काठमाडौं । खोटाङ जिल्ला दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा आगामी फागुन दोस्रो सातादेखि तीन दिने प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१ आयोजना गरिने भएको छ । बिना उपयोग खेर गइरहेका बाँसलाई जीवन उपयोगी बनाउँदै बाँससम्बन्धी उद्योगहरू सञ्चालनमा ल्याएर नगरवासीका लागि रोजगारी सिर्जना गर्ने उद्देश्यले फागुन–१५, १६ र १७ गते दिक्तेल बजारमा प्रथम राष्ट्रिय बाँस सम्मेलन गर्न लागिएको हो । बाँसलाई उपयोगमा ल्याएर रोजगारी सिर्जना गर्ने उद्देश्यले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, वन अनुसन्धान तथा तालिम केन्द्र बबरमहल, पर्यटन वन तथा वातावरण मन्त्रालय कोशी प्रदेश र ग्रीन बाँम्बो क्रियशन प्रा.लि.को आयोजनामा ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१’ आयोजना गरिएको प्रथम राष्ट्रिय बाँस सम्मेलनका सचिव रामहरि गिरीले जानकारी दिनु भयो । यस प्रथम राष्ट्रिय बाँस सम्मेलनमा बाँस सोधकर्ता, उद्यमी, व्यवसायी तथा विभिन्न विश्वविद्यालयका प्राध्यापकहरूको सहभागिता रहनेछ । यसका लागि वन, वातावरण तथा प्रविधि मन्त्रालयका पूर्वमन्त्री गणेश साहको संयोजकत्वमा मूल आयोजक समिति गठन गरी आवश्यक विभिन्न कार्य विभाजन गरिएको छ । यस कार्यक्रमलाई सफल बनाउनका लागि तीन चरणको तयारी कार्यक्रम काठमाडौंमा गरिने निर्णय गरेको छ । यसमा पहिलो चरणको कार्यक्रम बाँसको उत्पादनको विषयमा अन्तक्र्रिया कार्यक्रम दोस्रो चरणको कार्यक्रम बाँसको वृद्धि र विकास सम्बन्धी अन्तक्र्रिया कार्यक्रम र तेस्रो चरणको कार्यक्रम बाँसको उपयोग, संभावना र नीति निर्माण सम्बन्धी छलफल, अन्तक्र्रिया कार्यक्रमको आयोजना गरिने सम्मेलनका सचिव रामहरि गिरीले बताउनु भयो । प्रथम राष्ट्रिय बाँस सम्मेलनका लागि तयारीस्वरूप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ÷संस्थासँग समन्वय भइरहेको छ । तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा बाँस सम्बन्धी अध्ययन गर्ने तथा व्यापार÷व्यवसाय सञ्चालन गरिरहेका विभिन्न देशका नागरिकको समेत सहभागिता रहनेछ ।
प्रथम राष्ट्रिय बाँस सम्मेलनमा हुने अनुमानित खर्च, कार्यपत्र प्रस्तुत, बाँसबाट बन्ने विभिन्न प्रकारका घरेलु सामग्रीका स्टल, व्यवस्थापन विषयमा छलफल गरिने सचिव गिरीले बताउनु भयो । सात महिनाअघिदेखि तयारी गरिएको राष्ट्रिय बाँस सम्मेलन गर्ने सम्बन्धी नगर प्रमुख तीर्थराज भट्टराईले प्रस्तुत गर्नुभएको प्रस्तावलाई मङ्सिर–१३ गते नगर कार्यपालिकाको बैठकले अनुमोदन गरेको जनाइएको छ ।
‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको प्रथम राष्ट्रिय बाँस सम्मेलनले बाँसको विकास, व्यवसायिकता तथा बाँस उद्योगहरूमा रोजगारी सिर्जना गरेर नागरिकलाई कसरी जोड्न सकिन्छ भन्नेबारेमा छलफल भएपछि दिक्तेल बजारमा बाँस सम्मेलन गर्ने निर्णय गरिएको छ । नेपालका प्राय सबै क्षेत्रमा ठाउँ विशेषअनुसार विभिन्न प्रजातिका बाँस पाइन्छन् । पूर्वी पहाडी जिल्ला खोटाङमा पशुपानका लागि घाँस, घरेलु सामग्री निर्माण तथा सांस्कृतिक काममा बाँस उपयोग गरिँदै आइएको छ ।