क्यान्सर रोगबारे विभिन्न व्यक्तिहरुको अनुभव

स्वास्थ्य/शिक्षा

पूर्व मिस नेपालहरुको संस्था ‘फर्मर मिस नेपाल क्लबले’ विश्व क्यान्सर दिवस (फेब्रुअरी ४)को अवसरमा क्यान्सरसम्बन्धी जनचेतना फैलाउन अन्तरक्रिया गरेका छन्। उक्त अन्तरक्रिया कार्यक्रममा पूर्व मिस नेपाल, क्यान्सर रोग विशेषज्ञ, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि र बलिउड अभिनेत्री मनिषा कोइराला सहभागी थिए। कार्यक्रममा चिकित्सकले क्यान्सर रोग, यसका लक्षण, बच्ने उपाय, उपचार लगायतका विषयमा आफ्नो धारणा राखेका छन्। कोइरालाले आफ्नो अनुभव र भावी योजनाका विषयमा विचार राखिन् भने पूर्व मिस नेपाल शृंखला खतिवडाले मिस नेपाल क्लबले क्यान्सरका क्षेत्रमा गरेका कामहरुको जानकारी दिइन्। यस्तै कार्यक्रममा सहभागी स्वास्थ्य सेवा विभाग अन्तर्गतको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी प्रमुख रोशनीलक्ष्मी तुईतुईले सरकारले गरेका कामहरुको जानकारी दिएकी छिन्। कार्यक्रम पूर्वमिस नेपाल सुगारिका केसीले सञ्चालन गरेकी थिइन्। प्रस्तुत छ, अन्तरक्रियामा सहभागीले व्यक्त गरेका धारणाः

मनिषा कोइराला, अभिनेत्री

मेरो अनुभवमा क्यान्सर भनेको निकै डर लाग्दो रोग रहेछ। किनभने यो रोगको निदान हुन गाह्रो छ। उपचार भएपनि मानिस बाँच्छ बाँच्दैन भन्ने हुन्छ। क्यान्सर भन्ने बित्तिकै मृत्यु निश्चित छ भन्ने धेरैलाई लाग्छ। तर, क्यान्सरको राम्रोसँग उपचार गर्‍यो र डरलाई जित्न सकियो भने धेरै कुरा सिकिन्छ। क्यान्सरले मलाई चाहिँ जीवन र स्वास्थ्यको महत्व बुझाइदियो।

क्यान्सर रोग लाग्दा र उपचारपछिको मेरो अनुभवले के भन्छ भने आफूले सकेसम्म राम्रो प्रयास गर्ने हो। राम्रो डाक्टर, राम्रो उपचारको पहुँचका लागि प्रयास गर्ने हो। जीवनशैली सुधार्न प्रयास गर्ने हो। किनभने नसर्ने रोगहरु मानिसको जीवनशैलीसँग जोडिएको रहेछ। यी सबलाई बुझ्दै गएपछि आफ्नो शरीरलाई पनि बुझ्दै गएँ।

जीवनशैलीलाई सुधार्दै पनि गएँ। के कुराले मलाई तनाव दिन्छ र के कुराले खुशी दिन्छ त्यो कुरा पनि बुझ्दै गएँ। किनभने तनाव र खुशी दिने कुराहरु व्यक्तिगत रुपमा फरक हुन सक्छ। त्यसैले आफ्नो जीवनलाई एउटा राम्रो बाटोमा लैजाने प्रयास गर्नुपर्छ।

सकेसम्म आफ्नो लागि राम्रो कदम चाल्नुपर्छ। तर, कतिपय कुराहरु भाग्य र भगवानको भरमा पनि छोड्नु पर्ने रहेछ भन्ने मेरो विश्वास छ। किनभने हामी मनुष्यले क्षमताले भ्याएसम्म गर्नुपर्छ। त्यसपछि भाग्य र भगवानको भरमा पनि छोड्नु पर्ने रहेछ भन्ने पहिलो सन्देश म दिन चाहन्छु।

दोस्रो, मेरो नियन्त्रणमा जे छ म त्यसलाई मात्र सपार्न सक्छु। तर, जे कुरा मेरो नियन्त्रणमा छैन, म त्यसलाई त सपार्न सक्दिनँ। मैले नियन्त्रण गर्न सक्ने भनेको मेरो जीवनशैली हो। जीवनशैली जीउने पनि सबैको आ–आफ्नै तरिका र परिभाषा हुन्छ। सन्तुलित, खुशी, शान्त, स्वस्थ जीवनशैलीतर्फ हामी केन्द्रित भयौं भने सकिँदो पनि रहेछ।

