काठमाडौँ, २८ कात्तिकः नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले विकासको बाधक राजनीतिकता अस्थिरता रहेको बताउनुभएको छ ।
ललितपुर च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज युवा विद्यार्थी विशेष जिल्ला कमिटीको पाँचौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले राजनीतिक स्थिरता भएमात्र मुलुक निर्माणमा अगाडि बढ्न सकिने बताउनुभयो ।
उहाँले दुरदर्शी नेतृत्व, बलियो राजनीतिक दल र राजनीतिक स्थायित्वले मात्र मुलुक बन्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “देश बनाउने हो भने राष्ट्रसँग जनतालाई जोड्नुपर्दछ । जबसम्म हामीले राष्ट्रसँग जोड्न सक्दैनौँ तबसम्म देश बन्न सक्दैन ।”
उहाँले विसं २०८४ को निर्वाचनमा कसैसँग गठबन्धन नगरिकन बहुमत ल्याउने दाबी गर्नुभयो । महासचिव पोखरेलले युवाको भविष्य एमाले नेतृत्वमा सुरक्षित छ भन्ने उद्देश्यले युवाको शिखर सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराउनुभयो ।
कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य सुजिता शाक्य, पोलिटब्युरो सदस्य खिमलाल भट्टराई, केन्द्रीय सदस्य माधव ढुङ्गेल, किशोरविक्रम मल्ल लगायतको सहभागिता थियो । कमिटीका अध्यक्ष रामजी सापकोटाले भोलि बिहीबारसम्म चल्ने अधिवशेनले नयाँ नेतृत्व चयन गर्ने बताउनुभयो ।
—