‘मानवबस्ती जोगाउन जङ्गली जनावरको आतङ्क नियन्त्रण अनिवार्य’

आर्थिक कृषि समाचार

काठमाडौँ, १२ फागुन: प्रतिनिधिसभा सदस्यहरूले जङ्गली जनावरको आतङ्क नियन्त्रणमा ढिलाइ गरे गाँउघरको बस्ती रित्तिने चिन्ता व्यक्त गर्दै सरकारको ध्यानार्कषण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद राजेन्द्र बजगाइँले प्रस्तुत गर्नुभएको जरूरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद शेरबहादुर कुँवरले बसाइँसराइ रोक्नुपर्ने, कृषिमा आधुनिकीकरण र व्यावसायिकरण गर्नेदेखि श्रमशक्तिलाई पलायन हुन नदिने कुरामा ध्यान दिनुपर्ने बताउनुभयो ।

“गाँउघर रितिँदै छ । गाउँघर बन्जर हुँदैछ, यस्तै हो भने गाउँघरमा मान्छे होइन जनावर मात्र भेटिने छन्”, सांसद कुँवरले भन्नुभयो, “अब उत्पादनको क्षेत्रमा राज्यको ध्यान केन्द्रित गर्नुपर्छ । समाधान खोज्न ढिलाइ गर्नुहुँदैन ।”

सांसद सराज अहमद फारुकीले जङ्गली जनावरको आताङ्क नियन्त्रणका लागि सामुदायिक पहरेदारीदेखी ड्रोनको प्रयोग गर्न सुझाव दिनुभयो । सांसद अम्मरबहादुर रायमाझीले ठाँउ विशेषको जङ्गली जनावरबाट आतङ्क बढेको चर्चा गर्दै पहाडतिर दुम्सी र बाँदरको आतङ्कले मानवीय बस्ती विस्थापित भएको बताउनुभयो ।

सांसद अशोक चौधरीले वन विनास र आवास क्षेत्रको सङ्कुचनले जङ्गली जनावर मानवीय बस्तीतर्फ आउने क्रम बढेको बताउनुभयो । उहाँले मानव वन्यजन्तु द्वन्द्व नीतिगत खाका निर्माण गरी कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभयो ।

सांसद विनिता कठायतले जङ्गली जनावरको बासस्थानमाथि मानवीय बस्ती र विकास निर्माणले हस्तक्षेप गरेकातर्फ ध्यानार्कषण गराउनुभयो । उहाँले जङ्गली जनावरको आतङ्क रोक्ने नीति बनाउँदै गर्दा जनावरको संरक्षणमा असर पर्न नहुनेतर्फ सचेत गराउनुभयो ।

सांसद देवप्रसाद तिमलसेनाले हात्ती, बाघ, दुम्सी र निलगाईलाई समावेश गरेर जङ्गली जनावरको आतङ्क नियन्त्रणका लागि यथाशीघ्र समाधान खोज्न सरकारसँग आग्रह गर्नुभयो ।

सांसद रुपा सोशी चौधरीले जङ्गली जनावरको आतङ्क नियन्त्रणका लागि भारतको अभ्यासबाट सिक्न सकिने बताउनुभयो । उहाँले घुम्ती अस्पताल बनाएर बादरको बन्ध्याकरण गर्न सुझाव दिनुभयो ।

वन्यजन्तुबाट मानव र बालीनाली जोगाउन ठोस नीति निर्माण गर्नुपर्ने

सोही प्रस्तावमाथिको छलफलमा भाग लिने अन्य सांसदले पनि बाँदर, बँदेल, हात्ती, नीलगाई, दुम्सीलगायत वन्यजन्तुबाट मानिस र बालीनाली जोगाउन ठोस नीति निर्माण गरिनुपर्नेमा जोड दिएका छन् । सांसदहरूले नीतिगत रूपमै समस्या समाधानका लागि अघि बढ्न वन तथा वातावरण मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई आग्रह गर्नुभयो ।
सांसद सुशीला थिङले किसानको घरदैलोमा जाँदा बाँदरको समस्या समाधान गर्न माग हुने गरेको भन्दै समस्या समाधानका लागि तत्काल आवश्यक नीतिसहित अगाडि बढ्नुपर्ने बताउनुभयो । सांसद मुक्तादेवी यादवले बाँदर र बँदेलका साथै नीलगाईले पनि किसानलाई समस्या भइरहेकाले यो प्रस्तावमा नीलगाईलाई पनि समावेश गर्न आग्रह गर्नुभयो ।

सांसद प्रतीक्षा तिवारीले प्रस्तावमा हात्ती, नीलगाई, दुम्सी र बाघलाई पनि समावेश गरेर जानुपर्ने बताउनुभयो । यी वन्यजन्तुले मानिस र कृषि दुवैमा समस्या पारेकाले ठोस नीति बनाएर नियन्त्रण गरिनुपर्ने उहाँको भनाइ थियो ।

सांसद नारायणप्रसाद आचार्यले प्रस्तावले समस्या समाधानमा सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । खेतीयोग्य जमिन बाँदर, बँदेल, नीलगाई, हात्ती, दुम्सीजस्ता वन्यजन्तुका कारण कम हुन थालेको उहाँले सुनाउनुभयो ।

सांसद लक्ष्मी तिवारीले भारतमा बाँदर, बँदेल व्यवस्थापनको तालिम लिएकाले अरुलाई सिकाइरहेका छन् कि छैनन् भनी खोजी गरिनुपर्ने बताउनुभयो । स्थानअनुसार बाँदरको जात फरक हुने भएकाले किन वन छोडेर बस्तीमा पस्न थाले भनी अनुसन्धान गरिनुपर्ने उहाँको भनाइ थियो ।

सांसद ठाकुर गैरेले बाँदरले ग्रामीण क्षेत्रमा घरभित्र बनाएको खानाको कसौँडी नै लगेर खाने समस्या आएको सुनाउनुुभयो । बन्ध्याकरण, चिडियाघरमा राखेर वा उपयुक्त उपायबाट बाँदर, बँदेललगायत वन्यजन्तुको समस्या समाधान गरिनुपर्नेमा उहाँको जोड थियो ।

Facebook Comments Box