समाजमा मानिसलाई दुःखी बनाउने कुराहरु छन् भने प्रेरणा दिने कुराहरु पनि छन्। जब मलाई क्यान्सर भयो मैले धेरै समाचार गुगलमा सर्च गरेँ। त्यहाँ धेरै किसिमका राम्रा नराम्रा समाचारहरु देखेँ। तर, कसले कसरी क्यान्सर जित्यो भन्ने समाचारमै मेरो मुख्य ध्यान केन्द्रित हुन्थ्यो।

सकारात्मक समाचारहरु मात्र हेर्ने गर्थे। किनभने मलाई उत्प्रेरित हुनु थियो। रोगसँग जित्नु थियो। त्यसैले मैले नकारात्मक कुरालाई प्राथमिकता दिन्नथिएँ। अहिले सोच्दा मलाई लाग्छ, यी सब कुराले मलाई क्यान्सर जित्नमा निकै सहयोग पनि गर्‍यो।

क्यान्सरको क्षेत्रमा के गर्ने भन्ने विषयमा ठ्याक्कै यही नै गर्छु भन्ने योजना बनाइसकेको छैन। तर, सरकारलाई विभिन्न माध्यमबाट सहयोग गर्ने मेरो चाहना छ। तल्लो तहका मानिसले पनि उपचार पाउने प्रणालीको व्यवस्था गर्नुपर्छ। त्यसका लागि हामी सबैको प्रयास हुनुपर्छ जस्तो मलाई लाग्छ।

श्रृखंला खतिवडा, पूर्व मिस नेपाल

मिस नेपाल भइसकेपछि सबैले विभिन्न क्षेत्रमा काम गरिरहनु भएको छ। कसैले आगो पीडित, कसैले एलजीबिटिआईक्यु समुदायको लागि त कसैले पूरा गाउँको लागि काम गरिरहनु भएको छ। त्यसैले सबैले आ–आफ्नो ठाउँबाट प्रयास गरिरहनु भएकै थियो।

हामी संगठित भयौं भने त झन् बलियो हुन्छौं भन्ने सोचेर करिब डेढ वर्षअघि फर्मर मिस नेपाल क्लबको सुरुवात ग¥यौं। यो एक वर्षको क्रममा हामीले धेरै कामहरु गरेका छौँ। संगठित भएर काम गर्‍यौं भने छिटो पुगिँदो रहेछ भन्ने हामीलाई महसुस भयो।

क्यान्सर नै किन भन्ने प्रश्नमा चाहिँ सबैको परिवारमा कुनै समय कसैलाई क्यान्सरको पीडा भएकै पाउँछौं। कतिपय त अझै पनि क्यान्सरसँग लडिरहनु भएको छ। तर, समाजमा क्यान्सर सम्बन्धी जनचेतना निकै कम भएको हामी पायौं। समाजमा सचेतनाको स्तर बढाउनका लागि हाम्रो संगठित आवाज काम लाग्न सक्छ भन्ने सोचाइका साथ यो वर्ष हामीले क्यान्सरलाई छनोट गरेका हौं।

यो क्लबले क्यान्सर सम्बन्धी जनचेतना जगाउनका लागि काम गर्दै जानेछ। नीति तथा अभावका कुरामा हामीले के कसरी सहयोग गर्न सक्छौं, त्यसका लागि हामी छलफल गर्नेछौं। अहिलेको तीन चार महिनाका लागि मात्र नभई आगामी दिनमा पनि यी कार्यक्रमहरु बढाउँदै लैजानेछौं। हामी संगठित भएर लागेको डेढ वर्ष भयो। हामीले पहिलो कार्यक्रम महिनावारी सरसफाई सम्बन्धी गरेका थियौं। मितिनी समाजसँग मिलेर हामीले यो कार्यक्रम काठमाडौंमा गरेका थियौं। यो कार्यक्रम सफल भएपछि हामीलाई ऊर्जा मिलेको थियो। त्यसपछि हामीले दोस्रो कार्यक्रम पोखरामा गरेका थियौं। पोखरामा युवाहरुका लागि मोटिभेसनल कार्यक्रमको आयोजना गर्‍यौं।

त्यसपछि कोभिडको महामारी आयो। तर, हामीले महामारीको यो समयमा पनि सक्ने योगदान गरेका छौं। हामीले आफैं विभिन्न फण्ड संकलन ग¥यौं। र, आफ्नो स्रोतको प्रयोग गरेर राहत वितरणदेखि सेनेटरी प्याड अनि पिपिई सेट सुदूरपश्चिमसम्म पनि पठायौं।

