महेन्द्रनगर (धनुषा), १९ मङ्सिरः मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बालविवाह मधेसमा ठूलो समस्याका रूपमा रहेको भन्दै २० वर्षमुनिका हुने विवाहलाई निरुत्साहन गर्न सबैले भूमिका खेल्नुपर्ने बताउनुभयो ।
उहाँले बालविवाह गैरकानुनी रहेको र त्यसरी जन्मेका बच्चाले पनि दुःख पाउने भएकाले सचेत रहन आग्रह गर्नुभयो । कि विवाहका लागि १८ वर्ष उमेर तोकेर समस्या समाधान गरिनुपर्ने उहाँको धारणा थियो ।
सङ्घीय सरकारको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र मधेश प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संयुक्त रूपमा आज जनकपुरधाममा आयोजना गरेको प्रदेशस्तरीय दुइदिने कानुनी सहायता सम्मेलनमा मुख्यमन्त्री सिंहले यस्तो बताउनुभएको हो । उहाँले न्यायिक समितिमा विभिन्न खालका मुद्दा थन्किने गरेको भन्दै न्यायिक सेवामा काम गर्नेलाई तालिम दिएर मुद्दा छिटो टुङ्ग्याउने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सङ्घीय कानुनमन्त्री अजयकुमार चौरसियाले आर्थिक रूपले पिछडिएका विपन्न गरिब जनताको न्यायमा पहुँचका लागि राज्यले देशका ७७ वटै जिल्लामा वैतनिक वकिलको व्यवस्था गरिएको बताउनुभयो । यस सेवाको प्रचारप्रसार र जानकारीको अभावमा अझै पनि नागरिकले सेवा लिन नसकेको उहाँले बताउनुभएको छ । आमनागरिकको न्यायमा पहुँचका लागि आगामी दिनमा एकीकृत रूपमा कानुनी सहायता प्रदान गर्ने वातावरण तयार गर्नुपर्नेमा मन्त्री चौरसियाको जोड थियो ।
कार्यक्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे, उच्च अदालत जनकपुरधामका न्यायाधीश महेन्द्रनाथ उपाध्याय, मधेश प्रदेशका मुख्यन्यायाधिवक्ता सुरेन्द्रकुमार महतो, प्रदेशका निमित्त प्रमुख सचिव जयकुमार घिमिरे, सहसचिव अरुणा जोशी, लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।