भक्तपुर, ६ असोजः इन्द्रजात्राको अन्तिम दिन आज साँझ भक्तपुरको परम्परागत पुलुकिसी (ऐरावत हात्ती) जात्रा सम्पन्न भएको छ । पुलुकिसी जात्रासँगै भक्तपुरमा आजदेखि इन्द्रजात्रा पनि सम्पन्न भएको छ । स्थानीय लाकुलाछेँ टोलबाट सुरु भएको पुलुकिसी जात्रामा भक्तपुर बुलुचा, नासमना, वंशगोपाल, इटाछेँ, दरबार स्क्वायर, भोलाछेँ, महालक्ष्मीस्थान, थालाँछेँ, गछेँ, सूर्यमढी, तचपाल, इनाचो, गोल्मढी, सुकुलढोकालगायत स्थानको परिक्रमा गरिएको छ ।
भक्तपुरको लाकुलाछेँ टोलका समुदायले बाँसको मान्द्रोमाथि नीलो कपडाले छोपेर अगाडिको भागमा हात्तीको जस्तै सुँडसमेत राखी पुलुकिसी तयार गर्छन् । पुलुकिसीलाई चारजनाकले बोक्ने र एकजनाले पुलुकिसीभित्र घण्टा बजाएर स्थानीय टौमढीमा रहेको काशी जगतनाथ भैरवको स्वरूप शक्तिशाली आकाश भैरव मन्दिर अगाडि तीनपटक घुमेर जात्रा सुरु गरिन्छ ।
देवराज इन्द्रका विश्वासिलो सेवक ऐरावत हात्तीका रूपमा लिइने पुलुकिसीलाई वंशगोपाल, इटाछेँ, चोछेँ, भोलाछेँलगायत दोबाटो, चौबाटोमा धान खुवाउने, दरबार स्क्वायरको डबलीमा आगो तपाउने, सूर्यमढीको तला तुन्छी (इनार) मा पानी खुवाउने प्रचलन रहेको छ । जात्राका क्रममा पुलुकिसीको सुँडले मानिसलाई छोएमा दशा लाग्छ भन्ने धार्मिक विश्वासअनुसार पुलुसिकी आउँदा सुँडले छुन्छ कि भनी मानिसहरू परपर भाग्ने गर्दछन् ।
आजदेखि पुलुकिसी जात्रासँगै भक्तपुर टौमढीको आकाश भैरवको अर्को स्वरूप शमशान भैरवको खट जात्रासमेत सम्पन्न भएको छ । खट जात्रामा नायखिङ (खड्गी समुदायको विशेष) बाजा बजाएर गुठी संस्थाबाट भैरवलाई विधिवत् रूपमा बलिसहितको पूजा गरी खट जात्रा सुरु गरिएको गुठी संस्थानकी प्रमुख खिमा वलीले जानकारी दिनुभयो । जात्रासँगै स्थानीय तल्लो टोलका मानन्धर समुदायले बुलुचास्थित ढुङ्गेधारा अगाडि दुईवटा याँः मता (आकाश दीप) बाली तीन दिन मनाइने मूपात्र जात्रासमेत सम्पन्न गरिएको हो ।
जात्रामा पुलुकिसीले कथंकदाचित मूपात्रलाई भेट्यो भने कुल्चेर मार्दा पनि हात्ती बन्ने पात्र र उनका सहयोगीहरूलाई कुनै बात नलाग्ने स्थानीय बासिन्दाको मान्यता रहँदै आएको छ । त्यसै कारण आज पुलुकिसी जात्रा नगरको आधाभन्दा बढी ठाउँमा परिक्रमा गरेपछि मात्र मूपात्र जात्रा सुरु गरिन्छ ।
जात्रामा तेखाचोका मानन्धरहरूले दुईवटा यामता ल्याउने र बुलुचाहिटी सामुन्ने चखुन्चाफल्चातिर अभिमुख गरी यामता बालेर भैरवनाथको जात्रामा सरिक भई भैरवको रथमा राखी जात्रा सञ्चालन गरिएकोे स्थानीय तौमढी युवा क्लबका पूर्वअध्यक्ष विजयप्रसाद धौभडेल बताउनुहुन्छ ।