लकडाउन सकिएपछि हामीले राम्रो तर, हामीले प्रयोग नगरेका कपडा तथा जुत्ताहरु दोहोरन भन्ने पेजमार्फत् सहकार्य गरेर बिक्री गर्ने कार्यक्रम पनि गर्‍यौं। त्यसबाट संकलन भएका रकमलाई हामीले हर्टबिट फाउण्डेशनलाई हस्तान्तरण ग¥यौं। जसमा ग्रामीण तहका उद्यमी महिलाहरुलाई ठेला जस्ता सामानहरु सहयोग गरेर उनीहरुको उद्यमशीलतालाई विकास गर्ने प्रयास गर्‍यौं।

हाम्रो पाँचौं अभियान अन्तर्गत तिलगंगा आँखा अस्पतालसँग सहकार्य गरेर आँखा र छाला दानको जनचेतना बढाउनका निम्ति काम पनि गर्‍यौं। अहिले भने हामीले क्यान्सरको क्षेत्रमा जनचेतना बढाउने प्रयास गरिरहेका छौं। अब हेरौँ, यो क्षेत्रमा हामीले सक्दो राम्रो गर्ने छौँ।

रोशनीलक्ष्मी तुईतुई
निर्देशक, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा

अहिले हामी राष्ट्रिय स्वास्थ्य नीति २०७६ मा पुगेका छौँ। यो नीति अन्तर्गत विभिन्न रणनीति र कार्य योजनाहरु छन्। यो नीतिमा क्यान्सर सम्बन्धीका व्यवस्था भन्नु पर्दा रोकथाम, छिटो निदान गर्न स्क्रीनिङ त्यसपछि उपचार र उपचारसँग सँगै प्लालेटिभ छ।

रोकथामको पाटोलाई हेर्दा सुर्तिजन्य पदार्थ नियन्त्रण गर्ने रणनीति छ। सुर्तिजन्य पदार्थ र चुरोटबाट मुख्य गरी क्यान्सर हुने हो। क्यान्सर नहोस् भन्नका लागि यसको प्रयोगकर्तालाई घटाउनुप¥यो। त्यसैले सुर्तिजन्य पदार्थको प्याकिङमा ९० प्रतिशत चेतावनीमूलक सन्देश राख्ने व्यवस्था गरिएको छ। तर यसको कार्यान्वयनका लागि हामी सरोकारवाला निकाय सबै लाग्नुपर्छ। मुख्य कुरा क्यान्सर गराउन सक्ने मुख्य कारक तत्वलाई हामीले रोक्न सक्नुपर्छ।

दोस्रो भनेको स्वस्थकर जीवनशेली हो। किनभने अस्वस्थकर जीवनशैलीका कारण क्यान्सरको जोखिम बढीरहेको छ। त्यसैले सानै उमेरदेखि स्वस्थकर जीवनशैली अवलम्बन गर्नुपर्छ।

स्क्रिनीङ अन्तर्गत हाम्रो रोग विशेष अनुसार धेरै कार्यक्रमहरु छन्। पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक पहिचानका लागि भिआईए सबै स्वास्थ्य संस्थाबाट लागु गर्ने भनेर सबै स्वास्थ्यकर्मीहरुलाई तालिम दिइसकेको छ। अब चाँडै नै सबै स्वास्थ्यबाट यो लागु हुन्छ।

सर्भाइकल क्यान्सरको लागि कल्पोस्कोपी छ। यो १० वटा स्वास्थ्य संस्थाबाट सुरु हुँदैछ। महिलामा हुने अर्को आम क्यान्सर भनेको स्तन क्यान्सर हो। यो क्यान्सर थाहा पाउने सजिलो तरिका भनेको आफैँले आफ्नो स्तन जाँच गर्ने हो। प्रत्येक महिना महिनावारी भएको चौथौँ दिनमा नुहाउने बेलामा स्तनलाई चार भाग गरेर हातले स्तन जाँच गर्ने। स्तनमा कुनै गाठागुठी छ की वा कुनै परिवर्तन आएको छ भनेर जाँच गर्नुपर्छ।

सुर्तिजन्य पदार्थ बढी खाने मानिसमा ओरल क्यान्सर बढी हुन्छ। यसमा समयमै हेरचाह गर्ने र लामो समयदेखि कुनै घाउ भएको छ भने तुरुन्त उपचार गर्नुपर्छ। यो पाटोहरु भनेको हाम्रो अर्ली स्क्रिनिङको पाटोहरु हुन्।

