म्याग्दी, १४ माघः जिल्लाको बेनी नगरपालिकाले पशुपालक किसानलाई उत्पादनमा आधारित अनुदान दिन थालेको छ । सुरुमा अनुदान दिँदा कृषकहरू व्यावसायिक बन्न नसकेपछि उत्पादन गरेपछि प्रोत्साहन पाउने नीति लिएको हो ।
गत आर्थिक वर्षदेखि सुरु भएको यो कार्यक्रमलाई नगरपालिकाले चालु आवमा पनि निरन्तरता दिएको छ । कृषकहरूलाई मासु र दूधमा आत्मनिर्भर बनाउन सञ्चालित उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमलाई चालु आवमा पनि निरन्तरता दिइएको नगरप्रमुख सुरत केसीले बताउनुभयो ।
उहाँका अनुसार चालु आवमा न्यूनतम १० वटा माउ बाख्रापालक कृषकलाई प्रोत्साहनका लागि रु सात लाख ५० हजार, दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमका लागि रु पाँच लाख ५० हजार र पशुपंक्षी तथा माछाको बिमा प्रिमियम शुल्कमा १० प्रतिशत अनुदान दिन रु एक लाख ५० हजार विनियोजन गरेको छ ।
उक्त अनुदान पाउन ३० बाख्रा र १९ वटा गाईभैँसी फार्मले आवेदन पेस गरेका बताउँदै छनोटका लागि स्थलगत रूपमा मूल्याङ्कनको क्रममा रहेको नगरको पशु सेवा शाखाका प्राविधिक प्रदिप गौतमले बताउनुभयो । उहाँका अनुसार नगरले त्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन कार्यविधि, २०८० बनाएर कार्यान्वयनमा ल्याएको हो ।
बाख्रातर्फ १० देखि १४ को रु १२ हजार, १५ देखि १९ को रु १८ हजार, २० देखि २९ को रु ३५ हजार र ३० भन्दाबढीको रु ४० हजार अनुदान पाउने व्यवस्था मिलाइएको गौतमले जानकारी दिनुभयो । गाईभैँसीतर्फ तीनदेखि चार वटाको रु १० हजार, पाँचदेखि आठ वटाको रु २० हजार, नौदेखि १३ वटाको रु ३५ हजार र १४ भन्दाबढीको रु ४५ हजार अनुदान पाउने मापदण्ड रहेको छ ।
पालेका पशुको सङ्ख्या र उत्पादनको आधारमा अनुदान पाउने नगरपालिकाको नीतिले कृषकहरूलाई व्यावसायिक बन्न प्रोत्साहन मिलेको, प्रभावकारी र व्यवहारिक भएको बेनी–४ बास्कुनाका कृषक तिलक गुरुङले बताउनुभयो । सानो सङ्ख्यामा पशुपालन गर्ने कृषकलाई पनि समेट्न कार्यविधि संशोधन गर्न उहाँले सुझाव दिनुभयो ।
गत वर्ष ३२ जना बाख्रापालक कृषकले रु छ लाख ४४ हजार नौ सय ८० र १८ जना दूग्ध उत्पादक कृषकले रु पाँच लाख अनुदान पाएका थिए । पशुपालक कृषकलाई व्यावसायिक बनाउन र टिकाउन कार्यक्रमले सहयोग पुगेको बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले बताउनुभयो ।
कृषि क्षेत्रमा आत्मनिर्भर हुन किसान केन्द्रित विविध कार्यक्रमलाई जोड दिएको बेनी नगरपालिका–४ सिङ्गामा चिस्यान गृह सञ्चालन गरिएको नगर कार्यालयले जनाएको छ । बेनी–८ कालीपुलमा कृषि उपज बजारको भवन निर्माण सुरु गरिएको छ ।