नेता, नेतृत्व, उन्माद, भष्ट्राचार र नेपाली जनता

विचार/अन्तर्वार्ता

                                                            -माधव बानियाँ

“भिख मागेर घर बन्दैन बिदेशी ऋणले देश बन्दैन”
माथिको चलन चल्तीको भनाई नेपालमा नेता प्रति जनताको भरोसा र बिश्वासको सन्धर्मलाई कोट्याउँन खोजिएको हो । लोकतान्त्रिक शासन ब्यवस्था भएको मुलुकमा नेता र जनतामा एक अर्कामा सामिप्यता र उत्तरदायित्व रहेको हुनु पर्छ । जनताको भावना, बिचार, राष्ट्रियता र समृद्धि नै नेता वा नेतृत्व गर्ने ब्यक्तिको मुल मन्त्र हुनुपर्छ । नेतृत्व गर्ने ब्यक्ति सरकारी पक्ष वा विपक्ष जुन खेमामा भएपनि त्यसले तात्विक असर गर्दैन । कुनै पनि राष्ट्र समृद्ध बनाउनको लागि राज्यले आफ्नो स्रोत र साधनको भरपुर प्रयोग गर्नु पर्छ । इतिहासलाई फर्केर हेर्ने हो भने पनि बि.सं. १९९० सालको भुकम्पमा तत्कालिन जहाँनिया राणा प्रधानमन्त्री जुद्घ शमशेरले बाहिरी सहयोग लिएनन् । त्यसैगरी बेलायती शासकका बिश्वासिला मित्र जंङ्ग बहादुर राणाले समेत बेलायतीहरुबाट सहयोग लिएनन् । राणा प्रधानमन्त्री कालमा बिकासको पूर्वाधार तयार गर्ने प्रधानमन्त्रीको नाममा परिचित चन्द्र शमशेरले समेत बिदेशी सहयोग लिएनन् । यसर्थ बिदेशी सहयोग दान, ऋण आदि लिनु भन्दा पनि आफ्नै स्रोत साधनको परिचालन गरेर हामीले आफैँ गर्न सक्छौं भन्ने भावना जगाउन सक्ने क्षमता नेतृत्वमा हुनुपर्छ ।

नेताप्रति जनताको बिश्वास भरोसा किन घट्दै गइरहेको छ ? नेता शब्दको अर्थ भष्टाचार, परिवारबाद, नियम कानुन आफ्नो अनुकुल उपयोग, शासनमा हालीमुली आदि शब्दले किन परिभाषित हुदैं छ ? कयौं घटना वा परिघटनामा के देखिन्छ भने नेतृत्वमा पुगेपछि वा शासनमा पुगेपछि जनता भन्दा आफु उच्च बर्ग, आफु हरेक बिषय वा क्षेत्रमा विज्ञ जुनसुकै विषयमा पनि बिज्ञता पुष्टि गर्न उदृत हुने जस्ता ब्यबहार देखिदा नेताप्रति जनताको बिश्वास दिनप्रतिदिन गुम्दै गइरहेको र नेता भन्नासाथ हाँसोको पात्र जोकरसँग तुलना गर्न थालिएको छ ।

“जनतालाई नजरअन्दाज गर्ने र शासनमा पुगेपछि सत्ताको उन्माद देखाउने नेता जनताको नजरबाट कति चाँडै कसरी गिर्छन् भन्ने उदाहरण हाम्रै देशमा पनि थुप्रै देखिन्छन्”