यो सबै पाटोलाई एकै ठाउँमा ल्याउन सरकारले नेशनल एक्सन प्लान फर कन्ट्रोल अफ नन कम्युनिकेशल डिजिज बनाएको छ। नसर्ने रोगहरुलाई नियन्त्रण गर्न एक्सन प्लान बनाइएको छ, जुन २००६ देखि २०२२ सम्मको थियो। त्यो अहिले सकेर २०२१ देखि २०२५ सम्मको बनेको छ। यो क्यान्सर सहित अन्य रोग नियन्त्रण गर्न बनेको एक्सन प्लान हो।
तेस्रो पक्ष भनेको उपचार हो। क्यान्सर अस्पताल अहिले नेपालको सात वटै प्रदेशमा छ। ती अस्पतालहरुमा किमोथेरापी, रेडियोथेरापी, सर्जरी र इम्युनोथेरापी भइरहेको छ। अर्को भनेको आफ्नो पैसा खर्च गर्न नसक्ने विपन्न नागरिकका लागि २३ वटा अस्पतालहरु सुचीकृत छ। विपन्न नागरिकका लागि १ लाख बराबरको रुपैयाँ सरकारले सहुलियत दिएको छ। यसमा पनि प्रदेश १ मा ३ वटा अस्पताल, प्रदेश २ मा हालसम्म कुनै अस्पताल सूचीकृत छैन। सबैभन्दा धेरै बागमती प्रदेशमा १८ वटा अस्पतालहरु सूचीकृत छ। गण्डकी प्रदेशमा २, लुम्बिनीमा १ वटा, कर्णाली प्रदेशमा १ वटा छ भने सुदूरपश्चिम प्रदेशमा हालसम्म छैन।

आर्थिक अभावका कारण उपचारबाट बञ्चित नहोस् भन्नका लागि बिपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत २०६७ सालबाट यो लागु भएको हो। यो कार्यक्रम नियमित रुपमा अघि बढीरहेको छ।

यो कार्यक्रम अन्तर्गत आठ वटा कडा रोगहरु पर्छन्। जसमध्ये पनि एक प्रमुख रोग हो। कुल बिरामीमध्ये ४८ प्रतिशत बिरामी क्यान्सरका छन्। यसमा आउने बजेटको ३६ प्रतिशत बजेट क्यान्सरको लागि हुन्छ।

यदी क्यान्सर प्रारम्भिक चरणमै निदान भए यसको उपचार हुन्छ र राज्यले लगानी गरे अनुसारको फाइदाहरु आउँछ। लास्ट स्टेजमा बिरामीलाई प्लालेटिभ केयरको आवश्यक पर्छ। धेरैजसो चिकित्सक र स्वास्थ्यकर्मीलाई नै प्लालेटिभ केयरको बारेमा थाहा नहुन सक्छ। त्यसैले हामीले प्लालेटिभ केयरको ट्रेनिङहरु पनि सञ्चालन गरिरहेका छौँ। सरकारले एक लाख बराबरको सुविधाको व्यवस्था गरेको छ। त्यसमा बागमती प्रदेशले थप ५० हजारको सेवा सुविधा दिएको छ। जसले गर्दा आर्थिक अभावका कारण उपचारबाट बञ्चित हुने अवस्था कम भएको छ।

सरकारले बनाएको नीति तथा कार्य व्यवस्था कार्यान्वयनमा चुनौती चुनौतीसँगै मौका पनि छ। पैसा ठूलो चुनौती होइन। यसभित्र धेरै कुराहरु छन्। म यो चुनौतीलाई तीन तहमा विश्लेषण गर्न चाहन्छु। एक, रोकथाम। दुई, तथ्यांक र तेस्रो उपचार।

पहिलो चुनौती भनेको हामी व्यक्तिबाटै सुरु हुन्छ। हामी सबैलाई थाहा छ, स्वस्थकर जीवनशैली अपनाउनुपर्छ। रक्सी, चुरोट खानु हँदैन भन्ने थाहा छ। तर, के हामीले सुधार गरेका छौं त ?

त्यसैले आजबाट यी कुराहरु छोड्छु अनि स्वस्थकर जीवनशैली अपनाउँछु भनेर प्रण गरौं। स्वस्थकर जीवनशैली सुरु गर्नका लागि विद्यालय तहबाटै सुरु गरौं। यसका लागि म फर्मर मिस नेपाल क्बललाई पनि आग्रह गर्दछु। साना बालबालिकाहरुलाई हामीले यसका बारे बुझाउन सक्यौं भने उसले जीवनभर लागू गर्न सक्छ।

दोस्रो, नेशनल टोबाको कन्ट्रोल स्ट्राटेजी छ। चुरोट, सुर्तिजन्य पदार्थ र मदिरा सेवन नगरौं भनेर भनेर स्पष्ट लेखिएको छ। यी सब कुरा छोड्यौं भने कम्पनी त आफैं बन्द हुन्छ नि। यसलाई स्वास्थ्य मन्त्रालयले पनि नियन्त्रण गर्न सक्दैन। यसमा गृह मन्त्रालय, उद्योग मन्त्रालय, शिक्षा मन्त्रालय पनि चाहिन्छ। यसमा सबैको समन्वयकारी भूमिका हुनुपर्छ।

