द्रव्य शाहले गुरु गोरखनाथलाई खीर ख्वाएर वरदान पाएको दिन – साउन १५ गते खीर खाने दिन !

विचार/अन्तर्वार्ता

–डाक्टर जगमान गुरुङ
गाउँ घरतिर दूध दहि सितिमिति मासिदैन्थ्यो।असार- साउनमा गाई- भैंसी ब्याउने र बन्सो घाँस पनि पाइने हुँनाले दूध दहि पनि प्रशस्त हुन्छ।असार महिनाभरमा धानको रोपाइँ सकिने हुनाले साउनमा किसानीलाई फुर्सद हुन्छ।त्यसकारण साउनमा क्षीरेन भोजनं सौख्यम् खीर खाएर रमाइलो गर्ने चलन चलेको हो।अघि साउने वलक भनेर दूध दहिको वलक उठाउने चलन पनि थियो।

लमजुङका राजा यशोब्रह्म शाहका कान्छा छोरा द्रव्य शाह शरीरका बलिया तर बुद्धिका मोटा थिए।त्यसकारण आफ्ना वसन्तवती रानीले कान्छा तिमी शरीरको भारी , बुद्धिको मोटा छौ।दरबारमा बसेर के गर्न सक्छौ र ? लेकमा गोठमा जाउ र दूध दहि खाएर उतै बस भनेर लेकमा पठाएछन्।

द्रव्य शाह गोठमा बसिरहेका थिए।एक दिन एक जना कन्फट्टा जोगीले गोठमा आएर अलख जगाएछन्। भिक्षा दिँदा म खीर भोजन गर्छु भनेछन्। खीर भोजन गराउँदा कण्ठप्रमाणले अथवा घाँटीसम्म आउने गरी खीर खाएछन् र द्रव्य शाहको हातबाट अघाउञ्जेल खीर खाएर सन्तुष्ट भएका गोरखनाथले तिम्रो कर्म यहाँ होइन, पूर्वदिशामा तिम्रो कर्म छ भनेर द्रव्य शाहलाई वरदान दिएछन्। गोरखनाथको वरदानबाट द्रव्य शाहमा बुद्धिको सञ्चार भयो र द्रव्य शाह दरबार आएर राजकाज गर्न लागे।

भदौ महिनामा लमजुङ र गोरखाको झारा लाग्यो अथवा लडाइँ भयो।द्रव्य शाह दलमुखी भएर ह्रगिनि च्हो( रागिनासकोट) गए।असोज दशैँ मान्न द्रव्य शाह लमजुङ दरबार आए।ए ! बैरीलाई करासाँमा राखेर बडो दशैँ मान्न आउनु, के कर्तव्य हो तेरो ? भनेर दाज्यू नरहरि शाहले द्रव्य शाहलाई हपारे।त्यसपछि द्रव्य शाह कुपित भएर रागनास गई मौलो गाडेर दशैँ माने।द्रव्य शाहले रागिनासको मोहोडाबाट गोरखाको लिगलिग, तल्लोकोट, माझकोट र उपल्लोकोटलाई जितेत माझकोटमा दरबार कायम गरेर राज गरे।

यसरी साउन १५ गते द्रव्य शाहले गुरु गोरखनाथलाई खीर ख्वाएर वरदान पाएको शुभ दिन हो।अत: साउन १५ गते गोरखनाथलाई खीर चढाएर त्यस खीरलाई गोरखनाथको प्रसादको रूपमा ग्रहण गय्रो भने मूर्ख पनि विद्वान् र योगी बन्दछ।

अत: साउन १५ गतेको यो महिमा सबैले बुझौँ र आफ्नो परम्परामा अडिउँ।।तथास्तु।।

Facebook Comments Box