सरकारले जनताको चेतनास्तर र आर्थिकस्तर उकास्ने योजना ल्याउनुपर्छः बिजुक्छे

आर्थिक राजनीति

भक्तपुर, १० असोज : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)ले देशको विकासका लागि सरकारले जनताको चेतनास्तर र आर्थिकस्तर उकास्ने योजनाहरू अगाडि ल्याउनुपर्ने बताउनुभएको छ ।

विश्व पर्यटन दिवसका अवसरमा आज साँझ भक्तपुर नगरपालिकाको सहकार्य र भक्तपुर पर्यटन विकास समितिको आयोजनामा भएको अन्तरक्रियामा उहाँले आर्थिक दरिद्रताभन्दा वैचारिक दरिद्रता खतरनाक हुने भएकाले देशका लागि जनतामा चेतनास्तर उकास्ने कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।

बिजुक्छेले नेपालमा पर्यटनको सम्भावनालाई राम्रोसँग अध्ययनगरी त्यसको विकासतर्फ ध्यान दिनुपर्नेमा जोड दिँदै देशको आर्थिक समृद्धिमा पर्यटन विकासको भूमिका महत्त्वपूर्ण रहने बताउनुभयो । उहाँले पर्यटन विकासमा संस्कृति, पर्यटन मन्त्रालय र पुरातत्व विभागको प्रभावकारी भूमिका रहने बताउँदै उहाँले पर्यटन उद्योगीहरूले विदेशबाट सिकेर नेपालको विकासमा योगदान पुर्‍याउन जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उहाँले भक्तपुर नपाले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनतर्फ जोड दिँदै आएको बताउनुभयो ।

Facebook Comments Box