हाम्रो नेपालीमा समाजमा अझै पनि कोही आउने बित्तिकै चुरोट अनि रक्सी दिने चलन छ। म नेवारी समुदायबाट छु। नेवारी समुदायमा सगुनका रुपमा एकातिर अण्डा हुन्छ अर्कोतिर रक्सी हुन्छ। अनि, विभिन्न रोगहरु त्यहीँबाट सुरु हुन्छ।
क्यान्सर रोकथामका लागि स्वास्थ्य मन्त्रालयले तत्काल उठाउनुपर्ने तीन वटा कदमहरुमध्ये पहिलो भनेको व्यक्तिगत रुपमा मैले माथि भने जसरी जानुपर्छ। अर्को भनेको हामी तथ्यांकगत रुपमा पनि जानु पर्छ। किनभने हामीसँग यकिन तथ्यांक छैन। अस्पतालमा राखिएका केही तथ्यांक बाहेक जनसंख्याको आधारमा यकिन तथ्यांक छैन। कुन ठाउँमा कति र कस्तो खालको क्यान्सर छ भनेर यकिन तथ्यांक हामीसँग छैन।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले २०१८ मा पपुलेसन बेस्ड क्यान्सर दर्ता गरेको छ। तर, यो नौ वटा जिल्लामा मात्र गरेको छ। यसले अलिकति फिगर त दियो तर, नेपालभरीको यकिन तथ्यांक भएन।

तेस्रो, उपचारको पक्ष हो। नेपालभर क्यान्सर उपचार त छ। तर, रेडियोथेरापी एकदम थोरै छ र अधिकाशंजसो बागमती प्रदेशमकै केन्द्रित छ। उपचारभन्दा पनि अप्रत्यक्ष रुपमा धेरै खर्चिलो मात्र भएको छ। त्यसैले यो सबै एक ठाउँमा मात्र केन्द्रित नभई सबै ठाउँमा हुनुप¥यो। किमोथेरापी ठीक छ। तर, रेडियोथेरापी र सर्जरी सेवा एकदमै कम छ। जुन चाहिँ एकदमै महत्वपूर्ण छ। तर, सबै सेवा काठमाडौंमा केन्द्रित भएको छ। सरकारले यसका लागि सहजीकरण पनि गरिरहेको छ। कर्णाली प्रदेश र प्रदेश २ मा मेडिकल कलेज या अरु अस्पताल खोल्नका लागि सरकारले विभिन्न सहुलियत दिएको छ।

विपन्न नागरिक उपचार कार्यक्रम अन्तर्गत आठ वटामध्ये एउटा क्यान्सर रोग हो। गत वर्ष करिब २२ हजार नयाँ बिरामीहरुले यसबाट सेवा लिए। जसमध्ये क्यान्सरका मात्र ११ हजार थिए। त्यसमा पनि अधिकांशजसो बागमती प्रदेशको देखियो। प्रदेश २ र सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म पनि एउटा अस्पताल सूचीकृत भएको छैन। त्यसो भए यी प्रदेशका मानिसहरुलाई क्यान्सर नलाग्ने हो त ?

उहाँहरुले त्यही ठाउँमा उपचार पाउनु भयो भने त अप्रत्यक्ष रुपमा हुने खर्च घट्थ्यो। नीजिले पनि ती क्षेत्रहरुमा अस्पताल खोल्नुपर्छ। सरकारी अस्पतालहरुमा अंकोलोजी सर्भिसहरु विस्तार भइरहेको छ। नेपाल सरकारको छात्रवृत्तिमा पढ्नु भएका एमडी, डिएम सबैलाई दुर्गममा खटाइरहेको छ। किनकी त्यहाँको जनताले पनि समान रुपमा सेवा पाओस् भनेर हो। सरकारले गर्नुपर्ने धेरै कामहरु अघि बढेका छन्।

नेशनल क्यान्सर कन्ट्रोल स्ट्राटेजी (राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति) बन्ने योजनामा छ। यसभित्र माथि भनिएका सबै कुराहरु समावेश हुन्छन्। क्यान्सरको उपचार भन्ने बित्तिकै चिकित्सक, नर्स भनेर मात्र बुझ्छौं। तर, त्यस्तो होइन। किनभने यो टिमवर्क हो। २०७४ सालबाट सुरु भएको मेरो स्वास्थ्य, मेरो जिम्मेवारी भन्ने पाँच प्रतिवद्धता सबैले पूरा गर्नुपर्छ। मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने एप छ, त्यसबाट पनि हामी स्वास्थ्यप्रति कत्तिको संवेदनशील छौं भन्ने कुरा थाहा पाउन सक्छौं।

