निजी क्षेत्र बलियो भए मात्र मुलुकको अर्थतन्त्र बलियो हुन्छ : मन्त्री भण्डारी

आर्थिक मुख्य समाचार

काठमाडौँ, १९ असोज : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्र बलियो भए मात्र मुलुकको अर्थतन्त्र बलियो हुने बताउनुभएको छ ।

नेपाल रत्न तथा आभूषण सङ्घको आज आयोजित १९औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रमा उहाँले मुलुकको समृद्धि र दिगो आर्थिक विकासका लागि निजी क्षेत्रसँग सरकारले सहकार्य गर्न खोजेको बताउनुभयो । निजी क्षेत्रलाई बलियो बनाउन वर्तमान सरकारले कुनै कसर बाँकी नराख्ने मन्त्री भण्डारीको भनाइ थियो ।

निजी क्षेत्र पनि सरकारकै अङ्ग भएको उल्लेख गर्दै उहाँले निजी क्षेत्र मौन बस्न नहुनेमा जोड दिनुभयो । वर्तमान सरकार भिन्न परिस्थितिमा बनेकाले सरकार मेरो पनि हो भन्ने भावना निजी क्षेत्रले जागृत गर्नुपर्ने उहाँको भनाइ थियो ।

मन्त्री भण्डारीले बहुमूल्य धातुको व्यावसायिक शुद्धता जरुरी रहेको बताउनुभयो । बहुमूल्य धातुको व्यवसायमा व्यावसायिक सुरक्षा र नेपाली कामदार उत्पादन गरेर रोजगारी सुनिश्चितता गर्नुपर्नेमा उहाँको जोड थियो । रत्न तथा आभूषणका क्षेत्रमा कार्यरत कामदार तथा कारिगर विदेशबाट झिकाउनु दुःखद भएको भन्दै मन्त्री भण्डारीले नेपाली कामदार तथा कालिगड उत्पादन गर्न सङ्घको ध्यानाकर्षण गराउनुभयो ।

रत्न तथा आभूषण व्यवसायीले लामो समयदेखि राखेका मागप्रति सरकार अत्यन्तै संवेदनशील रहेको उल्लेख गर्दै उहाँले सङ्घले राखेका मागका सन्दर्भमा मन्त्रिपरिषद्मा विभिन्न चरणमा छलफल भएको र छिट्टै माग सम्बोधन हुने जानकारी गराउनुभयो ।

छिमेकी मुलुकले सुनमा लगाएको राजस्व र करका दरले नेपालको सुनचाँदी व्यवसाय प्रभावित परेको आफू जानकार रहेको जनाउँदै मन्त्री भण्डारीले करको दरमा समायोजन गर्न सरकारले छलफल थालेको बताउनुभयो । व्यवसायी धराशयी हुने र सरकारले राजस्व गुमाउनुपर्ने स्थितिमा व्यवसायीले राखेको कर समायोजनको विषय सकारात्मक भएको टिप्पणी गर्दै उहाँले चाँडै व्यवसायीका माग सम्बोधन गर्न सरकार तयार रहेको जनाउनुभयो ।

मन्त्री भण्डारीले विपद्जन्य अवस्थामा चाडपर्वलाई लक्षित गरेर व्यावसायिक शुद्धतामा विशेष सहयोग गर्न सबै निजी क्षेत्रका व्यवसायीसित आग्रह गर्नुभयो । उहाँले मूल्यवृद्धि र कृत्रिम अभाव गरिए सरकार टुलुटुलु हेरेर नबस्ने बताउनुभयो । साथै उहाँले विपद्को यस घडीमा सरकारले उद्योगी–व्यवसायीको साथ खोजेको उल्लेख गर्दै विपद्मा परेकाहरूलाई सक्दो सहयोगका लागि पनि आग्रह गर्नुभयो ।

Facebook Comments Box