त्यस दिन भैरवनाथको मन्दिरको भित्तामा झुन्ड्याइराखेको पुलु भैलद्यः (मान्द्रोमा चित्रित मसान भैरव)को जात्रा पनि चलाउने उहाँले जानकारी दिनुभयो । ठाउँ–ठाउँमा छ्वाली बाल्दै नीलो पहिरनमा सेतो वर्णको पुलुकिसीको जात्रा पनि आजै मनाइएको छ । भैरवनाथ मन्दिरको मूलद्वारबाट खड्ग उठाएर बाहिरिँदै धिचासहित भएर मूपात्रको जात्रा पनि आज साँझ चलेको उहाँले जानकारी दिनुभयो ।
यस्तो छ किंवदन्ती
इतिहासविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार गणेश चतुर्थीका दिनमा वसुन्धराले व्रत बस्दा पूजाका लागि चाहिने ‘खाइसी’ (काली ज्यामिरेका जातिको एक किसिमको तीतो अमिलो फल) र पारिजातको फूल लिन उनका छोरा इन्द्र स्वर्गलोकबाट सुटुक्क पृथ्वीलोकमा झरेका थिए । उनले फलफूल चोरेको यहाँका बासिन्दाले थाहा पाएपछि उनलाई समातेर चोरेका फलफूलसहित सबैले देख्ने ठाउँमा (दोबाटो चौबाटो) बाँधेर राखेका थिए ।
इन्द्रजात्राको पहिलो दिन दोबाटो, चौबाटोमा खडा गरिने यम्बद्यः उनै इन्द्र हुन् भन्ने मान्यता रहँदै आएको छ । छोरालाई बन्दी बनाएर राखेको थाहा पाएपछि स्वर्गबाट ऐरावत हात्ती ल्याएर वसुन्धराले डाकिनीको भेषधारण गरी पृथ्वी आई शीत एवं हुस्सुले वातावरणलाई छोपी कसैले नदेख्ने गरी छोरा देवराजलाई स्वर्गमा लगेको किंवदन्ती छ । छोरालाई भगाउन स्वर्गबाट ऐरावत हात्तीसमेत ल्याएकाले जात्राको अन्तिम दिन ऐरावत हात्ती अर्थात् पुलुकिसी जात्रा मनाउने प्रचलन रहेको छ ।
अर्को किंवदन्तीअनुसार स्वर्गका राजा देवराज इन्द्रकी आमा वसुन्धरालाई भाद्रशुक्ल चौथीका दिन व्रत बस्न पारिजात फूलको खाँचो प¥यो । इन्द्रले आफ्ना छोरा जयन्तलाई पारिजातको फूल खोज्न पृथ्वीमा पठाए । जयन्त पारिजातको फूल खोज्दै दैत्यको बगैँचामा प्रवेश गरे । दैत्यहरुले उनलाई देखेर पक्रेर दोबाटोमा लगेर खम्बामा बाँधेर राखे । यो कुरा इन्द्रले थाहा पाई दलबलसहित आएर दैत्यसँग लडाइँ गरे ।
लडाइँमा इन्द्रको जित भयो । दैत्यहरुले इन्द्रको सेनालाई जयन्त भएको स्थानमा लिएर गए । त्यहाँ दैत्यहरुले जयन्तलाई बाँधेको डोरी काटेर माफी मागे । त्यस क्रममा दैत्यलाई जनतामाझ सहर परिक्रममा गराइएको भन्ने विभिन्न ग्रन्थमा उल्लेख भएको आधारमा जात्रा चलेको किंवन्दती रहेको इतिहास तथा संस्कृतिविद् प्रा डा श्रेष्ठ बताउनुहुन्छ ।
इन्द्रजात्रा द्वापरयुगदेखि सञ्चालन भए पनि मल्लकालमा भक्तपुरका राजा जगतप्रकाश मल्लले देवीपुराण र पद्यपुराणको सङ्कलन गरी ती पुराणका कथाका आधारमा दृश्य अनुकरण गरी जात्रा प्रचलनमा ल्याएको हो ।