विपन्न नागरिक उपचार कार्यक्रमको रकम थोरै भयो भन्ने धेरै गुनासो आइरहेको छ। बच्चामा लाग्ने क्यान्सर, स्तन र सर्भाइकल क्यान्सर भनेको निको हुने क्यान्सर हो। अहिलेको एक लाख रकममा अझै थप दुई लाख थप्ने हो भने यो क्यान्सर पूरै निको हुन्छ। किनभने धेरैले सरकारले दिने एक लाखको औषधि उपचारसम्म गर्छन्, बाँकी पैसा नभएर यत्तिकै छोड्ने पनि हुन्छन्।

सुर्तिजन्य र चुरोटबाट आउने कर कोष छ। यो कोषलाई अझै पनि प्रभावकारी रुपमा उपयोग गर्नुपर्छ। अहिले पनि भइरहेको छ। तर, यो कोषलाई रोकथामदेखि लिएर औषधि र उपचारका लागि राम्रोसँग उपयोग गर्न सक्यौं भने धेरै रुपमा नियन्त्रणमा जान सकिन्छ।

डा रश्मी पुन, क्यान्सर रोग विशेषज्ञ

क्यान्सर विभिन्न थरिका हुन्छन्। क्यान्सर रोगहरुको समूह नै हो। क्यान्सर शरीरको विभिन्न अंगहरुमा हुने भएकाले यसलाई जटिल रोगको रुपमा लिइन्छ। हाम्रो शरीरमा करोडौं कोष तथा कोषिकाहरु हुन्छन्। सामान्यतयाः शरीरका कोष तथा कोषिकाहरु मर्ने र नयाँ उत्पादन हुने क्रम चलिरहन्छ। तर, कुनै पनि कारणले कोष तथा कोषिकाहरु म्युटेसन भयो भने उनीहरु नष्ट हुनै बिर्सिन्छन्। जसले गर्दा हाम्रो शरीरमा अनियन्त्रित रुपमा कोषिकाहरु बढ्दै जान्छ। कोषिकाहरु धेरै हुँदा शरीरका विभिन्न अंगहरुमा सा–साना गिर्खाहरु आउन थाल्छ। त्यसलाई हामी ट्युमर भन्छौं। ट्युमर बेनाइन (नन क्यान्सरस) र म्यालिग्न्यान्ट (क्यान्सरस) गरी दुई किसिमका हुन्छन्।

बेनाइन ट्युमर खासै हानिकारक हुँदैन। त्यो छिटो छिटो सर्ने वा फैलिने पनि हुँदैन। क्यान्सरमा परिणत पनि हुँदैन। तर, यालिग्न्यान्ट ट्युमर हानिकारका हुन्छ। यो एक ठाँउदेखि अर्को ठाउँमा रगतको माध्यमबाट सजिलै फैलिन्छ।

क्यान्सर हुने कारणहरु विभिन्न छन्। विभिन्न कारणले डिएनएमा म्युटेसन हुँदा क्यान्सर हुने सम्भावना हुन्छ। यो म्युटेसनहरु केही जन्मजात नै हुन्छ। त्यसलाई हामी वंशागुणत म्युटेसन भन्छौं। यदि, परिवारमा कसैलाई क्यान्सर छ भने उनीहरुको सन्ततीमा क्यान्सर हुने सम्भावना हुन्छ।

यस्तै, जीवनशैलीका कारण पनि क्यान्सर हुने सम्भावना हुन्छ। धुम्रपान गर्ने बानी, मोटोपना, चिल्लो तथा बोसोयुक्त खाने कुरा, रेडियसन, भाइरल इन्फेक्सन, हेपटाइटिस बी, ह्युमन प्यापिलोमा भाइरसहरुले गर्दा पनि लिभर क्यान्सर, पाठेघरको मुखको क्यान्सर हुने सम्भावना हुन्छ। यस्तै, कुनै पनि हर्मोनल उपचारको कारण पनि क्यान्सर हुन सक्छ।

क्यान्सर विभिन्न अंगहरुमा हुने भएकाले यसको विभिन्न लक्षण हुन्छन्। सामान्यतया निको नहुने खोकी लाग्ने, आवाजमा परिवर्तन, विना कारण मानिस दुब्लाउने, खान मन नलाग्ने, थकान महसुस हुने, कोठीहरुको आकार परिवर्तन हुने, रौं देखा पर्नु, चिलाउनु, शरीरमा निको नहुने घाउ आउनु, गिर्खाहरु आउनु, स्तन, काँखीमुनि गाँठागुठी आउनु, पाचन क्रियामा परिवर्तन हुने, खाना नपच्ने, पेट डम्म हुने, रक्तश्राव हुने, स्तनमा रगत बग्ने समस्या देखिनु लक्षण क्यान्सरको लक्षण हो। यस्तै, दिसा–पिसाबमा परिवर्तन हुने, दिसा– पिसाबमा रगत देखिनु क्यान्सरको लक्षण हो। यस्तो लक्षण केही समयदेखि वा महिना दिनसम्म देखिएको छ र यो लक्षण नयाँ छ भने चिकित्सक वा क्यान्सर रोग विशेषज्ञलाई भेटेर परामर्श लिनुपर्छ। क्यान्सर रोग लक्षण नै नभएपनि देखिन सक्छ, त्यसैले क्यान्सर रोगको जोखिम समूहमा छन् भने पनि समय समयमा स्वास्थ्य परीक्षण गराउनु पर्छ।

