त्रिवेणी (रुकुम पश्चिम), ३ माघ : रुकुम पश्चिममा कृषि पेसालाई थप व्यवस्थित, व्यवसायीकरण तथा कृषकलाई उत्प्रेरणा जगाउन कृषि मेला प्रदर्शनी गरिएको छ ।
कृषकले उत्पादन गरेका विभिन्न कृषिजन्यउपजको कृषि प्रदर्शनी मेलामा प्रदर्शन गरिएको हो । जिल्लाका छ स्थानीय तहमध्ये पाँच स्थानीय तहमा कृषि प्रदर्शनी मेला आयोजना गरिएको थियो । भूकम्पले सबैभन्दा बढी क्षति गरेको आठबिसकोट नरपालिकामा भने कृषि क्षेत्रमा पनि भूकम्पले नराम्रोसँग प्रभावित पारेको र कार्यक्रम प्रभावकारी नहुने देखिएपछि कृृषि मेला प्रदर्शनी गर्न नसकिएको कृषि विकास कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
अन्य पाँच स्थानीय तहमा भने कृषकले उत्पादन गरेका विभिन्न कृषिजन्य वस्तुको प्रतिस्पर्धा बनाई उत्कृष्ट उत्पादन गर्ने किसानलाई पुरस्कृत गरिएको कृषि विकास कार्यालयका निमित्त प्रमुख मीनबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार किसानले उत्पादन गरेका कृषिजन्य वस्तुको छ विधामा उत्कृष्ट छनोट गरी कृषकलाई पुरस्कृत गरिएको हो । कृषिजन्यउपज अन्तर्गत तरकारी बाली, फलफूल बाली, दलहन, तेलहन, विविध तथा रैथाने बाली, खाद्यन्न बाली, मसला तथा नगदे बाली उत्पादन गर्ने कृषकलाई पुरस्कृत गरिएको उहाँले बताउनुभयो ।
“कृषि पेसालाई अगाडि बढाउन तथा कृषि पेसामा आबद्ध भएका किसानको मनोबल बढाउन तथा उत्प्रेरणा जगाउन पालिकास्तरमै कृषि प्रदर्शनी मेला आयोजना गरिएको हो, कृषि प्रदर्शनी मेलाबाट उत्कृष्ट भई पुरस्कृत भएका किसानलाई थप हौसला बढ्ने र अन्य सहभागी भएका किसानलाई पनि थप उत्कृष्ट कृषिजज्य वस्तु उत्पादन गर्न प्रेरणा मिल्ने हामीले अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो, “प्रदर्शनी मेलाले थप कुन भूगोलमा कुन कृषिजन्य वस्तु उत्पादन हुन्छ भन्नेमा पनि ठूलो सहयोग पुगेको छ, आउँदा दिनमा सोही आधारमा कार्यालयले जहाँ जे उत्पादनको सम्भावना छ, त्यहीअनुसार किसानलाई सहयोग गर्न पनि सहज बनाएको छ ।”
कृषि प्रदर्शनी मेलाका लागि सो कार्यालयले प्रत्येक पालिकाका लागि रु एक लाखका दरले रकम विनियोजन गरेको थियो । यसमा चौरजहारी नगरपालिकाबाहेक अन्य चार स्थानीय तह त्रिवेणी गाउँपालिकाले रु ५० हजार, बाँफीकोट र सानीभेरी गाउँपालिका तथा मुसीकोट नगरपालिकाले रु एक एक लाखका दरले रकम विजियोजन गरेकोे कृषि विकास कार्यालय जनाएको छ ।
जिल्लाका पाँच स्थानीय तहमा आयोजना गरिएको कृषि प्रदर्शनी मेलाबाट जिल्लाभर एक सय २० कृषक पुरस्कृत भएका छन् । किसानले उत्पादन गरेका विभिन्न छ कृषिजन्य विधामा एक सय २० कृषक पुरस्कृत भएका हुन् । प्रत्येक पालिकामा फरक फरक विधामा उत्कृष्ट कृषिजन्यउपज उत्पादन गरेका आधारमा २४ कृषकका दरले पुरस्कृत गरिएको हो ।
कृषि विकास कार्यालयसँग साझेदारी गरेका त्रिवेणी, सानीभेरी र बाँफीकोट गाउँपालिका तथा मुसीकोट नगरपालिकाका कृषकलाई प्रथम पुस्कार रु चार हजार, दोस्रो पुरस्कार रु तीन हजार, तेस्रो पुरस्कार रु एक हजार पाँच सय र सान्त्वना पुरस्कार रु एक हजारसहित कृषकले प्रमाणपत्र प्राप्त गरेको कृषि विकास कार्यालयका निमित्त प्रमुख केसीले जानकारी दिनुभयो ।
यस्तै कृषि विकास कार्यालयसँग साझेदारी नगरेको चौरजहारी नगरपालिकाका कृषकले प्रथम पुरस्कार रु दुई हजार, दोस्रो पुरस्कार रु एक हजार पाँच सय, तेस्रो पुरस्कार रु एक हजार र सान्त्वना पुरस्कार रु सात सय ५० सहित प्रमाणपत्र प्राप्त गरेका छन् । कृषि प्रदर्शनी मेलामा पाँच स्थानीय तहबाट जम्मा एक हजार दुई सय कृषकले सहभागिता जनाएका थिए ।
सोहीमध्येबाट उत्कृष्ट कृषक छनोट गरी पहिलो, दोस्रो, तेस्रो र सान्त्वना छनोट गरी पुरस्कृत गरिएको हो । कार्यक्रम प्रभावकारी हुँदै गएमा आगामी वर्षमा पनि कृषि प्रदर्शनी मेलाको आयोजना गरिने कृषि विकास कार्यालयले जनाएको छ ।