विष्णुप्रसाद चौलागाई
धुलिखेल नगरपालिकाकी उप प्रमुख विमला शर्मा (चौलागाई) व्यवसाय सँगै राजनीतिमा पनि सफल महिला हुन् । व्यवसायसँगै राजनीति अगाडी बढाउन सकिदैन भन्नेहरुलाई विमला शर्मा एक उदाहरण हुन् । साथै एक खुल्ला किताव पनि हुन् । उनै खुल्ला किताब विमला शर्मा र घरको बुईगलबाट शुरु गरिएको उनको कुखुरा पाल्ने व्यवसायलाई हेरिदा पनि व्यवसायसँग राजनीतिमा पनि सफल महिला व्यक्तित्व विमला शर्मा (चौलागाई)लाई मान्न सकिन्छ ।
बाहुनका घरमा कुखरा पाल्ने ? भन्दै श्राद्ध गर्न आएका पुरोहित रिसाएर हिँडेको एक वर्षपछि बल्ल कुरा बुझे, यो त बहुउपयोगी व्यवसाय रहेछ ।
अग्रणी पोल्ट्री व्यवसायी विमला शर्माले वैवाहिक जीवनको पहिलो वर्षमै यस्तो स्थिति सामना गरेकी हुन् । २०४४ सालदेखि काभ्रेको धुलिखेल, बखुण्डोलस्थित आफ्नै घरको बुइ(ँगलबाट उनले कुखुरा व्यवसाय थाल्दा घरमा पूजापाठका लागि आउने पुरोहित मात्र हैन, छरछिमेक पनि रिसाए । त्यसबेला उनले १ सयवटा कुखुरा पालेर व्यवसाय थालेकी थिइन् । भर्खर विवाह गरी पतिको घरमा बस्न थालेकी, त्यसमाथि कट्टर ब्राह्मण समुदायको संयुक्त परिवार थियो उनको । घरकी नयाँ बुहारी भए पनि विमलाले सबैलाई व्यवसायका लाभ हानीबारे स्पष्ट पारिन् । र, घरका सबै सदस्य दाना राख्ने, पधेँराबाट पानी ल्याउनेजस्ता काममा सरिक भए । कुखुराले अण्डा दिन थालेपछि परिवारकै सदस्यले बजारमा अण्डा बेचे । कुखुराको सुलीले तरकारीको राम्रो मल हुने विश्वास कसैले गरेका थिएनन् । तर, विमलाले आफ्नै बारीमा लगाएको तरकारीमा उक्त मल हुने विश्वास कसैले गरेका थिएनन् । तर, विमलाले आफ्नै बारीमा लगाएको तरकारीमा उक्त मलको प्रयोगबाट सबैलाई चकित तुल्याइन् । जब कुखराको सुलीबाट तरकारी उत्पादन फस्टायो, तब श्राद्ध गर्न हिच्किचाएका पुरोहित खुशी भएर शर्मा परिवारकहाँ फर्किए । पुरोहितले पनि आफ्नो बारीमा लगाएको तरकारी खेतीका लागि सुलीबाट बनेको प्राङ्गारिक मल लगे । विमला भन्नुहुन्छ – पछि त पुरोहितले नै यसरी प्रचार गरिदिनुभयो कि त्यही कारण छरछिमेक पनि हामीलाई हौसला दिने अवस्थामा पुगे ।
यसरी अगाडी बढेको विमलाको पोल्ट्री व्यवसायले क्रमशः दायर बढाउदै लग्यो । भक्तपुरको जागतेमा अलग्गै दाना कारखाना स्थापना गरी व्यवस्थित व्यवसाय पनि शुरु भयो । अहिले भक्तपुरको ठिमीमा उदय फिड नामक मुलुककै अग्रणीमध्येको दाना कारखाना सञ्चालनमा छ । अर्थात, विमलाको परिवारले नै शुरु गरेको प्रभात पोल्ट्री ह्याचरी उद्योगले अहिले देशकै पोल्ट्री व्यवसायलाई नेतृत्व गरिरहेको छ । विमलाका जेठाजु ईश्वर शर्मा प्रभात पोल्ट्री ह्यारी उद्योग प्रा.लि., सञ्चालन समितिको अध्यक्ष, देवर नवराज शर्मा नेपाल ह्याचरी संघको अध्यक्ष र विमलाचाहि अखिल नेपाल किसान महासंघको घटक संगठन कुखुरापालक किसान संघको अध्यक्षको जिम्मेवारी समेतमा रहे । विमला शर्मा चौलागाईको राजनीतिक जिम्मेवारी त्यतिमात्र रहेन, उनी अहिले नेकपा काभ्रेको जिल्ला सदस्य एवम् धुलिखेल नगरपालिकाको उपप्रमुख पनि हुनुहुन्छ । व्यवसाय सँगै राजनीति र समाजसेवा ३ पक्षलाई नै उहाँले आजसम्म पनि संगसंगै लगिरहनु भएको छ ।
