-कमलेश घरडी
विश्वको शक्तिशाली देश अमेरिका र उस्को सैन्य शक्तिको दुनियाँभरमा आफ्नै आक्रान्त छ। भर्खरै मात्र अफगानिस्तान बाट आफ्ना सैनिकलाई फिर्ता बोलाएर आफुले सैन्य अभ्यास गराएका अफगानी सैनिकको जिम्मामा छोडेको केही दिनभित्र नै तालिवानले पुरै अफगान कब्जा गर्दा अहिले अमेरिकी राष्ट्रपति र अमेरिकी बिदेशी हस्तक्षेपको सर्वत्र आलोचना भइरहेको छ। सिएनएन र बिबिसीमा त्यति बिश्वास नगर्ने भएर मैले ती समाचार हेरेर अल जजिराको वेबसाईट जहिले नि भिजिट गरेको हुन्छु। हिजो मात्रै सिएनएनका अफगान स्थित सम्बादाता बुर्कामा सजिएर रिपोर्टिङ गरिरहेको दृश्यले झन् ससंकीत बनायो। आफू र शक्ति राष्ट्र अनुकुलित समाचार सम्प्रेषण गर्ने जिम्मा लगभग यिनैको हो जस्तो लाग्यो। यस मामिला म अल जजिरा र उस्को रिपोर्टिङमा सधैं सत्यता देख्छु।
अमेरिकाले के अफगानिस्तानबाट मात्रै रित्तो हात फर्किनु परेको हो र? कि पहिलेको इतिहास फेरि दोहोर्याएको मात्रै हो? यस्को बारेमा खुल्दुली लागे पछि मैले विभिन्न एजेन्सीको मद्धतमा थोरै घतलाग्दो अमेरिकी परास्तको सिलसिलाबद्ध रेकि देखा पारे।
सन् १९५० को कोरियाली युद्धमा जब चीन र रूसले उत्तर कोरियाको समर्थन गर्दा अमेरिका दक्षिण कोरियाको पक्षमा उत्रियो। कम्युनिष्ट तागतको सामना गर्न आफ्ना सैनिक दक्षिण कोरिया पठाएको अमेरिकाले लगभग ३ बर्ष युद्ध गर्यो। यो युद्धमा अमेरिकी ३६५७४ सैनिक मारिए भने लगभग ४०० बिलियन डलर खर्च गरेको थियो। तर यस्ती क्षति हुँदा पनि अमेरिकालाई सोछे जस्तो सफलता हात लागेन, उस्ले यो युद्ध जित्न सकेन।
त्यस्तै सन् १९६५ मा भियतनामलाई गृहयुद्धबाट बाहिर निकाल्न र कम्युनीष्ट शासनलाई हटाउन आफ्ना सैनिक भियतनामी भुमिमा पठायो। लगभग ८ बर्ष भियतनामी युद्धमा प्रत्यक्ष सहभागी अमेरिकाले लगभग ६० हजार सैनिक गुमाउनु पर्यो भने कोरिया युद्धभन्दा लगभग दोब्बर आर्थिक क्षति पनि व्यहोर्नुपर्यो। यो युद्धमा अमेरिकाले लगभग ८५० बिलियन डलर खर्च गर्यो। आफ्ना हजारौं सैनिक र अर्बौंको आर्थिक लगानी गर्दा पनि दोस्रो ठूलो नोक्सान व्यहोर्दै लज्जास्पद तरिकाले आफ्ना सैनिकलाई फिर्ता बोलाउनु पर्यो। त्यो युद्धमा लाखौं निर्दोष भियतनामीको नरसंहार गरेको थियो। आफ्नै देशमा भियतनाममा भइरहेको ज्यादती बिरुद्ध आवाज उठ्न थालेपछि आफुले साथ दिइरहेको दक्षिणी भियतनामका बासिन्दालाई मर्न दिएर सन् १९७३ आफ्ना सैनिक रातारात फिर्ता बोलाउनु परेको थियो। पछि सन् २०७५ मा दक्षिण भियतनाम कम्युनिस्टले आफ्नो अधीनमा लिएपछी साइगोनमा रहेका सिआइएका अधिकारीहरुलाई एयरलिफ्ट गरेर आफ्नो देश लगेको थियो। त्यहीँ दृश्य अहिले काबुलमा पनि देखिएको छ। आफ्ना अधिकारीलाई साइगोनको झझल्को दिने गरि काबुलबाट एयरलिफ्ट गरेर उद्धार गर्दै छ।
