विद्युत् विकासबाट समृद्धि प्राप्त गर्न सहज हुने

आर्थिक मुख्य समाचार

किमाथाङ्का (सङ्खुवासभा), ९ पुस : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले विद्युत् विकासबाट समृद्धि प्राप्त गर्न सहज हुने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन सङ्खुवासाले आज सदरमुकाम खाँदबारीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री खड्काले नदी तथा खोलाबाट बिजुली निकालेर मुलुकलाई सम्पन्न बनाउने सरकारको लक्ष रहेको बताउनुभयो । सरकारले ठूला आयोजनामा गरिब तथा विपन्नको लगानी सुनिश्चित गर्ने उहाँको भनाइ थियो । विसं २०३५ सम्ममा मुलुकमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको मन्त्री खड्काले उल्लेख गर्नुभयो ।

“पछिल्लो पाँच महिनामा नौ सय ५० मेगावाट बिजुली बिक्री गरेका छौँ । सरकारले आगामी दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् पुर्याउने लक्ष्य लिएको छ”, उहाँले भन्नुभयो ।

अरुणबाट मात्रै पाँच हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिने र त्यसबाटै जिल्लालाई पनि समृद्ध बनाउन सकिने उहाँको भनाइ थियो । नौ सय मेगावाट क्षमताको अरुण तेस्रो आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको उल्लेख गर्दै उहाँले यसबाट मुलुकलाई आर्थिकरुपमा सम्पन्न बनाउने सकिने बताउनुभयो । सङ्खुवासभामै एक हजार ६१ मेगावाटको माथिल्लो अरुणसमेत सरकारको लगानीमा निर्माण गर्ने तयारी भइरहेको मन्त्री खड्काले बताउनुभयो । खाँदबारीमा आयोजित कांग्रेसकोे ‘एक सय दिने अभियान’मा सहभागी हुन उहाँ यहाँ आउनुभएको हो ।

Facebook Comments Box