काभ्रेपोष्टका प्रधानसम्पादक विष्णु चौलागाईले यी ३ काममा कसरी समय मिलाउनु भएको छ त भन्ने प्रश्न गर्दा विमला शर्मा (चौलागाई)ले भन्नुभयो – समय आफैले पनि मिलाउने हो, त्यसमाथि आफूलाई परिवारको भरपुर सहयोग भएको हुँदा यी ३ कामलाई संगसंगै लान सकेकी छु ।
विमला शर्मा (चौलागाई)को कथा यति मात्र छैन, जब आफैले दाना उत्पादन गरेर ह्याचरी (चल्ला) उत्पादनको काम शुरु गरिएको पनि उनले बताइन् । प्रभात पोल्ट्रीले ठूला नश्लका कुखुरा उत्पादनका लागि थाइल्याण्ड, अष्ट्रलिया र भारतबाट माउ कुखुरा ल्याउने, अण्डा निकाल्ने र ह्याचरी उत्पादन गर्न थालेपछि नेपालको बजारमा बोइलर कुखुराको चलन बढेको पनि उनले बताइन् । त्यसमा लागि धुलिखेलमा अलग्गै ह्याचारी कारखाना पनि स्थापना भएको छ ।
अहिले उहाँको परिवारमै सामुहिक व्यवसायको शुरुवात भएको छ । उहाँहरुकोमा अमेरिकी प्रविधिबाट उत्पादित ग्रयाण्ड प्यारेन्ट (जिपी) को उत्पादन हुन्छ । विदेशबाट आयात गर्नुपर्ने जिपी कुखुरा स्वदेशमै उत्पादन गर्ने उद्देश्यसाथ काभ्रेको बालुवा गाविसमा बहुसाझेदार उत्पादनस्थल सञ्चालनमा छ । प्रभात पोल्ट्रीले अगुवाई गरेको उक्त उत्पादनमा ललितपुरको आशापुरी ह्याचरी, ललितपुर ह्याचरी, भक्तपुर बालकोटको सिद्धिगणेश ह्याचरी, बालाजुको क्वालिटी ह्याचरी र नवलपरासी दाउन्नेको विजय पोल्ट्रीको साझेदारी रहेको छ । सोही उत्पादनमा वरिष्ठ पशुरोग विशेषज्ञ डा. जीवनलाल अमात्यको पनि सहभागीता छ ।
तर, त्यसरी शुरु भएको जिपी उत्पादनलाई वर्ड फ्लुको संक्रमणले संकटमा पार्दा व्यवसाय करोडौं घाटामा पुग्यो । वर्ड फ्ल्युले प्यारेन्टलाई नै आक्रमण गर्दा विमलाको मात्रै नौ करोड लगानी डुवेको थियो । उनको भनाई छ, नेपाल पोल्ट्रीमा आत्मनिर्भर भयो भनेर भारतले षड्यन्त्र गरेको हो । तर, बजार राम्रो हुँदा फ्ल्युका कारण भएको घाटा अहिलेसम्ममा पूर्ति भइसकेको उनले बताइन् । प्रभात पोल्ट्रीले आफ्ना उत्पादन नेपालभर ढुवानी गर्दै आएको छ । बजार विस्तारका क्रममा चितवनको जगतपुरमा ७ विघा जमिनको क्षेत्रफलमा गोल्डेन ह्याचरी र हेटौंडा औद्योगिक क्षेत्रमा दाना उत्पादन कारखाना सञ्चालनमा ल्याइएको छ । ९० भन्दा बढी जनशक्ति प्रभात पोल्ट्री र त्यसअन्तर्गतका विभिन्न उत्पादन प्रक्रियामा प्रत्यक्ष रोजगारप्राप्त छन् । दाना र कुखरा ढुवानीका लागि अहिले पनि दैनिक आधा दर्जन भन्दा बढी गाडी देशभर ओहोर दोहोर गर्दछन् । राजनीतिसँगै व्यवसायमा पनि सफल महिला विमला शर्मा (चौलागाई)को खुल्ला कितावले धेरैलाई व्यवसायमा लाग्न पनि प्रेरित गरेको पाइन्छ ।