चितवन, ६ मङ्सिर : नारायणी नदी किनारमा आजदेखि ‘चितवन नारायणी महोत्सव’ सुरु भएको छ । महोत्सवको आज एक कार्यक्रमबीच जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले महोत्सवको उद्घाटन गर्नुभयो ।
रिकभरिङ युनाइटेड प्रालि र औद्योगिक शान्ति नेपालको संयुक्त आयोजनामा सुरु भएको महोत्सव मङ्सिर १६ गतेसम्म सञ्चालन हुनेछ । समन्वय समिति चितवनका प्रमुख अधिकारीले समाजमा बढेको लागुऔषध नियन्त्रणमा कार्यक्रम प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो । लागुऔषध नियन्त्रणका लागि सामुदायिकस्तरबाटै सबै जुट्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
लागुऔषध तथा मद्यपान प्रयोगकर्ताको निःशुल्क उपचार गर्ने उद्देश्य लिएर महोत्सव आयोजना गरिएको हो । रिकभरिङ युनाइटेड प्रालिका अध्यक्ष रविन श्रेष्ठका अनुसार महोत्सव अवलोकनका लागि विद्यार्थीलाई रु ५० र अन्यलाई रु ७० को टिकटको व्यवस्था गरिएको छ । महोत्सव सम्पन्न गर्न रु ५७ लाख खर्च हुने अनुमान छ । रिकभरिङ युनाइटेडले हालसम्म एक हजार पाँच सय जना लागुऔषध प्रयोगकर्ताको निःशुल्क उपचार गरिसकेको छ ।
संस्थाका संस्थापक अध्यक्ष मनोज घिमिरेका अनुसार महोत्सवमा अटोमोबाइल, कृषि तथा हस्तकला, खाना, फ्रेन्सीलगायतका कक्ष राखिएका छन् । निःशुल्क स्वास्थ्य शिविर, नृत्य प्रतियोगिता, लागुऔषध दुव्र्यसनीविरुद्ध सचेतनामूलक कार्यक्रम र अन्तर्राष्ट्रियस्तरका बाल उद्यान रहेको उहाँले जानकारी दिनुभयो ।