हान नदिको चमत्कारबाट सिक्न सकिने पाठ

विचार/अन्तर्वार्ता

-सन्तोष चौलागाई

कोरियनहरूले आफ्नो देशमा भएको आधुनिक प्रगतिलाई चमत्कार भएको मान्दछन्। राजधानी सउलको मध्यभागबाट बग्ने एउटा विशाल नदी छ, जसलाई ‘हान नदी’ भनेर भन्छन् । हान नदीको आसपासबाट सुरु भएको औद्योगिक विकासले कोरियाको अर्थतन्त्रलाई माथिल्लो उचाई पुर्याउन सफल भयो ।

 

प्राकृतिक स्रोत साधनको अभाव, प्रतिकूल मौसम, चरम गरिबीको अवस्था झेलेको दक्षिण कोरियाले हासिल गरेको प्रगति हेर्दा वास्तवमै चमत्कार भएको मान्न सकिन्छ । सन् 1953 मा औसत प्रतिव्यक्ति आय 67 डलर रहेको सन् 2014 मा 28000 डलर , सन् 2019 मा 31400 डलर हुँदै सन् 2022 मा 32500 डलर पुग्न सक्यो ।

कोरियाको परम्परागत अर्थतन्त्र खेतीपाती पशुपालन र समुन्द्रमा निर्भर थियो। कृषि उत्पादनका निम्ति यहाँको मौसम खासै अनुकूल छैन । जवान मान्छेहरू रोजगारको लागि लामो समयसम्म विदेशमा रहने गरेको ,समुन्द्र छेउका बस्तीहरूबाट समुन्द्रमा माछा मार्न गएको बेलामा धेरै सङ्ख्यामा मान्छेहरू बेपत्ता हुने र गाउँ नै मान्छे विहीन भएको , रोग रोगव्यादी र भोकमरीले सताएको जस्ता पुराना दु:खका कथाहरू अहिले पनि सुन्न सकिन्छ ।

सन् 1910 देखि 1945 सम्म कोरियाली भूमि छिमेकी राष्ट्र जापानको उपनिवेशमा रह्यो । सन् 1950 देखि 1953 सम्म गृहयुद्ध हुँदा ठूलो धनजनको क्षतीसँगै कोरिया उत्तर र दक्षिण दुई खण्डमा विभाजित भयो। विभाजनपछि कोरियाली भूमिमा शान्तिसँगै दक्षिण कोरियाको आधुनिक विकासकको सुरुवात भएको मान्न सकिन्छ ।

 

परम्परागत अर्थतन्त्रलाई बदल्दै औधोगिक अर्थतन्त्रको सुरुवाती चरणमा कपडा , जुत्ता , झोला जस्ता वस्तुहरू उत्पादन गरी निर्यात सुरु गरेको थियो। सन् 1963 मा सेनापति फाकछङ्गह्वेले सत्ता हत्त्याएर सैनिक शासन लागू गरी ठुला ठुला विकासका पूर्वाधारहरू जस्तै: रेल ,सडक बाटो, पुल आदिको निर्माण गरेका थिए।

कोरियाले सन् 1980 को दसकबाट पानीजहाज गाडी तथा मेसिनरी पाटपुर्जा उत्पादन गरी निर्यात सुरु गरेको थियो । सन् 2000 पछि सुचना प्रविधिका आधुनिक उपकरणहरूको ठुलो मात्रामा निर्यात गरेर देशको अर्थतन्त्रलाई उचाइमा पुर्याउन सफल भएको थियो ।

 

सीमित स्रोत, साधन र सिपको अभावको वाबजुत पनि उन्नत स्थरको व्यावस्थापन ,चुस्त दुरुस्त संयन्त्र र नागरिकहरूको अथक लगनशीलताले गर्दा नै कोरियाली अर्थतन्त्रले तीव्र गति लिन सकेको हो। विभिन्न काल खण्डमा विश्वव्यापी आर्थिक मन्दी , वैदेशिक ऋणको भार युवा जनशक्तिको अभाव, घट्दो जनसङ्ख्या जस्ता भयानक कठिनाइहरूलाई झेल्दा झेल्दै पनि विभिन्न विकल्पहरूको खोज अनुसन्धान गरी अर्थतन्त्रलाई गतिशील बनाउन सफल रह्यो ।

 

सन् १९५० को दसकमा गृहयुद्धले थलिएको कोरियाले हालको आधुनिक कोरियाको कल्पना गर्न सक्ने अवस्था पटक्कै थिएन । एकै पुस्ताले अपत्यारिलो विकासको महसुसहरू गर्न सफल भयो। हाल आएर इतिहासलाई हेर्दै समीक्षा गर्दा जो कोहीले पनि कोरियाको आधुनिक उन्नतिलाई चमत्कार नै भएको मान्न सकिन्छ । कोरियानहरूले आफ्नो देशको अपत्यारिलो आर्थिक उन्नतिलाई हान नदी चमत्कार भनेर भन्ने गर्दछन्।

 

हामीले कोरियाको विकासबाट राम्रा पाठहरू सिक्न सक्छौँ । स्रोत साधनको राम्रो उपयोग गरी विभिन्न कठिनाइहरूका वाबजुत पनि लगनशील भएर निरन्तर लागि पर्ने हो भने उन्नति प्रगति कुनै नौलो कुरा बन्ने छैन । एक पछि अर्को खुड्किला उक्लँदै अघि बढ्ने हो भने प्रगतिको शिखर सजिलै चुम्न सकिन्छ । अनेकन अभावहरू र समस्याहरूको बहानामा आफ्नो कर्मप्रति समर्पित बन्न सकेनौँ भने सफलता हात पार्न सकिन्न ।

धैर्यका साथ आफूसँग भएका स्रोतहरूको उपयोग गर्दै अघि बढ्ने हो भने देखिएका भयावह समस्याहरू पनि आफैँ दूर हुँदै जान्छन् अवसरहरू आफैँ सिर्जना हुँदै आउँछन् ।

(सुनापती -१ गुन्सी ,रामेछाप निवासी लेखक सन्तोष चौलागाई हाल – ह्वासङ्ग सी, दक्षिण कोरियामा कार्यरत छन्।)

Facebook Comments Box