दिगो विकासका लागि राजनीतिक स्थायित्व आवश्यक छ : उपप्रधानमन्त्री सिंह

आर्थिक मुख्य समाचार

सोलुखुम्बु, १४ पुस : उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र रक्षामन्त्री मानवीर राईले सोलुदूधकुण्ड नगरपालिकाको प्रशासानिक भवनको आज संयुक्तरुपमा शिलान्यास गर्नुभएको छ ।

नगरपालिकाले जिल्ला सदरमुकाम सल्लेरीमा निर्माण गर्न लागेको प्रशासनिक भवनको शिलान्यास गर्दै उपप्रधानमन्त्री सिंहले विकासलाई दिगो र स्थायित्व दिन राजनीतिक स्थायित्व आवश्यक रहेको बताउनुभयो । उहाँले वर्तमान सरकार राजनीतिक स्थायित्व र संविधान संशोधनका लागि बनेको बताउनुभयो ।

उपप्रधानमन्त्री सिंहले भन्नुभयो “यो सरकार दुई तिहाइ बहुमतसहित बनेकाले विकासमा कमजोरी गर्ने छुट हामीलाई छैन, सरकार र जनप्रतिनिधि भनेको कुनै पार्टीको नहुने भएकाले सबैलाई मान्य हुनेगरी साझा कार्यक्रमका साथ अघि बढ्छौँ ।”

रक्षामन्त्री राईले एमाले र कांग्रेस मिलेर बनेको वर्तमान सरकाले विकास र परिवर्तनको सुरुआत गरेको बताउनुभयो । समाजमा सरकारले केही गर्न सकेन भन्ने भ्रम फैलाउने शक्तिहरु सक्रिय भए पनि त्यो सत्य नभएको उहाँको भनाइ थियो ।

“एमाले र कांग्रेस मिलेर बनेको सरकाले केही गर्न सकेन भनेर भ्रम फैल्याउने तत्वहरु सल्बलाउँदैछन् तर वास्तविकता त्यो हैन, पछिल्लो समय विकास र परिवर्तनले गति लिएको छ,” उहाँले भन्नुभयो । गार्मामा बनेको पर्वतीय प्रतिष्ठान सञ्चालनमा ल्याई विश्वका विद्यार्थीलाई सोलुखुम्बु केन्द्रित गर्न पहल भइरहेको मन्त्री राईको भनाइ थियो ।

कोशी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री बुद्धिकुमार राजभण्डारीले पर्यटकीय महत्व बोकेको सोलुखुम्बुलाई केन्द्र र प्रदेश सरकारले समेत विकासमा उच्च महत्व दिनुपर्ने बताउनुभयो । पर्यटन रोयल्टी जिल्लाबाट धेरै सङ्कलन भए पनि बजेट विनियोजनामा सोलु उपेक्षामा रहेको उहाँको भनाइ थियो ।

संविधानसभा सदस्य एवं कोशी प्रदेशसभा सदस्य अमृत अर्यालले सोलुको विकासले विश्वमा सकारात्मक सन्देश जाने बताउनुभयो । विश्वभरका पर्यटकको केन्द्र सगरमाथा अवस्थित सोलुखुम्बु भएकाले यहाँको विकासमा ध्यान दिन आग्रह गर्नुभयो ।

प्रदेशसभा सदस्य डोल्मा तामाङले भौगोलिक हिसाबले यहाँको विकास सहज नभएकाले केन्द्रमा रहेका सबैले भौगोलिक विकटता र परिस्थितिलाई बुझेर बजेट विनियोजन गर्न आग्रह गर्नुभयो । यहाँका सबै स्थानीय तहको केन्द्रसम्म सहज सवारीसाधन सञ्चालन हुन नसक्दा नागरिकलाई असहज भइरहेको उहाँको भनाइ थियो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पर्यटन विभाग प्रमुख आङगेलु शेर्पाले राज्यले सोलुजस्तो पर्यटकीय जिल्लालाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङ्बु शेर्पाले आफ्नो नेतृत्वको स्थानीय तहले जिल्लाको अन्य क्षेत्रको विकासलाई प्राथमिकता दिएर अन्तिममा नगरपालिकाको भवन निर्माण गरेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले पर्यटकीय जिल्ला भएकाले सुरक्षा चुनौती भए पनि सबै सुरक्षा निकायसँग कसिलो समन्वय गरेर काम गरिरहेको बताउनुभयो । शिलान्यास गरिएको उक्त प्रशासनिक भवनको लागत रु सात करोड १४ लाख १९ हजार रहेको छ । सो भवन २०८२ चैतभित्र निर्माण सम्पन्न गरिने नगरपालिकाले जनाएको छ ।

Facebook Comments Box