माधव बानियाँ
पत्रकारलाई हरेक प्रजातान्त्रिक राज्यले राज्यको चौंथो अङ्गको रुपमा परिभाषित गर्दछन् र पत्रकारले लेखाई, बोलाई वा अभिब्यक्तिको माध्यमद्वारा समाजमा सकारात्मक परिवर्तनको लागि समाजलाई उत्प्रेरित गर्दछन्। यसरी पत्रकारले शुद्धता, सन्तुलन, विश्वसनियता, शिष्टता नैतिकता र स्वच्छता अपनाई पत्रकारिता गर्नुपर्ने हुन्छ । पत्रकारिताको बिभिन्न स्वरुप, छापा, रेडियो, अनलाइन र फोटो पत्रकारिता मध्ये हिजोआज टेलिभिजन पत्रकारिताको ब्यापकता संसारभरि नै रहेको छ । श्रब्य र दृष्य दुबै भएको कारण टेलिभिजन मिडियाले ब्यापकता पाउदैं गयो । टेलिभिजनको आविष्कार सन १९२६ मा भएपनि टेलिभिजन पत्रकारिता भने दोस्रो विश्वयुद्ध पछि मात्र फस्टाएको हो । नेपालमा भने बि.सं २०४२ सालमा नेपाल टेलिभिजनको स्थापना भएपछि नेपालमा टेलिभिजन पत्रकारिता प्रारम्भ भएको हो।
हिजोआज सान्र्दभिक चर्चामा रहेको भारतीय मिडिया बिशेषगरी टेलिभिजनको प्रसङ्गमा कुरा गर्नु पर्दा भारतीय टेलिभिजन मिडियाले भारतीय पक्षद्धारा कालापानी क्षेत्रमा निमार्ण गरेको सडक तथा भारतीय कब्जामा रहेको भुमी प्रति नेपालको तर्फबाट गरिएको प्रतिवाद स्वरुप कालापानी सहितको नेपालको संसदबाट नक्शा जारी पश्चात भारतीय टेलिभिजनको निकृष्ट प्रचार एवं भारतीय नोकर शाही कर्मचारी तन्त्रको चिनियाँ पक्षको उक्साहट भनी कपोकल्पित अभिव्यक्ति पक्कै पनि सार्वभौम सम्पन्न देशको लागि सह्य विषय हुदैं होइन । यदि यही बिवाद भारत पाकिस्तान वा चीनसंग भए हाल सम्म के कस्तो अवस्था भारतले झेल्नु पर्नेछ, सहजै अन्दाज लगाउन सकिन्छ । इतिहासमा जे जस्तो नेपाली वा गोरखालीको पौरखता भएपनि हालको २१ औं शताब्दीमा ती गाथा “मेरो पुर्खाले घिउ खाएकोले मेरो हातमा बास्ना आइरहेको सुँघ”भन्ने किम्बदन्ती अब किम्बदन्ती नै रहेको छ । वर्तमानमा नेपालको गरिवी र अविकास कस्तो अवस्थामा रहेको छ भन्ने उदाहरण कृषि प्रधान देशमा बार्षिक करोडौं मुल्यकोे धान खाध्यान्न र आयात गरिएको अवस्थाले नै जो कोही पटमूर्खले पनि बुझ्न सक्छ । तर यस्तो भनिरहँदा अबको दिनमा यो हिंनताबाट मुक्त पनि हुनुपर्दछ ।
हाल गोदी मिडियाको रुपमा भारत मै बदनाम भएको भारतीय टेलिभिजन मिडियाको प्रचार शैलीबाट छिमेकी देशको मात्र होइन स्वयं भारतीय समेत पिडित रहेका छन्। भनिन्छ मानिस जस्तो बातावरण वा परिवेशमा हुक्र्यो बढ्योे उसमा तिनै गुणको विकास हुन्छ । भुगोल र अन्य क्षेत्रमा बिशाल भारत २०० वर्ष बेलायत र त्यो भन्दा अघि पोर्चुगल, फ्रान्स, डच, र हलेण्डबाट समेतको गुलामी सहन गर्न बिवश थियो । करिब ४४९ वर्षको बिदेशीहरुको गुलामी गर्न आदत परेको भारतमा यही गुलामीको असरको परिणाम त्यहाँको टेलिभिजन पत्रकारितामा देखिने गरेको छ । भारतीय बिग मिडिया हाउसको रुपमा रहेको आजतक, 24 