झापा, २० माघः क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउन यती एयरलाइन्स प्रालि र पूर्वाञ्चल क्यान्सर अस्पतालबीच सम्झौता भएको छ । एयरलाइन्सको प्रमुख व्यापार अधिकृत युवराज विष्ट र पूर्वाञ्चल क्यान्सर अस्पतालका अध्यक्ष दुर्गा प्रसाईँले शनिबार सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । सो अवसरमा सामाजिक उत्तरदायित्व वहन गर्दै क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउने सहमति भएको यती एयरलाइन्सका उपप्रबन्धक विमल विष्टले जानकारी दिनुभयो ।
यहाँको विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल विसं २०७६ फागुन १८ गतेदेखि सञ्चालन भइरहेको छ । एक सय शय्याको सो अस्पतालले क्यान्सरका बिरामीको उपचारका लागि पेटसिटी, रेडियो थेरापी, केमो थेरापी, सर्जरीलगायत उपचार प्रविधि र उपलब्ध गराइरहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा वीरेन्द्र यादवले बताउनुभयो ।
उहाँले भन्नुभयो,“निःशुल्क हवाई टिकटको सुविधाले क्यान्सरका बिरामीलाई सहयोग मिल्नेछ । देशभरका बिरामीलाई पेटसिटीलगायत उपचार प्रविधिका लागि महँगो खर्च तिरेर भारत जानुपर्ने बाध्यता हट्ने छ । ”
पूर्वाञ्चल क्यान्सर अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले निःशुल्क हवाई टिकट प्राप्त गर्न क्यान्सर सङ्क्रमण प्रमाणित भएर अस्पतालमा उपचार सेवा लिइरहेको सुनिश्चित हुनुपर्ने सम्झौतामा उल्लेख रहेको जानकारी दिनुभयो । “देशको जुनसुकै भागबाट उपचार लिन आउने बिरामीले यो सुविधा एकपटक लिन सक्नुहुन्छ”, उहाँले भन्नुभयो, “तर सुविधा पाउन क्यान्सर प्रमाणित भएको र अस्पतालमा सेवा लिएको सुनिश्चितताचाहिँ हुनुपर्दछ ।” बिरामीले अस्पताल जाने र घर फर्किने दोहोरो टिकट पाउने उहाँले बताउनुभयो ।
जनसम्पर्क अधिकृत गिरीले बिगत पाँच वर्षमा पूर्वाञ्चल क्यान्सर अस्पतालमा छ हजार चार सय ८४ जना नयाँ क्यान्सरका बिरामीको उपचार भएकोे जानकारी दिनुभयो । चेतनाको कमी र आर्थिक अभावका कारण ग्रामीण र दुर्गम क्षेत्रका क्यान्सर बिरामीले उपचार पाउनबाट अझै वञ्चित हुनुपरेको उहाँको भनाइ छ ।
अत्याधुनिक उपकरण र दक्ष चिकित्सकीय जनशक्ति भएका कारण अस्पतालमा देशका कुनाकाप्चा र विदेशबाट समेत उपचार गराउन आउनेको सङ्ख्या बर्सेनि बढिरहेको उहाँले बताउनुभयो । विगत पाँच वर्षमा पत्ता लागेका नयाँ बिरामीमध्ये सबैभन्दा बढी स्तन क्यान्सरका आठ सय १४ जना र फोक्सो क्यान्सरका आठ सय पाँच जनाको उपचार गरिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा यादवले जानकारी दिनुभयो । पाठेघरको क्यान्सर र नाक, कान, घाँटीको क्यान्सरका बिरामीको सङ्ख्या क्रमशः तेस्रो र चौथो स्थानमा रहेको छ ।
गम्भीर प्रकृतिका बिरामीलाई उपचार खर्चमा सहुलियत पुर्याउने उद्देश्यले निःशुल्क हवाई टिकट उपलब्ध गराउने सम्झौताले अस्पताल धाइरहेका सेवाग्राहीलाई खुसी तुल्याएको मोरङको रतुवामाई नगरपालिका–५ का टीकाराम शिवाकोटीले बताउनुभयो । उहाँले चार महिनादेखि पत्नीको फोक्सो क्यान्सरको उपचार सोही अस्पतालमा गराइरहनुभएको छ । बिरामीलाई अस्पताल लैजान र घर ल्याउन रतुवामाई नगरपालिकाले निःशुल्क एम्बुलेन्स उपलब्ध गराइरहेको उहाँले बताउनुभयो । “हुनेखानेका लागि अस्पताल जान सवारी साधनको कठिनाइ नहोला, तर गरिब परिवारका लागि खर्चकै अभावले बेलैमा अस्पताल पुग्न कठिन हुनसक्छ”, उहाँ भन्नुहुन्छ, “विपन्न र असहाय बिरामीका लागि अस्पतालले यातायात र औषधोपचारमा सहुलियत गरिदिनै पर्छ ।”
पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार गराउन आउने असहाय र गरिब परिवारले सरकारको विपन्नता नागरिक औषधोपचार कार्यक्रमअन्तर्गत रु एक लाखसम्मको निःशुल्क उपचार पाउने गरेको अस्पतालका जनसम्पर्क अधिकृत गिरीले जानकारी दिनुभयो । लुम्बिनी प्रदेश सरकारले विपन्न बिरामीका लागि अलग्गै रु दुई लाखसम्मको निःशुल्क उपचार सुविधा दिने गरेको छ ।