चाडबाडको मुखमा बजार अनुगमन, अखाद्य वस्तु जफत

आर्थिक कृषि मुख्य समाचार समाचार

गण्डकी, १९ असोज : दसैँ, तिहारजस्ता ठूला चाडबाडको मुखमा पोखरा महानगरपालिकाले बजार अनुगमन सुरु गरेको छ । अखाद्य वस्तुको किनमेल र मनपरी मूल्य लिने प्रवृत्ति रोक्न बजार अनुगमन थालिएको हो । बिहीबार लेखनाथ क्षेत्रका पसल अनगुमन गरिएको महानगरका बजार अनुगमन अधिकृत भरतराज पौडेलले जानकारी दिनुभयो ।

“छ पसलबाट झण्डै रु १८ हजार मूल्य बराबरको म्याग गुज्रेका र अखाद्य वस्तु मिसाइएका सामग्री जफत गरी नष्ट गरिएको छ”, उहाँले भन्नुभयो, “कर नतिरेका, पसल नवीकरण नगरेका व्यवसायीलाई एक साताभित्र महानगरमा उपस्थित हुन भनिएको छ ।”

चाडबाडका बेला बजारमा हुने उपभोक्ताको भीडभाडको मौका छोपेर व्यवसायीले म्याद गुज्रेका सामान बेच्ने गरेको गुनासो आउने गरेको अनुगमन अधिकृत पौडेलले बताउनुभयो । बजारमा कृत्रिम अभाव देखाएर मनलाग्दीरूपमा सामानको भाउ बढाउने व्यवसायीलाई कारबाही गरिने उहाँको भनाइ छ ।

तिहारसम्मै बजार अनुगमनलाई तीव्रता दिइने महानगरले जनाएको छ । महानगरका उपप्रमुख एवं अनुगमन समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा बजार अनुगमन भइरहेको हो । अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयलगायतका प्रतिनिधि सहभागी छन् ।

“चाडबाडका बेला बजारमा उपभोक्ता ठगिने गरेको गुनासो बर्सेनि उठ्ने गरेको छ, यसको प्रभावकारी नियन्त्रण आवश्यक छ”, अनुगमन अधिकृत पौडेलले भन्नुभयो, “उपभोक्ता पनि सचेत हुनुपर्छ, नियामक निकाय पनि सक्रिय हुनुपर्छ ।”

Facebook Comments Box