‘भ्रष्टाचारीको चुङ्गुलबाट देशलाई मुक्त बनाउनुपर्छ’

आर्थिक मुख्य समाचार राजनीति

काठमाडौँ, २९ भदौः प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा धवलशमशेर जबराले सबै मिलेर भ्रष्टाचारीको चुङ्गुलबाट देशलाई मुक्त बनाउनुपर्ने बताउनुभएको छ ।

बागेश्वरी असल शासन क्लब बास नेपालले आज यहाँ आयोजना गरेको ‘बास नेपाल पब्लिक स्पिच’ कार्यक्रममा उहाँले भन्नुभयो, “देशका जिल्लादेखि केन्द्रसम्म भ्रष्टाचार बढ्दै गएको छ । यसविरुद्ध अभियान नै चलाउनुपर्ने आवश्यकता छ ।”

नेता डा जबराले भ्रष्ट्राचारजन्य क्रियाकलापमा लाग्ने नेता तथा जुनसुकै व्यक्ति भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने र यसविरुद्ध जनताहरू पनि सचेत रहनुपर्ने धारणा राख्नुभयो ।

क्लब (बास नेपाल) की केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले आफूहरूले विभिन्न निकायको सहयोगमा भ्रष्टाचार मुक्त अभियान सञ्चालन गरिरहेको र यसमा सबैको सहयोग रहे भ्रष्टाचार मुक्त राष्ट्र बनाउने अभियान सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

पब्लिक स्पिच कार्यक्रममा भाग लिएर उत्कृष्ट भएका सहभागीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतिस्पर्धी १५ जनामध्ये प्रथम भएका दिलबहादुर भण्डारीलाई रु ५० हजार, द्वितीय सुशीला धमलालाई रु ३० हजार, तृतीय गङ्गा घिमिरेलाई रु २० हजारसहित प्रमाणपत्र तथा ट्रफी प्रदान गरिएको थियो । कार्यक्रममा करुणा खनाल तथा जेपी बुढाथोकीलाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

Facebook Comments Box