जनताको भावना, समस्या सरकार समक्ष पु्याउने र समाधानको लागि प्रयास गर्ने नै नेता हुन सक्छन् । जनतालाई नजरअन्दाज गर्ने र शासनमा पुगेपछि सत्ताको उन्माद देखाउने नेता जनताको नजरबाट कति चाँडै कसरी गिर्छन् भन्ने उदाहरण हाम्रै देशमा पनि थुप्रै देखिन्छन् । जनता जनार्दन हुन भन्ने भावना नेतामा हुनु पर्दछ । नेतामा रणनीतिकार र नेतृत्व गर्न सक्ने खुबी पनि रहनु पर्दछ । ब्यक्तिगत प्रभाव निरन्तर प्रगति मुलुक प्रति समुदायमा आधारित जनसेवा कार्य वा संलग्नता एउटा सफल नेतृत्वमा हुने गुणहरु हुन । आफूलाई उदाहरणको रुपमा पेश गर्ने जनताप्रति उत्साहित हुने, जोश देखाउन, काममा एकाग्र हुने सधैं सिक्न र सिकाउन तयार रहने आदि एउटा सफल नेताको उदाहरण हो । बिशेषगरी नेपालको नेता वा नेतृत्व प्रदान गर्ने ब्यक्तिलाई उल्लेख गर्नुपर्दा नेपालको नेतृत्व शैलीमा पुगेका अधिकांश नेताहरुमा अध्ययनको कमी, बिषयवस्तुमा राम्ररी जानकारी नभएको, आफ्नो भनाइलाई प्रष्टसंग राख्न नसक्ने तर माथिल्लो नेताको चाकडी चाप्लुसी गर्न र मनि मसल आदि नजरना पु्याई नेतृत्वमा पुगेको देखिन्छ । यसर्थ यस्ता प्रवृत्तिको नेताबाट सुशासन, पारदर्शिता, नयाँ सोच र बिचारको अपेक्षा गर्नु पक्कै पनि सान्र्दभिक नहोला ?

पूर्व सचिब भीम उपाध्यायले भने जस्तै नयोग्यता, नपढाई, नसीप, नतालिम, नउमेरको हद, नरिटायरमेन्ट आर्यघाटको यात्रा नगरुन्जेल आजिवन ढुक्कको जागिर पाइने पेशा नेता नेपालमा मात्र रहेको छ । नेपालमा २०४६ सालको परिवर्तन पश्चात अर्थात गणतन्त्र पश्चात पनि जनताको जीवन स्तर खासै उस्किन सकेको छैन तर यही अवधिमा राजनैतिक पार्टिका नेता र तिनको भातृसंस्थाको नेतृत्वको जीवनस्तर हेर्ने हो भने केही बर्ष अघि सम्म साइकलमा हिड्नेहरु अहिले पजेँरो, चप्पल छापहरुका पटपटी फुटेका कुर्कुच्चामा अहिले बेन्टलि जस्ता ब्रान्डेड जुत्ता, छोराछोरीलाई भारतीय दुताबासमा धाएर भएपनि छात्रवृत्तिमा शिक्षा आर्जनको अवसर, बिभिन्न आयोग, नियोग, नीति, सचिवालय, बिशेषज्ञ, सदस्य आदिको जागिरमा आफन्त, श्रीमती, कार्यकर्ता अनि बेलावखतमा कर्णालीका दुःख बेदनाका कुरा दलित, आदिबासीको समस्यालाई जोडदार रुपमा उठाई जनताको भावनालाई आफ्नो भावनामा मिसाउँदैं राष्ट्रवादको सन्दर्भमा पहाडी राष्ट्रबाद, मदेशी राष्ट्रबाद, बाहुन राष्ट्रबादको नारा अनि चुनाबको समयमा किसानको खेतखलामा, धान काटेको, खेत खनेको, गोरु जोतेको नाटक देखाएर जनतामा आफ्नो मजबुत प्रभाव पारी निर्वाचनमा सबै हटकन्दा अपनाई बिजयी हुने परम्परा नेपालको राजनीतिमा निरन्तर चलिरहने यस्तो प्रचलन कहिलेसम्म राजनीति भनेको के यति मात्र हो । जनता सधैं यही भुल भुलैयामा राख्नु नै सफल नेतृत्व वा राजनेता हो ?

