काठमाडौं । लेकाली बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारणसभा शनिबार राजधानीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष केदारनाथ दवाडीको सभापतित्वमा साधारणसभा सम्पन्न भएको हो । कार्यक्रमको प्रमुख अतिथिको रुपमा सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेल रहेका थिए । विशेष अतिथिको रुपमा गण्डकी प्रदेशका सभासद एवं संस्थाका उपाध्यक्ष प्रकाशचन्द्र दवाडी रहेका थिए । सो कार्यक्रममा अतिथिको रुपमा सहकारी विभागका उपरजिष्टार शशिकुमार लम्सालले लेकाली बचत तथा ऋण सहकारी संस्थाको साधारणसभाको उपलक्ष्यमा यस संस्थाको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै सहकारी ऐन र नियमावलीमा भएका व्यवस्थाहरुको जानकारी गराए । अहिले ऐनमा कसुर र दण्डको व्यवस्था गरेको छ । कसुरअनुसारको दण्ड र दण्ड अनुसारको फौजदारी मुद्दा अघि बढ्ने भएकाले सहकारी ऐन र नियमावलीलाई अक्षरस पालना गर्न अनुरोध गरे । कार्यक्रमका विशिष्ट अतिथि प्रकाशचन्द्र दवाडीले विभिन्न व्यक्तिहरुलाई सम्मानित गर्नु भएको थियो ।
सो क्रममा यस सहकारी संस्थाको शेयर सदस्यका सन्ततिहरुमध्यबाट माध्यमिक परीक्षा एईईमा सर्वोत्कृष्ट नतिजा ल्याउने अन्जिता लामिछाने र रितिका दवाडीलाई सम्मान गर्नुभयो । त्यसैगरी जेष्ठ नागरिक (९६ वर्षीय) चन्द्रदेवी कोइरालालाई सम्मानित गर्नुभयो । स्रष्टा व्यक्तित्व सम्मानको रुपमा नेपाल बैंक लिमिटेडका अध्यक्ष वासुदेव अधिकारीलाई सम्मान गरिएको थियो । त्यसैगरी उत्कृष्ट कर्मचारीबाट संस्थाका सहायक ऋण अधिकृत दाताराम ढकाल, सर्वोत्कृष्ट बचतकर्तामा प्रसन अधिकारी र बाल बचत सम्मान दिपिका अर्याललाई प्रदान गरिएको थियो ।
संस्थाका अध्यक्ष केदारनाथ दवाडीले संस्थाको हालसम्मको अवस्थाको बारेमा जानकारी गराउनु भयो । त्यसैगरी सचिव शम्भुप्रसाद अधिकारी र लेखासमिति सदस्य दीनानाथ पण्डितले आ–आफ्नो प्रतिवेदन पेश गरेका थिए । सम्मानित व्यक्तिहरुको तर्फबाट अन्जिता लामिछाने र रितिका दवाडीले बोलेका थिए । समग्र संस्थाको आय–व्यय सहितको आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष दयानिधि दवाडीले प्रस्तुत गर्नुभएको थियो । शेर सदस्यको तर्फबाट कार्यक्रममा सहभागीहरुलाई धन्यवाद मन्तव्य विनोद दवाडीले दिनुभएको थियो । त्यसैगरी महिला समिति संयोजक श्रुतीकुमारी रेग्मीले महिला समितिको अहिलेको अवस्था, चुनौति र भावी योजनाको विषयमा आफ्नो भनाई राख्नुभयो । कार्यक्रममा शुभकामना मन्तव्य मनासलु बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष राजेन्द्र पौडेलले दिएका थिए । सो कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. २६ का वडाअध्यक्ष ख्यामराज तिवारीलाई समेत आमन्त्रण गरिएको थियो ।
संस्थाको १२ साधारणसभाले आगामी कार्यकालको लागि जसमा केदारनाथ दवाडीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्षमा केदारनाथ दवाडी, उपाध्यक्षमा दयानिधि दवाडी, सचिवमा शम्भुप्रसाद अधिकारी, कोषाध्यक्षमा राजेन्द्र दवाडी रहेका छन् । त्यसैगरी सदस्यहरुमा डा. डण्डपाणि अधिकारी, ईश्वर न्यौपाने, डालप्रसाद पुडासैनी, यदुराज वाग्ले, सौनकचन्द्र पोखरेल, पूर्णचन्द्र दवाडी र जनककुमारी पौडेल रहेका छन् । त्यसैगरी लेखासमिति संयोजकमा राजेन्द्रेश्वर पौडेल र सदस्यहरुमा दिनानाथ पण्डित र विष्णुहरि अधिकारीलाई चयन गर्दै लेकाली बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारणसभा सम्पन्न भएको छ । उक्त कार्यक्रम डालप्रसाद पुडासैनीले सञ्चालन गरेका थिए ।