काठमाडौँ, ५ पुसः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाललाई ‘आइटी हब’ बनाउन तीव्रताका साथ काम गरिरहेको बताउनुभएको छ ।
यहाँ आज आयोजित ‘आइसिटी अवार्ड–२०२४’ वितरण तथा सम्मान कार्यक्रममा सूचना, सञ्चार तथा प्रविधि क्षेत्रमा योगदान पु-याउने विभिन्न व्यक्ति र संस्थालाई अवार्ड प्रदान गर्दै उहाँले सञ्चार मन्त्रालयले प्रत्येक वडा र टोलमा इन्टरनेट पु-याउने कामलाई तीव्रता दिइरहेको बताउनुभएको हो ।
“देशको सबै क्षेत्रमा विकास गर्न सबैभन्दा पहिला सूचना, सञ्चार र प्रविधिको क्षेत्रमा विकास जरुरी हुन्छ, त्यसैले जतिसक्दो चाँडो आइसिटी क्षेत्रको विकास गर्न सरकार प्रतिबद्ध छ”, उहाँले भन्नुभयो । नेपाललाई आइटी हबको रुपमा विकास गर्न भएका ऐन/कानुनको प्रभावकारी कार्यान्वयन गर्दै आवश्यक ऐन /कानुन निर्माणको तयारीमा सञ्चार मन्त्रालय रहेको उहाँले जानकारी दिनुभयो ।
उहाँले पछिल्लो समयमा सामाजिक सञ्जाल (फेसबुक, युटयुब, एक्स (ट्वीटर, टिकटक) को सदुपयोगभन्दा दुरुपयोग भएकाले त्यसलाई नियमन गर्न सरकारले ऐन ल्याउने तयारीमा रहेको बताउनुभयो । कार्यक्रममा एलआरहाई स्कूल (काठमाडौँ), सकुना सेकेन्डरी स्कूल (मोरङ), आइएमई बैँक, फुडमाण्डुका सञ्चालक मनोहर अधिकारी र डा विशेष खनाललगायत आइटी क्षेत्रमा योगदान पु-याउने १४ वटा सङ्घ/संस्था र व्यक्तिलाई ‘आइसिटी अवार्ड–२०२४’ प्रदान गरिएको थियो ।