महिलालाई आत्मनिर्भर बनाउन गुन्द्री बुन्ने तालिम

आर्थिक समाचार

धरान (सुनसरी) २५ चैतः महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले जिल्लाको बराहक्षेत्रमा थारु महिलाहरूलाई हस्तकलाका सामग्री बनाउने तालिम सुरु गरिएको छ । वराहक्षेत्र नगरपालिकाको आर्थिक सहयोग र थारु कल्याणकारिणी सभा, वराहक्षेत्र नगर कार्यसमितिको आयोजनामा गत शुक्रबारदेखि तालिम सुरु गरिएको हो ।

वराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीले थारु समुदायको पुर्खौली पहिचान बोकेको परम्परा र संस्कृतिसँग जोडिएका ढकिया, गुन्द्री, पिरालगायत हस्तकलाका सामाग्रीको संरक्षणका साथै थारु महिलालाई आत्मनिर्भर बनाउँदै क्षमता अभिवृद्धि गर्ने उद्देश्यले हस्तकलाका सामग्री बनाउने तालिम दिन सुरु गरिएको बताउनुभयो ।

उक्त तालिमबाट महिला स्वरोजगार बन्नुका साथै जीविकोपार्जनका लागि आम्दानी गर्नसक्ने भएकाले १५ दिने तालिम आयोजना गरिएको उल्लेख गर्दै उहाँले तालिममा ५० भन्दा बढी थारु समुदायका महिलाको सहभागिता रहेको बताउनुभयो ।

थारु समुदायको परम्परागत सीप संरक्षण गर्न, महिलालाई सक्षम बनाउँदै आम्दानीको स्रोत विकास गर्न सकिने उद्देश्यले तालिमको आयोजना गरिएको कल्याण्कारिणी सभा, वराहक्षेत्र नगरकार्य समितिका सचिव देवकुमार चौधरीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “परम्परागत सीपलाई आधुनिक बजारसँग जोड्नुका साथै महिलाले घरमै बसेर आर्थिक आम्दानी गर्नसक्ने भएकाले हाम्रो संस्कृतिलाई नयाँ पुस्ताले अपनाउन सकुन् भनेर प्रयास थालेका हौँ ।” स्थानीय सरकार, विभिन्न सङ्घसंस्थालगायत सरोकार भएका निकायहरूले हरुले यस किसिमका तालिमको निरन्तरता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

Facebook Comments Box