धेरै नेपालीहरु ग्यास्टाइटिसको समस्या भयो भने ग्यास्टाइटिसको उपचार मात्र गराइरहेका हुनछन्। तर, त्यस्ता बिरामीमा पनि पेटको आन्द्राको क्यान्सर भइरहेको हुन्छ। त्यसैले क्यान्सरको लक्षणहरु देखियो भने सकेसम्म क्यान्सर रोग विशेषज्ञकोमा परीक्षण गर्न जानुपर्छ।

क्यान्सरले कसैलाई पनि छोड्दैन। क्यान्सरले कुनैपनि जात वा वर्ग भन्दैन। तथ्यांकले पनि ३९ दशमलव ५ प्रतिशत महिला तथा पुरुषमा क्यान्सर हुनसक्छ भनेको छ। त्यसैले हामीमध्ये जो कोहीलाई पनि क्यान्सर लाग्न सक्छ।

यो रोगबाट बच्न, यो रोगको लक्षणबारे सचेत हुनुपर्छ। शरीरले कुनै पनि संकेत दिनसक्ने भएकाले शरीरले कुनै संकेत गरेको छ भने त्यसबारे पनि सचेत हुनुपर्छ। सुर्तिजन्य पदार्थ, मदिरा सेवन गर्नु भएन। मोटोपना हटाउनुपर्छ। शरीरलाई फिट राख्नुपर्छ। खानपानमा विशेष ध्यान दिनुपर्छ।

घाममा जाँदा पनि आफूलाई घामको कारण हुने विकिरणबाट बचाउनुपर्छ।

भाइरल इन्फेक्सनबाट पनि क्यान्सर हुने भएकाले हेपटाइटिस बी र ह्युमन प्यापिलोमा भाइरसको भ्याक्सिन लगाउनुपर्छ। यस्तै, रोग देखिनुअघि नै क्यान्सर पत्ता लगाउने स्क्रिनिङ विधि अपनाउनुपर्छ। यदि, क्यान्सर सुरुवाती चरणमै पत्ता लाग्यो भने निको पार्न सकिन्छ।

डा सन्ध्या चापागाईं, क्यान्सर रोग विशेषज्ञ

नेपालमा हरेक वर्ष नयाँ क्यान्सरका बिरामीहरु १८ देखि २० हजारको हाराहारीमा पत्ता लाग्ने गरेका छन्। हरेक वर्ष १३ देखि १४ हजारको हाराहारीमा क्यान्सरका बिरामीको मृत्यु भइरहेको छ। नयाँ क्यान्सर रोगी र मृत्युदरको धेरै फरक छैन। यसले गर्दा के बुझ्नुपर्छ भने क्यान्सरका बिरामीहरु ढिलो उपचारमा आउँदा उहाँहरुको उपचार गर्न सम्भव भएन। कतिपय बिरामीहरु उपचारमै आउनु भएन भन्ने आंकलन पनि गर्न सकिन्छ।

नसर्ने रोगहरुको तथ्यांक हेर्दा पनि नेपालमा नसर्ने रोगहरुको चौंथो नम्बरमा क्यान्सर पर्छ। यसको अर्थ क्यान्सर रोगको अवस्था भयावह नै छ। ग्लोबल वर्डन अफ डिजिज स्टिमेटको सन् २०२० को तथ्यांकले विश्वभरी नै मानिसको मृत्यु हुने रोगहरुमा दोस्रो कारण क्यान्सर भनेको छ भने नेपालमा क्यान्सर रोग मानिसको मृत्युको पाँचौें कारणमा पर्छ। त्यसैले गर्दा विश्वव्यापी क्यान्सर रोग जनस्वाास्थ्य समस्याको रुपमा देखिएको छ।

नेपालमा फोक्सोको क्यान्सर एक नम्बरमा छ। यो क्यान्सर महिला र पुरुष दुवैमा छ। दोस्रो नम्बरमा पुरुषहरुमा खाने नलिहरुमा हुने क्यान्सर पर्छ भने महिलाहरुमा पाठेघरको मुखको क्यान्सर र स्नत क्यान्सर दोस्रो नम्बरमा पर्छ।

