सिरहा, ६ माघः यहाँको लहान नगरपालिका–११ स्थित विपन्न दलित बस्तीका ज्येष्ठ नागरिकलाई शीतलहरबाट जोगिन नगरपालिकाले आज ८० थान न्यानो कम्बल वितरण गरेको छ ।
बाक्लो कुहिरोसहितको शीतलहरका कारण यहाँका जनजीवन प्रभावित भएपछि चिसोबाट बचाउन राम बस्तीका ज्येष्ठ नागरिकहरुलाई कम्बल वितरण गरिएको नगरप्रमुख महेशप्रसाद चौधरीले बताउनुभयो ।
लहान नगरपालिकाको २४ वटै वडामा १९ हजार दलित समुदायको जनसङ्ख्या छ । नगरप्रमुख चौधरीले यहाँका दलित विपन्न समुदायहरुलाई आवश्यकताका आधारमा खाद्यान्न दिइने गरी नगरपालिकाले योजना बनाएको जानकारी दिनुभयो । यस अघि नगरपालिकाका तर्फबाट रामकुमार उमाप्रसाद प्रादेशिक अस्पतालका दलित विपन्न समुदायका बिरामीलाई ६५ थान कम्बल वितरण गरिएको थियो ।
त्यसैगरी सहरी क्षेत्र नजिकका दलित विपन्न बस्तीहरुमा घुर ताप्ने व्यवस्था गरिएको नगरप्रमुख चौधरीले बताउनुभयो । शीतलहर आउनु आगाडि नै न्यानो लुगा वितरण गर्न जिल्लामा १७ वटै स्थानीय तह मिलेर साझा कार्यक्रम बनाउनुपर्ने जिल्ला समन्वय समिति प्रमुख दिनेशकुमार महतोको भनाइ छ ।
—