काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ कार्य समितिले पूर्णता पाएको छ । संघका अध्यक्ष विष्णुप्रसाद गैरेले संघको रिक्त कार्य समितिमा थप दुई व्यवसायीलाई मनोनयन गरेपछि यसले पूर्णता पाएको हो ।
संघका अध्यक्ष गैरेले दुई सदस्य थपेर संघको नयाँ नेतृत्वलाई पूर्णता दिइएको जानकारी दिए । योसँगै संघले २१ सदस्यीय कार्य समिति पाएको छ । संघले मोहन ढुंगेल र राधा खड्कालाई कार्यसमिति सदस्यको जिम्मेवारी दिएको हो । ढुंगेल राजधानीको तीनकुनेस्थित डमरु रिसोर्स प्रा.लिका सञ्चालक हुन् भने खड्का पुरानो बानेश्वरस्थित काम्ख्या ओभरसिज प्रालिकी सञ्चालिका हुन् ।
संघका अध्यक्षले ४ सदस्य मनोनयन गर्ने विधान छ । त्यहीअनुसार, गैरेले यसअघि कोटेश्वरस्थित सक्षम ह्युमन रिर्सोर्स प्रा.लिका अस्गर अली र तीनकुनेस्थित एचएमटी ओभरसिज प्रालि.सञ्चालक तुलसी पुरीलाई मनोनयन गरेका थिए । खड्काको मनोनयनसंगै संघ कार्य समितिमा महिला व्यवसायीको संख्या दुई पुगेको छ । गत असोजमा भएको संघको निर्वाचनमा कोषाध्यक्ष पदमा इन्दिराक गुरुङ निर्वाचित भएकी थिइन । संघको २१ सदस्यीय कार्य समितिमा ७ पदाधिकारी र १० सदस्य प्रत्यक्ष निर्वाचित गर्ने प्रावधान छ ।