नेपाली खेलकुद क्षेत्रमा ईश्वर थापा’गजेन्द्र’ नौलो नाम होईन । पूर्व अन्तराष्ट्रिय खेलाडीको पहिचान बनाई सकेका उनी करिव साढ़े दुई दशक भन्दा लामो समय देखि कराते खेलका माध्यमबाट खेलकुद क्षेत्रमा सक्रिय छन् । नेपाल सितोरियो कराते संघका केन्द्रीय सचिव तथा प्रवक्ता रहेका उनले लामो समयदेखि सितोरियो कराते संघको शाखा डोजो नक्सालका अध्यक्ष तथा प्रमुख प्रशिक्षकको भूमिका निर्वाह गर्दै आएका छन् । यसैगरी नेकपा (माओवादी केन्द्र ) निकट रहेको अखिल नेपाल खेलकुद महासंघका उपाध्यक्ष समेत भइ आफ्नो सक्रियता बढाइरहेका छन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका कराते प्रतियोगिताको आयोजना गरिसकेका उनले हालसम्म निरन्तर रुपमा १८ वटा सफल कार्यक्रममा संयोजकको भूमिका निर्बाह गरिसकेका छन् । राष्ट्रिय खेलकुद परिषदको अन्तर्गत रहेको राष्ट्रिय संघ, नेपाल स्वयम् सेवक प्रशिक्षक खेलकुद महासंघका अध्यक्ष समेत रहेका थापाको संयोजकत्वमा यही पुष २६ देखि चौथो सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियोगिताको आयोजना हुदैछ, । यसै बिषयमा ईश्वर थापा ‘गजेन्द्र’ सँग गरिएको छोटो कुराकानी ः
अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको तयारी कस्तो भइरहेको छ ?
— तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिता यही पुष २६ देखि २८ सम्म हुँदैछ । चौथो सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियोगिताको भएकाले भव्य रुपमा सम्पन्न गर्न तयारी पनि विशेष रुपमा गरिरहेका छौं । सहभागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडिहरुको विवरण पनि प्राप्त भइसकेको छ ।
यो कस्तो किसिमको प्रतियोगिता हो, संक्षेपमा जानकारी गराई दिनुहोस् न ?
— यो प्रतियोगिताको नाम चौंथो सगरमाथा अन्तर्राष्ट्रिय प्रतियोगिता रहेको छ । हामीले यो वार्षिक रुपमा नेपाल रितोरियो कराते संघको खेल तालिका अनुसार शाखा डोजो नक्सालले आयोजना गर्दै आएको छ । त्यस मध्य तिन वटा प्रतियोगिताहरु सम्पन्न भइसकेका छन् । प्रतियोगितामा नेपाल लगायत भारत, भुटान, बंगलादेश, पाकिस्तान लगायतका मुलुकहरुबाट समेत खेलाडिहरु सहभागी हुँदै आएका छन् । शाखा डोजो नक्साल स्थापना भएको १९ औं वर्ष प्रवेश गरेको अवसरमा प्रतियोगितासँगै १९ वर्ष प्रवेशको विशेष वार्षिक कार्यक्रमको रुपमा पनि हामीले यो कार्यक्रमलाई लिएका छौं । स्थापना कालदेखि नै विभिन्न प्रतियोगिता गर्दै आएका छौं । आजसम्म १८ वटा प्रतियोगिता सम्पन्न भइसकेका छन् । यो शाखा डोजोको १९ औं प्रतियोगिता पनि हो । शाखा डोजोको अध्यक्षको हैसियतले आजसम्म सवै प्रतियोगिताको संयोजकको भूमिका मैले नै निर्वाह गर्दै आएको छु ।
यसपटकको चौंथो प्रतियोगितामा कतिवटा राष्ट्रको सहभागिता रहन्छ ?
— यस पटक यो प्रतियोगितामा नेपाल सहित, भारत, बंगलादेश, पाकिस्तान र भुटानका एक–एक टिम गरी ५ वटा देशको सहभागिता रहने निश्चित् भइसकेको छ ।
भनेपछि खÞर्च त निक्कै होला नि कसरी ब्यवस्था मिलाउनु भएको छ ?
— हो प्रतियोगिता आयोजना गर्नु चुनौतीपूर्ण नै छ । प्रतियोगितामा लगभग १२ देखि १५ लाखसम्म खÞर्च हुन्छ । त्यस मध्ये राष्ट्रिय खेलकुद परिषदले केही रकÞम उपलब्ध गराएको छ । बाँकी हामीले केही सहयोगी संस्थाहरुलाई सहयोगको प्रस्ताव गरेका छौं । यो हाम्रो वार्षिक कार्यक्रम भएकाले केही बजेटको व्यवस्थापन शाखा डोजोले नै व्यवस्था मिलाउँदै आएको छ ।
यो प्रतियोगिताको आयोजना गर्नुको मुख्य उदेश्य चाही के हो ?
— खासगरी यो प्रतियोगिताको आयोजना गर्नुको मुख्य उदेश्य चाहीं खेलकुद बिकाश र समृद्धी नै हो र त्यो भन्दा पनि आगामी दिनमा दक्षिण एशियाली कराते प्रतियोगिता गर्नु हाम्रो मूल उदेश्य हो, जसले गर्दा दक्षिण एशियामा नै एउटा नमूना प्रतियोगिताको रुपमा परिचित होस् भन्ने नै हो । यसका अलावा सही खेलाडी जो पदकधारी बन्छन तीनलाई कमसेकम उत्कृष्ठ खेलाडि बनाउन र खेलाडिहरुको व्यक्तिगत जीवन पनि सहज बनाउन बातावरण निर्माण होस् भन्नु नै मुख्य उद्देश्य हो ।
भनेपछि आगामी दिनमा दक्षिण एशीयाली राष्ट्रबाट राष्ट्रिय टीम सहभागी गराएर आठै राष्ट्रको ८ टिम मात्रको प्रतिस्पर्धा गराउनु हो ?
— हो , हाम्रो उदेश्य नै त्यही हो । अहिले त हामीले ट्रायल मात्र गरिरहेका छौं ।