तिहारमा आवश्यक फूलमा खोटाङ परम्परागत खेतीबाटै आत्मनिर्भर

आर्थिक कृषि

खोटाङ, १३ कात्तिक : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीकी आस्था मगरले हरेक वर्षको तिहार (भाइटीका) मा १२ जना दाजु र आठ जना भाउजू तथा गाउँभरिका दाजुभाइलाई माइती पुज्दै आउनुभएको छ ।

विगतका वर्षहरूमा पर्याप्त फूल नहुँदा जङ्गली फूल (चुलेथ्रो र चुरी) खोजेर माइती पुज्दै आउनुभएकी मगरलाई यस वर्षको तिहारमा भने, त्यस्तो बाध्यता छैन । मगरको घरवरिपरि तथा बारीमा सयपत्री र गोदावरी फूल पर्याप्त मात्रामा ढकमक्क फुलेका छन् ।

तिहारका लागि आवश्यक पर्ने फूल यस वर्ष आफ्नै घर वरिपरि तथा बारीमा पर्याप्त फुलेकाले भाइटीकाभन्दा तीन दिन अगाडिमात्र टिपेर माला गाँस्ने तयारी गरेको मगरले बताउनुभयो । “घरका दाजुभाइ तथा भाउजूबुहारीसँगै गाउँभरिका दाजुभाइ तिहारमा फूल लगाउन आउने गर्नुहुन्छ । लामो समयदेखि हाम्रो गाउँमा चलिआएको यो चलन राम्रो पनि लाग्छ । तर, फूल नभएको वर्षहरूमा भने, धेरै नै समस्या हुन्छ”, उहाँले भन्नुभयो, “यस वर्षको तिहारमा जति पनि फूलहरू आफै घरबारीमा फुलेका छन् । हाम्रो घर तथा बारीमा फुलेका फूलहरू हेर्दा जो कोहीको मन लोभ्याउने गरेको छ ।”

खार्मीका अधिकांश गाउँ तथा टोलका स्थानीयवासीले धुमधामका साथ तिहार मनाउने गरेका छन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारभन्दा करिब १३ किलोमिटर टाढा पर्ने खार्मीमा दुतीया (भाइटीका) देखि कम्तीमा तीन दिन तथा चेलीको घर पुग्न बाँकी रहेको खण्डमा एकादशीसम्ममा पनि फूल लगाउने चलन छ ।

वर्ष दिनमा एक पटक आउने सांस्कृतिक चाड तिहारको अवसरमा गाउँका सबैजसो घरमा पुगेर चेली (दिदीबहिनी) को हातबाट फूल लगाउने गरिएको खार्मीस्थित सोतीका हर्कराज राईले बताउनुभयो । “हाम्रो गाउँमा तिहारको अवसरमा सबै दाजुभाइ भेला भएर हरेक घरका चेली (दिदीबहिनी) का घरमा पुगेर उनीहरूको हातबाट फूल लगाउने चलन छ । यसरी तिहार मनाउने चलन कमै ठाउँमा होलान्”, उहाँले भन्नुभयो, “यो चाडले चेली र माइतीको मात्र नभई गाउँ र समाजलाई समेत एकतामा बाँधेको छ ।”

दश स्थानीय तह रहेको जिल्लामा अहिलेसम्म कुनै पनि स्थानीय तहका कृषकले व्यावसायिक फूलखेती गरेका छैनन् । केही वर्षअघि हलेसी तुवाचुङले व्यावसायिकरूपमा फूलखेती गर्ने किसानलाई अनुदान दिए पनि निरन्तरता दिन सकेन ।

व्यावसायिक फूलखेतीका लागि जिल्लाका सबै स्थानीय तहका हावापानी तथा भौगोलिक अवस्था अनुकूल भए पनि अहिलेसम्म व्यावसायिक खेती भने, नगरेको कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले बताउनुभयो । फूलैफूलको चाड भनेर चिनिने तिहारमा जिल्लाका सबै दिदीबहिनीले आफ्नै घरवरपर तथा बारीमा परम्परागतरूपमा रोपिएका फूल प्रयोग गर्दै आएका छन् ।

जिल्लामा व्यावसायिक फूलखेती गरेर आम्दानीको स्रोत वृद्धि गर्न सकिने प्रचुर सम्भावना भए पनि जिल्लाका कुनै पनि स्थानीय तहले यसप्रति चासो नदिएको कृषि विज्ञ मदन राईले बताउनुभयो । “हाम्रो जिल्लाका हरेक स्थानीय तहमा व्यावसायिक फूलखेती गर्दा राम्रो उत्पादन हुने सम्भावना छ । तर, यसप्रति अहिलेसम्म कसैको पनि ध्यान गएको छैन”, उहाँले भन्नुभयो, “परम्परागतरूपमा गरिएका फूलखेतीले नै जिल्लामा पर्याप्त मात्रामा फूलको उपलब्धता छ । यसलाई व्यावसायिकीकरण गर्न सकेकामा परम्परागत फूलखेती गर्दै आएका स्थानीय कृषकका लागि मात्र नभई सम्बन्धित स्थानीय तहको लागिसमेत आम्दानीको स्रोत वृद्धि गर्न सघाउ पुग्छ ।”

साकेला गाउँपालिका–२ रतन्छा निवासी कृषि विज्ञ राईले आगामी दिनमा नीति तथा कार्यक्रम बनाउँदा व्यावसायिक फूलखेतीलाई प्राथमिकतामा राख्न जिल्लास्थित स्थानीय तहका जनप्रतिनिधिलाई सुझाव दिनुभएको छ । मानिसका लागि आवश्यक पर्ने खानापछि हेर्नका लागि आवश्यक पर्ने मनोरम दृष्य फूल भएकाले नेपाललाई फूलैफूलको देश बनाउन सकिने सम्भावना रहेको कृषि विज्ञ राईले बताउनुभएको छ ।

Facebook Comments Box