ब्राजिलमा विगत दुई दशकको तुलनामा हालैका वर्षहरूमा जलवायु प्रकोपमा वृद्धि भएको नयाँ अध्ययनले देखाएको छ ।
ब्राजिल सरकार र युनेस्कोको सहयोगमा ब्राजिलियन एलायन्स फर ओशन लिटरेसीले तयार पारेको प्रतिवेदनमा भनिएको छ, “हालैका दशकहरूमा जलवायु प्रकोपहरू तीव्र भएका छन्, जसले जलवायु परिवर्तनको प्रभावलाई झल्काउँछ ।”
फेडरल युनिभर्सिटी अफ साओ पाउलोको अनुसन्धान शाखाद्वारा शुक्रबार जारी गरिएको उक्त अध्ययनले सन् २०२० देखि सन् २०२३ सम्मको चार वर्षमा ब्राजिलको सरकारी तथ्याङ्कले वार्षिक औसत चार हजार ७७ जलवायु सम्बन्धी प्रकोप देखाएको बताएको छ ।
यो सन् २००० देखि सन् २०१९ सम्मको दुई दशकमा औसतमा वार्षिक रूपमा दर्ता भएका दुई हजार ७३ प्रकोपको झण्डै दोब्बर थियो ।
रिपोर्टले यसलाई डरलाग्दो परिदृश्यको रूपमा वर्णन गरेको छ । यसरी वर्गीकरण गरिएका प्रकोपहरूमा खडेरी, बाढी, हिंसक आँधी, चरम तापक्रम, चक्रवात, पहिरो, भूकम्प र सुनामी पर्दछन् ।
उक्त अध्ययनले देशमा भोग्नुपरेको जलवायु प्रकोप र समुन्द्री सतहको तापक्रममा वृद्धिबीचको सम्बन्ध देखाएको छ ।