बेँसीशहर | ३ असोज : बाढीपहिरोमा परी मृत्यु भएका लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ नासकुचेका तुलसीप्रसाद तामाङको परिवारलाई राहत प्रदान गरिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिका तर्फबाट प्रमुख जिल्ला अधिकारी झम्कनाथ ढकालले रु एक लाखका चेक उहाँका जेठो छोरा मेकराशी तामाङलाई आज हस्तान्तरण गर्नुभएकोे हो ।
गत बुधबार बाढीपहिरोमा परी बेपत्ता भएका ५८ वर्षीय तामाङको शव सोमबार दिउँसो राइनास नगरपालिका–८ तार्दी खोला दोभान डुम्रेस्वारामा मस्र्याङ्दी नदीले बगाएर ल्याएको अवस्थामा फेला परेको थियो ।
मस्र्याङ्दी गाउँपालिकाले पहिरोमा ज्यान गुमाएका तुलसीको परिवारलाई रु ५० हजार प्रदान गरेको मस्र्याङ्दी गाउँपालिका–४ का वडाध्यक्ष सुमन गुरुङले बताउनुभयो ।
पहिरोमा परी अर्खलेबेँसीबाट बेपत्ता भएका स्थानीय ७० वर्षीया ललितमाया गुरुङको शव बिहीबार पहिरो गएकै ठाउँमै फेला परेको थियो । पहिरोमा परेर मस्र्याङ्दी गाउँपालिका–५ घर भई वडा नं ४ श्रीचौरमा बस्दै आएकी ४८ वर्षीया विष्णुकली गुरुङ, मस्र्याङ्दी गाउँपालिका–३ तरापु पल्लोटारीका ६० वर्षीया अतिरुपा थापा र उहाँका नातिनी आठ वर्षीया शिरस थापाको पनि मृत्यु भएको थियो । आज नै मस्र्याङ्दीमा आएको बाढीले बगाएर बेपत्ता भएका बर्दिया ठाकुरद्वारा नगरपालिका–५ का बलिराम चौधरी र लक्ष्मीप्रसाद थारुको अवस्था अज्ञात छ ।