मेला महोत्सव औद्योगिक विकासका लागि प्रेरणाका स्रोत : उपप्रधानमन्त्री सिंह

आर्थिक समाचार

लुम्बिनी, १० पुस : उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मेला महोत्सव औद्योगिक विकासका लागि प्रेरणाको स्रोत बन्ने र स्थानीयसँगै देशकै अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत गर्ने बताउनुभएको छ ।

उपप्रधानमन्त्री सिंहले आज बुटवलमा जारी औद्योगिक व्यापार मेला २०८१ को अवलोकनका क्रममा यस्ता मेला महोत्सवले उद्योगबाट उत्पादित वस्तुको प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने र औद्योगिक विकासमा टेवा पुग्ने बताउनुभयो । उहाँले बुटवलमा निर्माण सम्पन्न भएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र निर्माणाधीन अवस्थामा रहेको अन्तर्राष्ट्रि प्रदर्शनीस्थल सरकारको विशेष संरचना व्यवस्थापन र सञ्चालन गठन आदेश मन्त्रिपरिषदबाट पारित भइसकेको बताउँदै सञ्चालन व्यवस्थापनको लागि खुला प्रतिस्पर्धामा अगाडि बढेको पनि जानकारी गराउनुभयो ।

उपप्रधानमन्त्री सिंहलाई बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्याल, बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँण, सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले लगायतले बुटवल उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष टङ्कप्रसाद गैरेले स्वागत गर्नुभएको थियो ।

त्यसै अवसरमा उपप्रधान तथा सहरी विकासमन्त्री सिंहले प्रदर्शनीस्थलसँगै बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको समेत अवलोकन गर्नुभएको थियो । ‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मूल नारासहित आयोजना गरिएको मेलामा पाँच सय स्टल सहभागी छन् । औद्योगिक उत्पादनको प्रवर्द्धन, कृषि, पर्यटनको प्रवर्द्धन तथा व्यवसायीकरणका लागि विशेष महत्त्वका साथ आयोजना गरिएको औद्योगिक व्यापार मेलामा कृषि, सेवा, हस्तकला, इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स, ब्यूटी, गार्मेन्ट, जुत्ता, एफएमसिजी (फूड एण्ड वेभरेज), अटोमोबाइल्स र होटलको छुट्टाछुट्टै १० वटा पेभिलिन रहेका छन् ।

त्यसैगरी दुवई फिस टनेलसहितको बाल उद्यान रहेको छ । मेलामा औद्योगिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, कृषि प्रदर्शनी र प्रविधिको प्रदर्शनी तथा बिक्री वितरण, विभिन्न विधामा प्रतियोगितात्मक कार्यक्रमसहित सांस्कृतिक साङ्गितिक कार्यक्रम भइरहेका छन् ।

Facebook Comments Box