेको टेलिमेडिसिन (दूर चिकित्सा सेवा) सम्बन्धी दुई दिने राष्ट्रिय कार्यशाला समापनको अवसरमा उहाँले अहिले सञ्चालनमा रहेको टेलिमेडिसिन सेवालाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो ।
नेपालजस्तो भौगोलिक विकटता भएको देशका लागि टेलिमेडिसिन सेवा वरदान नै सावित भएको भन्दै उहाँले त्यस क्षेत्रमा अहिले देखिएका कमी कमजोरी हटाएर थप आधुनिक प्रविधिको प्रयोग गरेर टेलिमेडिसिन सेवालाई द्रुत गतिमा अगाडि बढाउनु आवश्यक रहेको बताउनुभयो ।
“सूचना प्रविधिको विकास नभएसम्म कुनै पनि देशले विकासमा फड्को मार्न सक्दैन । स्वास्थ्य सेवामा पनि टेलिमेडिसिनको विकास नहुञ्जेलसम्म दूरदराजका जनताले सहज उपचार पाउन निकै गाह्रो छ । त्यसैले हामीले टेलिमेडिसिनमा जोड दिनै पर्छ”, उहाँले भन्नुभयो ।
उहाँले दक्ष जनशक्तिको अभाव भएका ठाउँमा टेलिमेडिसिनको माध्यमबाट सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री बस्नेतले स्वास्थ्यका सबै कर्मचारी र स्वास्थ्यकर्मीले इमान्दारिताका साथ काम गर्ने हो भने थोरै समयमा धेरै काम गर्न सकिने बताउनुभयो ।
कार्यशालामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटाले टेलिमेडिसिनका क्षेत्रका केन्द्र र प्रदेशमा केही न केही काम भइरहेको जानकारी गराउँदै अब यसलाई उच्च प्राथमिकताका साथ अगाडि बढाइने बताउनुभयो । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले विज्ञहरुको सुझावका आधारमा टेलिमेडिसिन सेवालाई प्रभावकारी ढङ्गले अगाडि बढाइने बताउनुभयो ।
स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखाका निर्देशक डा अनुप बाँस्तोलाले टेलिमेडिसिन क्षेत्रमा अहिले भइरहेका अभ्यास र सुधार गर्नुपर्ने पक्षका विषयमा स्वास्थ्य क्षेत्रका सरोकारवाला अधिकारीसँग छलफल गरेर अगाडि बढ्न दुई दिने राष्ट्रिय कार्यशाला गोष्ठीको आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि डा राजेश संभावजी राव पाण्डवले टेलिमेडिसिन सेवा प्रभावकारी ढङ्गले सञ्चालन हुन सकेमा नेपालको स्वास्थ्य सेवामा सुधार आउने विश्वास व्यक्त गर्नुभयो ।