काठमाडौँ, २० फागुनः भारत सरकारको सहयोगमा दाङको तुलसीपुर उपमहानगरपालिकास्थित राप्ती आँखा अस्पतालको अपरेशन थिएटर भवन निर्माणको शिलान्यास गरिएको छ ।
उक्त भवनको आज तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्का र काठमाडौँस्थित भारतीय दूतावासका प्रथम सचिव वशिष्ट नन्दनले संयुक्त रूपमा शिलान्यास गर्नुभएको यहाँस्थित भारतीय दूतावासले जनाएको छ ।
कार्यक्रममा उपमहानगरका प्रमुख तथा राप्ती आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष र अन्य सरोकारवालाहरूले नेपालका जनतालाई भारत सरकारले प्रदान गरिरहेको विकास सहायताको प्रशंसा गर्नुभएको थियो ।
उहाँहरूले निर्माण भइरहेको पूर्वाधारले नेपालका जनतालाई राम्रो स्वास्थ्य सेवा प्रदान गर्न मद्दत गर्ने र नेपालको लुम्बिनी प्रदेशमा स्वास्थ्य क्षेत्रको समग्र विकासमा पनि योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा राजनीतिक प्रतिनिधिहरू, सरकारी अधिकारीहरू र समाजसेवीहरूको उपस्थिति थियो ।
‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा रु चार करोड ३३ लाख परियोजना लागतमा भवन निर्माण सुरु गरिएको हो । भारत सरकारको अनुदानबाट अपरेशन थिएटर भवन र अन्य सम्बद्ध सुविधा निर्माण हुने दूतावासले जनाएको छ । यो परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढेको छ र तुलसीपुर उपमहानगरपालिकामार्फत कार्यान्वयन भइरहेको छ ।
सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५६३ वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइएका छन् । जम्मा ४९५ वटा परियोजनाहरु सम्पन्न भइसकेका र यी मध्ये ६२ वटा परियोजना लुम्बिनी प्रदेशमा रहेका छन् ।
–––