आर्थिक वृद्धिका लागि पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्छ: मुख्यमन्त्री तामाङ

आर्थिक मुख्य समाचार समाचार

त्रिशूली (नुवाकोट), २४ फागुन : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले नेपालको कला, संस्कृति र सम्पदामार्फत आर्थिक लाभ लिन पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्ने बताउनुभएको छ ।

नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङस्थित ताक्पागाङमा निर्माण गरिएको गुरु रेन्पोछे मूर्तिको आज उद्घाटन गर्दै मुख्यमन्त्री तामाङले नेपाली कला र संस्कृतिको रक्षा गर्दै आर्थिक उपार्जनमा टेवा पुर्याउन लाग्नुपर्ने बताउनुभयो ।

“नेपालको प्रकृति, पर्यावरण र परम्परा अतुलनीय समिश्रणले भरिएको छ, हाम्रो प्रकृति र संस्कृतिको जगेर्नामात्र होइन पर्यटनलाई भित्र्याएर आर्थिक लाभ लिनेतर्फ लाग्नु पर्दछ”, उहाँले भन्नुभयो ।

धर्म, संस्कृति, भाषा र परम्पराको संरक्षणमा सम्बन्धित समुदायको अग्रसरता कमजोर हुँदै गएको भन्दै मुख्यमन्त्री तामाङले युवापुस्तालाई सजग गराउनुभयो । “संस्कृति जोगाएर, पर्यटनलाई लोभ्याएर रोजगारीको सृजना गर्नुपर्छ । समुदाय र सरकारको लगानीमा निर्माण भएका धार्मिक संरचनाको संरक्षण र यहीँबाट लाभ लिनलाई पर्यटनसँग जोड्नुपर्छ”, उहाँको सुझाव थियो ।

गुरुरेन्पोछेको मूर्ति नुवाकोटमा निर्माण भएकोमध्ये सबैभन्दा ठूलो र अग्लो (३६ फिट उचाइ) रहेको धर्मगुरु खेन रेन्पोछे फुर्पा तामाङले जानकारी दिनुभयो । उक्त मूर्ति स्थानीयवासी, स्थानीय सरकार र बागमती प्रदेश सरकारको संयुक्त लगानीमा निर्माण गरिएको हो ।

Facebook Comments Box