काठमाडौँ, १२ माघ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाउनुभएका बद्रीप्रसाद पाण्डे दीर्घकालीन महत्त्व राख्ने रणनीतिक सुधारमा केन्द्रित हुनुभएको छ । नीतिगत सुधार, संरचनागत परिवर्तन र आधुनिक प्रविधिमैत्री सेवालाई चुस्त र प्रभावकारी बनाउन उहाँ लागिपर्नुभएको हो ।
उहाँको नेतृत्वमा परिणाममुखी र दीर्घकालीनरूपमा प्रभावकारी हुने कामहरू अघि बढाइएका छन्। संस्कृतिको संरक्षण प्रवर्द्धन, समग्र पर्यटन क्षेत्रको दिगो विकास तथा नागरिक उड्डयन क्षेत्रको उन्नयनमा मन्त्रालयले कामहरू अगाडि बढाएको छ ।
यस अवधिमा गौतमबुद्ध तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल व्यावसायिक उडान सुचारू भएको छ । ठूलो धनराशि खर्चेर निर्माण गरिएका दुवै विमानस्थलका लागि व्यावसायिक उड्डयन कार्य योजना पारित गरी कार्यान्वयनमा ल्याइएको हो ।
सरकारले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्न चहाने विमान कम्पनीलाई विभिन्न कर छुटलगायतका सुविधा उपलब्ध गराउने कार्ययोजना स्वीकृत भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अलजजिरा एयर, फ्लाइ दुबई र थाई एयर एसियाले उडान सुरू गरी सकेका छन् । कम भिजिविलिटी भएका बेला उडान भर्न समस्या भएको भन्दै केही विदेशी हवाइ कम्पनीले बीचमा उडान तालिका कटौती गरेको भए पनि अहिले पुनः थप गरिरहेका छन् ।
परम्परागत रूपमा रहेको इन्स्टुमेण्ट ल्याण्डिङ सिस्टम (आइएलएस) को विकल्पमा भूउपग्रहमा आधारित रिक्वायर्ड नेभिगेसन पर्फर्मेन्स–अथोराइजेसन रिक्वायर्ड (आरएनपी–एआर) प्रणाली जडान भइ सञ्चालनमा ल्याइएको छ । भारतले आफ्नो आकाशमा पहुँच पुग्ने भन्दै आइएलएस सञ्चालनका लागि अनुमति नदिएपछि नयाँ विकल्प अगाडि सारिएको हो । आरएनपी–एआर भूउपग्रहमा आधारित अवतरण प्रणाली हो भने आइएलएस उपकरणमा आधारित अवतरण प्रविधि हो । आरएनपी–एआर नेभिगेसन प्रणालीले जहाजलाई चुनौतीपूर्ण भूभाग र खराब मौसममा सुरक्षित अवतरणका लागि मद्दत गर्छ ।
प्राधिकरण विभाजन विधेयक तयार
नेपालमा लामो समयदेखि चर्चामा रहेको नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवाप्रदायक निकायका रूपमा एउटै निकाय राख्न नहुने यसबाट स्वार्थ बाझियो भन्ने गुनासो सम्बोधन गर्न प्रक्रिया अगाडि बढाइएको छ । कानुनी सुधारबाट युरोपेली युनियनले नेपाली वायुसेवा कम्पनीमाथि लगाएको प्रतिबन्ध फुकुवा हुन सहयोग पुग्ने विश्वास लिइएको छ ।
नीतिगत सुधार, संरचनागत परिवर्तन र आधुनिक प्रविधिमैत्री सेवालाई चुस्त र प्रभावकारी बनाउन मन्त्रीको नेतृत्वमा मन्त्रालयले अहोरात्र पहल गरिरहेको छ । पर्यटनमन्त्री पाण्डेले ऐनको नयाँ मस्यौदा बनाउँदा समय लाग्ने भएकाले पुरानो ऐनको मस्यौदालाई नै खोजेर त्यसलाई परिमार्जनसहित मन्त्रिपरिषद्मा पेस गरिएको र सुधार गर्नुपर्ने विषय संसद्बाट संशोधन गरेर सुधार गरिने बताउनुभयो । उहाँले मन्त्रालयको काम बारबाहीलाई चुस्त र प्रभावकारी बनाउन तत निकायका नीतिगत सुधार र संरचनागत परिवर्तनलाई महत्त्वकासाथ अगाडि बढाइएको विश्वास व्यक्त गर्नुभयो ।
