उदयपुरको बेलका क्षेत्रमा सप्तकोशीको बाढी पस्दा एक हजार पाँच सय घर उच्च जोखिममा

आर्थिक मुख्य समाचार

उदयपुर (गाईघाट), १२ असोजः अविरल वर्षापछि जिल्लाको बेलका नगरपालिका–३ स्थित भाटेपुललगायत क्षेत्रमा सप्तकोशी नदीको बाढी पस्दा करिब एक हजार ५०० घर बाढीको उच्च जोखिममा परेका छन् ।

बेलका नगरपालिका प्रमुख अशोक कार्कीकानुसार वडा नं ३ को भाटेपुल क्षेत्र र वडा नं ८ को लाहुरेखोचमा बाढी पसेपछि ती परिवार उच्च जोखिममा परेका प्रहरीले जनाएको छ । यसरी जोखिममा परेका करिब एक सय ५० जनालाई आजै नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा उद्धार गरेर अन्य सारिएको बेलका नगरपालिकाले जनाएको छ ।

यस्तै, बेलका—३ को श्रीलङ्का टापु र चिचिलिया टापु क्षेत्रमा पनि बाढी पस्न थालेपछि हाल सुरक्षाकर्मी र स्थानीय मिलेर उद्धारको प्रयास भइरहेको नगरप्रमुख कार्कीले जानकारी दिनुभयो ।

नगर उपप्रमुख जिरा राईले सप्तकोशीमा पानीको बहाव निरन्तर बढ्दै गइरहेकाले वडा नं १, २, ३, ५, ६, ७, ८ लगायतका वडा बढी जोखिममा परेका बताउनुभयो । प्रभावित क्षेत्रका जनतालाई सुरक्षा निकायको सहयोगमा उद्धार कार्य गरी नजिकैको विद्यालय तथा क्याम्पसमा राख्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

यस्तै नगरको वडा नं ८, २ र ३ का नदी तटीय क्षेत्रका होटल, रिसोर्टसमेत डुबानमा पर्न थालेका छन् । हाल नगरको चिलिया र श्रीलङ्का टापुलाई नदीको बाढीले घेरेको कारण यहाँका नागरिकको उद्धार गर्ने प्रयास भइरहेको नगरपालिकाले जनाएको छ ।

Facebook Comments Box