news, ABP news, Zee Tv, India tv, आदि सधैं सत्ता परस्त रहने वा दोहोरो चरित्र समाचारको सत्यता भन्दा पनि भिडको पछि लाग्ने पत्रकारीता गर्छन् । भारतीय मिडियामा रबिकुमार जस्ता पत्रकारले बारम्बार तथ्यमा आधारहिन समाचार प्रसारण गरेको देखिन्छ। यस्ता पत्रकारको पत्रकारिताको परिभाषा भित्र आफ्नै देश भारतमा रहेको बेरोजगारी, किसानले ऋण तिर्न नसक्दा गर्न परेको आत्म हत्या, भारतमा गाउँमा रहेको स्वास्थ्य समस्या र करिब ५ करोड भारतीयको गरिबीले खासै महत्व पाउँदैंन। एक सर्वेक्षण अनुसार तिनको समाचारको ९०% समाचार भारत, पाकिस्तान, चीन, तिब्वत, बिशाल हिन्दुस्तान मोदी र मोदी प्रशासनको तथा भाजपाको गुन मात्र गाउने भएकोले गोदी मिडियाको नामले भारतमा कुप्रख्यात छ ।
लामो समय बिदेशीको गुलामी भोगेका भारतीयमा अझैंपनि गुलामी मानसिकताको प्रत्यक्ष प्रभाव देखिन्छ । फलस्वरुप भारतीय गोदी मिडियामा प्रोपगण्डा, ट्रोल, गोएबल्स र पितपत्रकारिता देखिनु अस्वाभाविक मानिदैंन ।
विग मिडिया हाउसका केही पत्रकारहरु अपराधिक कार्यमा समेत संलग्न रहेको तथा यिनको भुमिका समेत शंकास्पद रहेको देखिन्छ । समाचारलाई कमाउ धन्दाको रुपमा समेत प्रयोग गर्ने भारतीय पत्रकारहरु स–साना रकम समेत पत्रकारिताको नामबाट अनियमित तरिकाले असुल उपर समेत गर्ने गर्छन् । आफ्नो ब्यक्तिगत फाइदाको लागि आफ्नो स्वाभिमानलाई समेत बन्धक राखेर असत्य समाचारलाई पनि हिटलरको प्रचार मन्त्री गोयबल्स झैं हजार पटक असत्य कुरालाई पनि सत्य झैं दोह्याउने प्रवृति भारतीय पत्रकारमा देखिन्छ। उदाहरणको लागि भारतीय जी टिभीमा राती ९ बजे सुधीर चौधरी बाट प्रस्तुत हुने DNA (Daily News Analysis) कार्यक्रममा झुठलाई पनि सत्य झैं प्रस्तुत गरी विशेषज्ञ झैं कुरा गरेर मानिसलाई भ्रमपुर्ण प्रभाब पारेको देखिन्छ। यस प्रकारको समाचारलाई पत्रकारिताको भाषामा expert troll पत्रकारिता भन्ने गरिन्छ । पत्रकारले कुनै पनि विषय बस्तुको उठान वा प्रश्न सोध्दा सुरुमै एक किसिमको भावना बनाएमा त्यो निश्पक्ष पत्रकार हुन सक्दैंन । मिडियाको काम भनेको जनताको आवाजलाई उठाई सरकार समक्ष पु्याउनु हो ।
तर भारतीय ,गोदी मिडियाले सरकारको लागि आवाज उठाई जनताको ब्रेनवाश गरेको देखिन्छ । लामो समय उपनिबेशि संस्कारबाट हुर्किएका भारतीयहरु पत्रकारितामा सोही मानसिकताबाट ग्रसित भएको देखिन्छ। आफु भन्दा साना कमजोर र प्रतिस्पर्धी मुलुककको राष्ट्रिय भावना र जनतालाई आफु जस्तै गुलाम सम्झने मानसिकता प्रवल रहेको देखिन्छ । समाचारको सत्यता र निष्पक्षता भन्दा गुलामी, प्रोपोगाण्डा, ट्रोल, गोएबल्स ,प्रवृति र पत्रकारिताको भाषामा पित पत्रकारिता भारतीय टेलिभिजनको पत्रकारिता हो भन्दा अत्तियुक्ती नहोला की ?
(लेखक माधव बानियाँ लामो समय देखी प्राध्यापन सेवामा छन्)