पाटन (ललितपुर), १९ पुसः नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले लोकतान्त्रिक पद्धतिको संस्कार ओझेलमा पर्दा भ्रष्टाचारले प्रसय पाइरहेको बताउनुभएको छ ।
नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति ललितपुरको आज यहाँ भएको नवौँ जिल्ला अधिवेशनमा सहमहामन्त्री उपाध्यायले नेपाली कांग्रेसको नेतृत्वमा लोकतान्त्रिक संविधान बने पनि लोकतान्त्रिक पद्धतिको विकास र सकारात्मक उपयोग हुन नसक्दा राज्य र व्यवस्थाप्रति जनताको नकारात्मक धारणा बढ्दै गएको बताउनुभयो ।
“सार्वजनिक निकायमा कार्यरत कर्मचारीमा किन निराशा आएको छ भन्नेबारे कारण खोज्नुपर्छ, लोकतान्त्रिक पद्धतिको संस्कार पालना गर्दै सबैले आपसी सहकार्य र समन्वयबाट अघि बढ्दै गए भ्रष्टाचार ओझेलमा पर्दै जानेछ । कहाँकहाँ भ्रष्टाचार भइरहेको छ भनेर छानबिन गर्ने अभियान चलाउनुपर्छ”, उहाँले भन्नुभयो, “नेपाली कांग्रेसले चाहेको सुशासनका लागि निजामती कर्मचारी युनियनले खोजी गरेर पार्टीलाई सुझाव दिनुपर्दछ ।”
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य मदनबहादुर अमात्यले निजामती कर्मचारी युनियनका पदाधिकारी तथा सदस्यहरूको योगदान र भूमिकालाई कांग्रेसले बुझ्न सक्नुपर्नेमा जोड दिनुभयो । “नेताहरूले योजना तथा कार्यक्रम बनाउने र त्यसलाई कर्मचारीले कार्यान्वयन गर्ने हो । यसका लागि निरन्तर समन्वय र सहकार्य गर्नुपर्दछ, जनतालाई सेवा दिन नेता र कर्मचारी दुवै पक्ष इमानदार हुनुपर्छ”, उहाँले भन्नुभयो ।
अमात्यले नेतृत्वमा कसैलाई स्थापित गर्ने र कसैलाई विस्थापित गर्नेभन्दा योगदान पु¥याएका र योग्य व्यक्तिहरूलाई सहयोग गरेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । उहाँले नेता बन्ने मानिसले सहयोगका साथै अवरोध र विरोधलाई पनि सँगसँगै लिएर अगाडि बढ्न सक्नुपर्ने धारणा राख्नुभयो । “भ्रष्टाचारलाई निरुत्साहित गर्न र कर्माचारीलाई प्रोत्साहित गर्न निजामती कर्मचारीको सेवासुविधालाई व्यवस्थित गरिनुपर्छ”, उहाँले भन्नुभयो ।
कांग्रेस केन्द्रीय सदस्य एवं राष्ट्रियसभा सदस्य जीतजङ्ग बस्नेतले कर्मचारीसँग सेवाग्राहीलाई मुस्कानसहितको प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्न आग्रह गर्नुभयो ।
नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष केन्द्रीय अध्यक्ष गोपाल पोखरेल, नेपाली कांग्रेस बागमती प्रदेशका सहमहामन्त्री ऋषिराम घिमिरे, ललितपुरका सभापति जितेन्द्रकुमार श्रेष्ठ, जिल्ला सहसचिव एवं जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुँयाल, नेपाल निजामती कर्मचारी युनियन ललितपुरका अध्यक्ष चीरञ्जीवी लामिछानेलगायत वक्ताले आ–आफ्नो धारणा राख्नुभएको थियो ।