क्यान्सर उपचार आफैंमा चुनौतीपूर्ण उपचार हो। यसमा धेरै विशेषज्ञ चिकित्सकको सहभागिता हुन्छ। जस्तै, सर्जरी, रेडियोथेरापी, किमोथेरापी, प्याथोलोजी, रेडियोलोजी आदि हुन्छ।

टेक्नोलोजीको कुरा गर्दा रेडियोथेरापी अर्थात् विकिरणले उपचार विधि हुन्छ। कुनैपनि बिरामीले उपचारको क्रममा ७० प्रतिशतले रेडियसन लिएको हुन्छ। त्यसैले रेडियसन मेसिन क्यान्सरको उपचारमा महत्वपूर्ण हुन्छ। विश्व स्वास्थ्य संगठनको तथ्यांकले के भन्छ भन्दा हरेक एक मिलियन जनसंख्याको लागि एउटा रेडियसन मेसिन आधारभूत उपचारको लागि अति आवश्यक हो। तर, हाम्रो देशमा ७ वटा रेडियसन मेसिन संचालित छन्।

हाम्रो देशमा अहिले ३० मिलियन जनसंख्या छ। सामान्य हिसाब गर्दा पनि ३० वटा मेसिन आवश्यक पर्छ। यदि रेडियसन मेसिन पर्याप्त भयो भने मुखको क्यान्सरको बिरामी उपचारका लागि आउँदा सिधै रेडियसन थेरापी गराउन सकिन्छ। तर, अहिले कम मेसिन हुँदा बिरामी उपचार गर्न आयो भने तीन महिना त पालो नै कुर्नुपर्छ। यसले गर्दा आज आएको बिरामीको तीन महिनासम्म क्यान्सर फैलिन सक्छ। सरकारले चाहने हो भने बिरामीले पालो कुर्ने अवस्थाको अन्त्य गर्न सकिन्छ।

अर्को पाटो भनेको किमोथेरापीको हो। किमोथेरापीको लागि पनि बजारमा उपलब्धता नै नहुने समस्या भइरहन्छ। सर्जरीको समस्या अहिले धेरै हल भइसकेको छ। अर्को प्यालिटिभ र रियाभिलिटीको कुरा छ। हाम्रोमा बिरामीहरु रोग फैलिसकेको अवस्थामा उपचारका लागि आइपुगेका हुन्छन्। क्यान्सरका बिरामीलाई गुणस्तरीय जीवन दिन, सपोटिभ उपचार गर्न प्यालेटिभ केयरको आवश्यकता छ।

हरेक दिन ओपीडीमा बसेर बिरामी हेर्दै गर्दा नयाँ बिरामी पत्ता लागेपछि बिरामीको कहिलेदेखि उपचार गर्ने भनेर योजना बनाइन्छ। तर, कोही बिरामी मुगु, रोल्पा, डोल्पाबाट आएका हुन्छन्। ती बिरामीको उपचारको कुरा त छँदैछ, त्योसँगै कहाँ बस्ने ? बिरामी कुरुवा कति जना बस्ने ? भनेर आर्थिक र मानसिक भार थपिन्छ। हामी भन्छौं, क्यान्सरका बिरामीले तनाव लिनु हुँदैन, यसले क्यान्सरको उपचारमा नकारात्मक असर गर्छ। तर, त्यो बिरामीलाई आर्थिक भार र तनाव थपिएको छ। त्यसैले गर्दा सरकारले क्यान्सरका बिरामीको अवस्थालाई बुझ्नसक्नुपर्छ।

हामी क्यान्सर रोगको विषयमा क्यान्सर दिवसको दिनमा मात्र छलफल गरीरहेका हुन्छौं। क्यान्सरको क्षेत्रमा काम गरीरहेका सबै स्वास्थ्यकर्मीको एउटै आवाज छ– हामीलाई क्यान्सर नियन्त्रण र नियमन गर्न राष्ट्रिय रणनीति आवश्यक छ। हाम्रो देशमा क्यान्सर कन्ट्रोल रणनीति नै छैन। हामीलाई यस्तो क्यान्सर कन्ट्रोल रणनीति आवश्यक छ। क्यान्सर फैलिन नदिन, क्यान्सरबारे सचेतना जगाउन, उपचार गर्न, क्यान्सर प्रभावितको व्यवस्थापन गर्न, क्यान्सरको क्षेत्रमा काम गर्ने जनशक्ति व्यवस्थापन गर्न, क्यान्सरको उपचार गर्ने जनशक्ति उत्पादन गर्न सहयोग पुग्ने रणनीती आवश्यक छ।

Facebook Comments Box