मन्त्रालय र अन्तर्गतका निकायहरूको सङ्गठन तथा व्यवस्थापन तथा पुनरावलोकन सर्भेक्षण (ओ एण्ड एम) पुनरावलोकन काम सम्पन भएको मन्त्रालयले जनाएको छ ।
नीतिगत सुधारको थालनी
पर्यटन विधेयक सङ्घीय संसद्मा दर्ता भएको छ भने क्यासिनो नियमावली, २०७० संशोधनका लागि मन्त्रिपरिषद्मा पेस गरिएको छ । पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ संशोधन गरिएको छ ।
पर्यटन नीति, २०८१ मस्यौदा तर्जुमा गरी सहमतिको लागि अर्थ मन्त्रालयमा पठाइएको छ । संस्कृति नीति, २०८१ तर्जुमा गरी स्वीकृतिका लागि मन्त्रिपरिषद् समक्ष पेस गरिएको छ भने सङ्घीय भाषा विधेयक र सङ्ग्रहालय विधेयक तर्जुमा कार्य अघि बढाइएको छ ।
भ्रमण दशक कार्यान्वयन
मन्त्रालयको महत्वपूर्ण काममध्ये पर्यटन दशक (२०२५–२०३५) कार्ययोजना निर्माण गरी स्वीकृतिको क्रममा रहेको छ । भ्रमण दशक कार्यान्वयन गरेर वार्षिक ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । नेपालमा सन् २०१९ मा १२ लाख हाराहारी विदेशी पर्यटक आएका थिए । सन् २०२४ मा ११ लाख बढी पर्यटक नेपाल आएका थिए
अन्तर सरकारी विषयगत समितिका दुई वटा बैठक पोखरा र ठाकुरद्वारामा सम्पन्न गरिएको छ । पर्यटन विभागबाट प्रबाह हुने सेवालाई अनलाइनबाट प्रवाह हुने व्यवस्था मिलाईएको मन्त्री पाण्डेले बताउनुभयो । उहाँले अन्य राष्ट्रिय नीतिहरूसँग तादात्म्यता कायम भई पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । तीनवटै तहहरूबीच समन्वय र सहकार्यको संस्कृति विकास हुने मन्त्री पाण्डेको भनाइ छ ।
पर्यटन पूर्वाधार निर्माणमा तीव्रता
सुदूरपश्चिम प्रदेशको खप्तड र कर्णाली प्रदेशको रारामा पर्यटक प्रहरीको एकाइ विस्तार गरिएको छ । प्रत्येक प्रदेशमा एउटा हिल स्टेशन निर्माण गर्ने उद्देश्यले चारवटा प्रदेशका एक एक स्थान छनौट गरी विस्तृत परियोजना निर्माण कार्य सुरू गरिएको मन्त्रालयको प्रगति विवरणमा उल्लेख छ ।
मन्त्रालयको अग्रसरता र समन्वयमा प्रदेश सरकार र एसियाली विकास बैंकबीच सम्झौता भई खप्तडबाट बढीमालिका सम्मको पदमार्ग निर्माण प्रक्रिया अगाडि बढेको छ । उक्त पदमार्ग रारासम्म विस्तारित हुनेगरी कार्य भइरहेको छ । थप ५७ हिमाल आरोहणको लागि खुला गरिएको छ ।
मन्त्रालयअन्तर्गतका सबै निकायहरूसँग सम्बन्धित व्यवसायको दर्तादेखि व्यवसाय सञ्चालन प्रक्रियाहरूलाई सहजीकरण गर्दै झन्झटमुक्त बनाउन डिजिटाइजेशन सहित एकद्वार प्रणाली अवलम्बन गर्ने प्रक्रिया अगाडि बढाइएको छ ।
द्विपक्षीय हवाई सेवा सम्झौता
नेपाल र फ्रान्सबीच सम्पन्न भएको द्विपक्षीय हवाई सेवा सम्झौता र समझदारी पत्र संशोधन गर्ने कार्य अगाडि बढाइएको छ । नेपाल र इण्डोनेसियाबीच द्विपक्षीय हवाई सेवा संझौता गर्ने प्रक्रिया अघि बढाइएको छ ।
राजविराज विमानस्थलमा रात्रीकालीन अवतरण क्षमतायुक्त बनाइ सञ्चालनमा ल्याइएको छ । यो सँगै १० वटा विमानस्थल रात्रीकालीन उडान सञ्चालन योग्य रहेको छ ।
