लेखनाथ (कास्की), १० भदौः गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपाली कला र संस्कृतिको संरक्षण गर्दै त्यसप्रति युवापुस्तालाई आकर्षण गर्न जरुरी भएको बताउनुभएको छ ।
पोखरा–१६ बाटुलेचौरस्थित शुक्ला साहित्य प्रतिष्ठानद्वारा श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर आज बाटुलेचौरमा आयोजित श्रीकृष्ण भजन राष्ट्रिय प्रतियोगिताको उद्घाटन गर्दै उहाँले त्यस्तो कुरामा जोड दिनुभएको हो । बाटुलेचौर साहित्यिक क्षेत्र मात्र नभएर जनकवि धर्मराज थापा र सारङ्गी बाधक झलकमान गन्धर्वको जन्मभूमि भएकाले यस क्षेत्रले साहित्य क्षेत्रको विकासमा ठूलो भूमिका खेल्दै आएको भनाइ उहाँको छ ।
“परापूर्वकालमा लेखिएको श्रीकृष्ण चरित्रको भजन अझै जीवन्त रहनु हाम्रो लागि गौरवको कुरा भएको र यस्ता भजनले पूर्वजहरुको रीतिरिवाज, परम्परा झल्काउने छ, यस्ता भजन नयाँपुस्तका लागि इतिहास र सम्झना बन्नेछ”, प्रमुख भट्टले भन्नुभयो, “नेपाली समाजका हरेक कला, संस्कृति ऐतिहासिक रहेको छ।”
विभिन्न जातजाति मिलेर बसेको देश नेपाल कला र संस्कृतिमा धनी भएका कारण यहाँको कला र संस्कृतिको जगेर्ना गर्न जरुरी रहेकोे भनाइ उहाँले व्यक्त गर्नुभयो । यस्ता भजन प्रतियोगिताले युवापुस्तालाई थप हौसला र आकर्षण बढाउने उहाँले उल्लेख गर्नुभयो ।
भजन प्रतियोगितामा कास्की तथा अन्य जिल्लाका १७ समूहले सहभागिता जनाएका छन् । प्रतियोगितामा प्रथम हुनेलाई रु एक लाख, द्वितीय हुने समूहले रु ७५ हजार र तृतीय हुनेलाई रु ५० हजार, र सान्त्वना हुने समूहलाई रु २५ हजारका साथै प्रत्येक सहभागी समूहलाई रु पाँच हजार प्रदान गरिने संस्थाका अध्यक्ष हरिबहादुर बरुवालले जानकारी दिनुभयो ।
पच्चिसौँ संस्करणको उक्त प्रतियोगितामा भाग लिन काठमाडौँ, लमजुङ जिल्लाबाट सहभागिता रहेको बताउँदै बरुवालले यस्ता प्रतियोगितालाई आगामी वर्ष पनि निरन्तरता दिने बताउनुभयो ।