सिरहा, २९ माघः मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सिरहाको लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालले वार्षिक दुई लाख ५० हजारभन्दा बढी आँखाका बिरामीलाई सर्वसुलभ र गुणस्तरीय सेवा प्रवाह गरी देशकै प्रतिष्ठा बढाएको बताउनुभयो ।
आज यहाँ आयोजित अस्पतालको ४२औँ वार्षिकोत्सव समारोहमा उहाँले अस्पतालले नेपाली मात्र नभई छिमेकी राष्ट्र भारत तथा अन्य देशका नागरिकलाई समेत सेवा प्रदान गरी देशकै प्रतिष्ठा र गौरब बढाउने काम गरेको बताउनुभयो । मुख्यमन्त्री सिंहले आफूले प्रदेश सरकारले अस्पताललाई आवश्यक बजेट व्यवस्थापनसहित सबै प्रकारका सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल नेत्र ज्योति सङ्घका केन्द्रीय सदस्य तथा अस्पातालका जग्गादाता पदमबहादुर चौधरीले मधेसमा मात्र सीमित नभई अस्पतालले हिमाल, पहाड र सबैतिरका नागरिकलाई सेवा दिएर मन जित्न सफल भएको बताउनुभयो । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्रीसमेत रहनुभएको चौधरीले आँखा अस्पतालको विकासका लागि सबै पक्षले उत्तिकै साथ र सहयोग गर्नुपर्नेमा जोेड दिनुभयो ।
मधेस प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद चौधरीले लहान आँखा अस्पताललाई ‘मेडिकल टुरिष्ट हब’ को रूपमा विकास गर्न आवश्यक सहयोगका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रदेशसभा सदस्य राजकुमार गुप्ताले अस्पतालमा भारतीय बिरामीको आगमन बढी हुनेहुँदा त्यसबाट भारतीय मुद्राको सञ्चित गरी राज्यले लाभ लिनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरी, त्रियुगा नगरपालिका प्रमुख वसन्तकुमार बस्नेत, धनुषाधाम नगरपालिका प्रमुख वालेश्वर मण्डल, सिरहा नगरपालिका प्रमुख डा नवीनकुमार यादव, लक्ष्मीपुर पतारी गाउँपालिका अध्यक्ष चतुरानन्द ठाकुरलगायतलाई अस्पतालले प्रमाणपत्रसहित सम्मान गरिएको थियो । उहाँहरूलाई आँखा अस्पतालसँग समन्वय गरी स्थानीयस्तरमा आँखा शिविर गरी गरिब तथा विपन्न नागरिकलाई ज्योति प्राप्त गर्नका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै सम्मान गरिएको अस्पतालका अध्यक्ष रवीन्द्रलाल चौधरीले जानकारी दिनुभयो ।