नेतृत्व गर्न ब्यक्तिबाट देश वा जनताको अपेक्षा सामाजिक न्याय, सुसासन, समृद्धि र बिकास तथा जन अधिकार रहेको हुन्छ । जनतामा उत्प्रेरणा र जागरणको बेजोड भावना जागृत गराउने र नेताले आफ्नो पछिको नेतृत्व तयार गरी उपर्युक्त बिषयलाई टुङ्गोमा पु्याउन सक्नु पर्ने हुन्छ । नेतृत्व गर्ने शासकलाई पक्कै पनि आफु हिड्ने बाटोमा रातो कार्पेट कस्ले बिछ्यायो, कुर्सी किन राख्यो ? जस्ता बिषयमा पूर्व जानकारी नहुने भएपनि मञ्चमा छट्टैै र अग्लो कुर्सी किन कता पट्टि फर्काएर राख्यो ? त्यस बिषयमा नेतालाई जानकारी नहुने भएता पनि त्यस्ता किसिमका गतिबिधी नगर्न आदेश दिन सक्छन् भन्ने उदाहरण भारतका प्रवृद्ध राष्ट्रपति अब्दुल कलामआजादलाई लिन सकिन्छ । उनी रातो कार्पेट, बिशेष कुर्सी आदि हटाएर मञ्चमा अन्य वत्ता सरह नराखेसम्म आसन ग्रहण गर्दैनथे । नेपालका आजिवन स्वोघोषित नेता भनाउँदाहरुले यसबाट पाठ सिक्नुपर्ने होइन र ? संसारका धेरै देशलाई आफ्नो उपनिबेश बनाएको पोर्चुगलले नेपालले जस्तै राजतन्त्रलाई ढालेर गणतन्त्र स्थापना भएको देश हो । पोर्चुगल हाल बिश्वको सम्पन्न मुलुक मध्ये गनिन्छ । त्यहाँको जनताको आर्थिक स्थिति निकै मजबुत रहेको छ । नेताप्रति जनताको बिश्वास एवं सम्मान रहेको छ । त्यहाँको गणतन्त्र जनताले अनुभुति गर्न पाएका छन् । गणतान्त्रिक देश पोर्चुगलका वर्तमान राष्ट्रपति सौसा नेपालका नेता जस्ता टुप्पोेबाट पलाएको नभइ उनी एक राजनीतिज्ञ पत्रकार, कानुनका बिज्ञ, प्राध्यापक आदिमा आफ्नो ब्यक्तित्व बनाएका र जनताबाट निर्वाचित ब्यक्ति हुन । यद्यपी उनी सपिङ्गमलदेखि सडकसम्म सर्व साधारण नागरिक झैँ हिड्छन् र सबैको अभिवादक स्वीकार्छन् । तर नेपालका नेताहरु जो सबै बिषयका ज्ञाता ठान्छन र गणतन्त्रको, लोकतन्त्रको, संघीयताको दुहाइ दिन्छन । हाम्रा नेताहरु रातो कार्पेट, तडक भडक, बिलाशी जीबन आदिमा किन लिप्त हुन्छन । यस्को मुख्य कारण हो नेपालका नेताहरु नेपालको प्रतिनिधी भन्दा पनि अरु कसैको प्रतिनिधी भएका त होइनन् ? नेपाल एउटा स्वतन्त्र र सार्वभौम राष्ट्र हो । यहाँका जनताले आफ्नो मातृभुमीलाई आफु भन्दा धेरैे माया गर्छन भन्ने बिषयमा नेपाली नेताहरुले कहिल्यै ध्यान दिएनन् । सत्तामा वा नेतृत्वमा पुगेपछि जनताभन्दा आफुलाई ठुलो ठान्ने अहंमता शासकको संकिर्ण बिचार नै हो । नेपालमा राजतन्त्र समाप्त गरी गणतन्त्रको स्थापना गरिएकोमा जनताको नजरमा केबल स्वरुप मात्र परिवर्तन भएको देखिएको छ । अतः नयाँ ढङ्गबाट सामाजिक, राजनैतिक गतिबिधि जन आकाङक्षाको चाहनाको बारेमा बहस गर्नुपर्ने देखिन्छ । नेपालको राजनैतिक प्रशासकिय र सामाजिक नेतृत्वमा रहेको पुरानै पुस्ताले अबको नेपालको नेतृत्व गर्न नसक्ने हुनाले नेतृत्व परिवर्तन गरी नयाँ पुस्ताले नेतृत्व गर्नुपर्छ । जस्ले आजको पुस्ताले कल्पना गरेको जीवन समान र राष्ट्रको बारेमा चेतना राख्छ ।
(लेखक माधव बानियाँ बिभिन्न शैक्षिक संस्थाका संस्थापक, संचालक तथा लामो समयदेखि प्राध्यापन सेवामा संलग्न छन्)

 

Facebook Comments Box