महेन्द्रनगर (धनुषा), ६ माघः वरिष्ठ स्त्रीरोग विशेषज्ञ प्राध्यापक डा रामनरेश पण्डितलाई मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्ष (रेक्टर) पदमा नियुक्त गरिएको छ ।
प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा अङ्कुर साहको सिफारिसमा प्रतिष्ठानका सहकुलपति एवम् मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले पण्डितलाई उक्त पदमा नियुक्त गर्नुभएको हो ।
चिकित्साशास्त्रमा २३ वर्ष बिताउनुभएका पण्डित वरिष्ठ स्त्रीरोग विशेषज्ञका रुपमा परिचित हुनुहुन्छ । उहाँले आजै पदभार ग्रहण गर्नुभएको छ ।
यसअघि प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशकको जिम्मेवारी सम्हालिसक्नुभएका उहाँको कार्यकाल पाँच वर्षको रहनेछ । प्रतिष्ठानमा लामो समयदेखि शिक्षाध्यक्ष पद रिक्त रहेको थियो । पण्डितको नियुक्तिपछि अब प्रतिष्ठानको शैक्षिक कार्यमा सुधारको अपेक्षा गरिएको छ ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसै वर्षदेखि एमबिबिएस पढाइ सुरु भएको छ । पहिलेदेखि नै चिकित्सा विज्ञानका चार विभिन्न विषयमा स्नातक तथा स्नातकोत्तरको पठनपाठन हुँदै आएको छ ।