त्रिअविमा ट्क्सी वे निर्माण
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको क्षमता वृद्धि गर्न समानान्तर ट्याक्सी वे विस्तारसम्बन्धी परियोजनाको तोकिएकै समयमा सम्पन्न गर्नेगरी कार्यप्रगति भइरहेको छ । हालसम्म करिब ४५ प्रतिशत काम सम्पन्न भएको विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थलको हवाई यातायात क्षमता अभिवृद्धि गर्न गुरू योजना बमोजिम विभिन्न चरणमा निर्माण कार्य भइरहेको छ । गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा विमानस्थल बन्द गरेर हाल समानान्तर ट्याक्सी वे बिस्तार कार्य भइरहेकोमा थप दुई घण्टा उडान समय थपिदैँछ ।
अन्तरप्रदेश हवाई अवद्धता
समग्र नागरिक उड्डयन क्षेत्रको सुधारका लागि अध्ययन गर्न एक उच्चस्तरीय समिति गठन भई कार्य अघि बढाइएको मन्त्रालयले जनाएको छ । वायुयान उडान प्रशिक्षण संस्था फाइङ स्कुल सञ्चालन गर्नका लागि इजाजत माग गरी सोको सम्बन्धमा मन्त्रालयले अध्ययन थालेको छ ।
युरोपियन युनियनको सुरक्षा चासोको पूचीबाट निस्किन महत्त्वपूर्ण दुर्घटना जाँचसम्बन्धी स्थायी संरचना निर्माण गर्नेगरी ऐनको मस्यौदा तर्जुमाको कार्यअघि बढाइएको छ । नेपाल सरकारको निर्णयअनुसार नागरिक उड्डयन क्षेत्रको सुधारसम्बन्धी उच्चस्तरीय अध्ययन तथा सुधार समिति गठन भई कार्य प्रारम्भ भएको छ ।
संस्कृतिक सम्पदा संरक्षण
कपिलवस्तुस्थित तिलौराकोटलाई विश्वसम्पदा सूचीमा समावेश गर्न पुरातात्विकस्थल पहिचान भएको क्षेत्रको थप जमिन अधिग्रहण, युनेस्को इसिमोडको मिसनद्वारा स्थलगत अवलोकन लगायतका कार्यहरू गरिएका छन् ।
भूकम्पबाट क्षति भई बन्द अवस्थामा रहेको राष्ट्रिय सङ्ग्रहालय परिसरको ऐतिहासिक भवनको जीर्णोद्धार कार्य सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ । लुम्बिनी विश्वसम्पदा स्थलको संरक्षण एवं व्यवस्थापनका लागि कार्ययोजना, २०८१ निर्माण गरी कार्यान्वयनमा ल्याइएको छ । नेपालबाट पहिलो पटक अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी आवधिक प्रतिवेदन तयार गरिएको छ । लुम्बिनी विकास कोषमा वर्षौदेखि प्रयोगविहिन अवस्थामा रहेका विद्युतीय बसलाई सञ्चालनमा ल्याइएको छ ।
मन्त्रालय मातहतको छपाइ प्रज्ञा प्रतिष्ठानबाट
पर्यटन मन्त्रालय तथा सम्बद्ध निकायहरूको सम्पूर्ण छपाईसम्बन्धी कार्यहरू प्रज्ञा प्रतिष्ठानको अत्यधुनिक प्रेसबाट मात्र गर्ने निर्णय भएको छ । कपिलवस्तु, रूपन्देही, कास्की, बाग्लुङ हुँदै मुक्तिनाथसम्म जोड्ने गरी स्वामीनारायण इन्लाइटमेन्ट सर्किटको नक्शाङ्कनको कार्य अगाडि बढाइएको छ ।
यसबाट विश्वमा करिब रू पाँच करोडभन्दा बढी अनुयायी भएका स्वामीनारायण सम्प्रदाय र धार्मिक सम्पदा नेपालसँग जोडिई धार्मिक पर्यटन उल्लेख्य योगदान पुग्ने अनुमान छ । मन्त्रालयले थालनी गरेका सुधारका कामले आगामी दिनमा दिगो विकास र आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास लिइएको छ ।