वैदेशिक रोजगार व्यवसायीलाई राहत

वैदेशिक रोजगार

काठमाडौं । वैदेशिक रोजगार विभागले विदेशस्थित नेपाली नियोगबाट प्रमाणीकरण भएका तर विभागको एटेस्टेसन मोड्युलमा अपलोड हुन नसकेका डिमाण्डलाई पूर्वस्वीकृति दिने भएको छ । गत जनवरी ३१ तारेख (माघ १७ गते) सम्म नियोगबाट प्रमाणीकरण भएर मोड्युलमा अपलोड हुन नसकेका डिमान्डलाई विभागले पूर्वस्वीकृति प्रदान गर्न लागेको हो ।

वैदेशिक रोजगार व्यवसायी संघले विदेशस्थित केही नियोगहरुले सूचना व्यवस्थापन प्रणाली (फेम्स)मा प्रमाणीकरण गरेका मागपत्र अपलोड नभएका कारण समस्या परेको भन्दै व्यवस्थापन गरिदिन सरकारसँग आग्रह गरेको थियो । यही आग्रह बोकेर व्यवसायीहरूले विभागका तत्कालीन महानिर्देशक डा. भीष्मकुमार भुसाल र हालका महानिर्देशक कुमार दाहालको ध्यानकर्षण गराएका थिए । लगत्तै विभागले व्यवसायीको चासो सम्बोधन गरेको हो ।

विभागले मातहत कार्यालय ताहचललाई जनवरी ३१ तारेखसम्म प्रमाणीकरण भएका डिमाण्डमा पूर्वस्वीकृति दिन पत्राचार गरेको संघका कार्यवाहक महासचिव मेघनाथ भुर्तेलले मध्यान्हलाई जानकारी दिए । विभागले गत जनवरी १ तारेखदेखि वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृतिलाई सूचना व्यवस्थापन प्रणाली (एफईआईएमएस) मार्फत दिने व्यवस्था गरे पनि खाडीस्थित नेपाली दूतावासहरूले उक्त प्रणालीमा मागपत्र अपलोड गर्ने तत्परता देखाएका थिएनन् । कतारस्थित नेपाली दूतावासले प्रणाली लागू भएको ४५ दिनपछि मात्रै गत फागुन १ गते स्क्यानर मेसिन खरिद गरेको थियो । अहिले दूतावासले मागपत्र प्रणालीमा अपलोड थालेको छ ।

संघका कार्यवाहक महासचिव भुर्तेलका अनुसार, प्रणालीमा डिमाण्ड अपलोड नभएका कारण व्यवसायीहरुका १८४ वटा फाइल पेश हुन सकेका छैनन् । विदेशस्थित नियोगहरूले सेवा नदिएपछि डिजिटल हस्ताक्षरको डिभाइस खरीद गरी प्रयोग गर्न बाध्य भएका वैदेशिक रोजगार व्यवसायीहरुलाई दूतावासबाट प्राप्त डिमाण्डसम्बन्धी कागजपत्र आफैंले डिजिटल हस्ताक्षरमार्फत प्रमाणीकरण गरी विभागको सूचना व्यवस्थापन प्रणालीमा अपलोड गर्न थालेका छन् । हाल खाडी र मलेसियास्थित नेपाली नियोगमा रहेको समस्या समाधान हुने क्रममा रहेको भए पनि युरोपलगायतका देशमा रहेको समस्या भने यथावत् रहेको गुनासो व्यवसायीहरुले गरेका छन् ।

Facebook Comments Box