अर्को असफल युद्धमा इराकमा लडेको युद्धलाई पनि लिन सकिन्छ। लगभग ७ बर्ष चलेको यो युद्धमा १ ट्रीलियन डलर खर्च गर्यो तर सद्दाम हुसेन संग न रसायनिक हतियार भेटाउन सक्यो न यो युद्धमा सोचेजस्तो नतिजा आफ्नो पक्षमा पार्न सक्यो। ‘आइसआइस’ को प्रभावलाई निस्तेज गरि लोकतान्त्रिक सरकार निर्माण गर्न र गृहयुद्धबाट छुटकारा दिलाउन भनेर सुरु गरेको युद्ध अहिलेसम्म पनि इराकका धेरै जसो क्षेत्र आइसआइस को प्रभाव छ। सद्दाम हुसेनलाई फासीमा चढाउन सफल भए बाहेक अरु सोचे अनुरुपको सफलता भने पाउन सकेन।
अफगानिस्तानको हकमा भने परिदृष्य अलि भिन्नै छ। रुसको बिरुद्ध आफ्नो दबदबा बढाउन जब तालिवानलाई हतियार र आर्थिक सहायता उपलब्ध गरायो पछि त्यहीँ तालिवानको आडमा उसामा विन लादेन नेतृत्व गरिरहेको अलकायदाले ११ सेप्टेम्बर २००१ मा अमेरिकाको वर्ड ट्रेड सेन्टर माथी हमला गर्यो। त्यसपछि आफैले प्रशय दिएको तालिवान माथी आक्रमण गर्यो र तालिवान विरुद्धको यो संघर्ष लगभग २० बर्ष जति जारी रह्यो। दुनियाँ भरका देशमा आतंककारीको उदय गराउन अमेरिकाको महत्वपूर्ण हात रहेको थियो र अझै छ। जबसम्म आफ्नो नोक्सान हुँदैन तबसम्म हतियार र आर्थिक सहयोग गर्ने यो देश जब आफ्नै देशमा अलकायदाले आक्रमण गर्यो तब विन लादेनलाई समाप्त गर्न उस्ले अफगानी भुमिको गलत प्रयोग गर्यो। अलकायदा का सर्वोच्च नेता लादेनलाई पाकिस्तानमा मार्न सफल भए पनि २० बर्ष जति शक्ति संघर्ष गरेको तालिवान संग भने भियतनाम युद्धको नियती व्यहोरेर खाली हात फर्किनु पर्यो।
आफ्नो फाइदाको लागि कुनै पनि देशलाई क्रूरताको भुमरीमा फसाउन सक्ने र फसाउने अनि आफ्नो स्वार्थ पूरा भएपछि रातारात भाग्ने अमेरिकाले भलै यस्को हेक्का नगर्ला तर पटकपटक दोहोरिरहेको इतिहासलाई मेटाउन भने सक्ने छैन। स्वार्थ पूरा भएपछि डिप्लोमेसी र बिदेश नितिको कारण देखाएर करोडौं निर्दोष जनताको बलि चढाएर निर्लज्ज तरिकाले जसरी अफगानिस्तानबाट अमेरिका भाग्यो त्यस्ले पुरै अफगानी जनताको सुन्दर बिहानीको कालो बादल हो। जब बिदेशी प्रभुत्व चाहिरहेको थिएन तब आफ्ना हजारौं सैनिकलाई आक्रमण गर्न लगायो तर जब अफगान जनताले विश्व समुदायलाई सहयोगको अपिल गरेका छन् तब शक्तिराष्ट्र र संयुक्त राष्ट्र संघ कानमा तेल हालेर रमिता हेरिरेको छ। लोकतन्त्र र मानव अधिकारको बलि स्वयम अमेरिकाले आफ्नो स्वार्थको लागि चढाउछ।