प्रदीप गिरी नेपाली राजनीतिका आदर्श, समाजवादका अनुयायी

मुख्य समाचार विचार/अन्तर्वार्ता

पुष्पराज गिरी
आइतबार नेपाली कांग्रेसको सानेपास्थित मुख्यालयको प्रंगणमा अन्तिम श्रद्धाञ्जलीको लागि स्वर्गीय प्रदीप गिरीको पार्थिव शरिर राखिएको थियो । उनलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै शवयात्रामा सहभागी हुँदै पशुपति आर्यघाटमा अन्तिम संस्कारको साक्षि बनियो । नेपाली राजनीतिका एक आदर्श व्यक्तित्व प्रदीप गिरी हामी माझ जल्दै विदा भए । शनिबार राति ९ः३० मा ललितपुर जिल्लामा रहेको मेडिसिटी अस्पतालमा उनलाई मृतक घोषणा गिरिएको थियो । घाँटीको क्यान्सरको समस्याबाट पिडित उनी लामो समय भारतको बनारसका विभिन्न अस्पतालमा उपचार गरी स्वदेश फर्किएका थिए । उनको निधनको खबरले सबैलाई दुखित् तुल्याएको छ । उनमा रहेको बौद्धिकता, स्पष्टता, सादगीपनको सर्वत्र चर्चा भइरहेको छ । गिरीको निधनको खबर थाहा पाउनेबित्तिकै देशका राष्ट्र प्रमुख राष्ट्रपति, कार्यकारी प्रमुख प्रधानमन्त्री, सत्तारूढ दलका शीर्षस्थ नेता एवं प्रमुख प्रतिपक्षी दलका नेताले विभिन्न माध्यमबाट श्रद्धाञ्जली व्यक्त गरे । पार्टीका नेता कार्यकर्ता, शुभचिन्तकले अस्पताल, पार्टी कार्यालय र पशुपति आर्यघाट पुगेर स्व.नेता गिरि प्रति अन्तिम श्रद्धासुमन अर्पण गरेर विदाइ गरे ।

स्वर्गीय प्रदीप गिरी नेपाली राजनीतिमा निष्ठा, आदर्श र बौद्धिक व्यक्तिका रूपमा आफ्नो विशिष्ट छवि बनाएका नेता हुन् । राष्ट्रिय रूपमा मात्र नभई अन्तर्राष्ट्रियरूपमा पनि उनको चर्चा हुन्थ्यो । उनी राजनीतिक विचारमा लोकतन्त्र र आर्थिक नीतिमा समाजवादको व्यावहारिक व्याख्याता, ग्रामीण किसान, मजदूर एवं विपन्न परिवारलाई विकासको केन्द्रविन्दुमा राख्थे । कांग्रेसलाई थप समावेशी र सबल बनाउन उनी हरदम क्रियाशील रहिरहेका थिए । नेपालमा राजनीतिक दल प्रतिबन्धित भएको समय बनारसबाट कांग्रेस पार्टीमा आबद्ध भई पार्टी सङ्गठनका माध्यमबाट बहुदलीय व्यवस्थाका पक्षमा वैचारिक वकालत गर्दै निरंकुश पञ्चायतका विरुद्ध निरन्तर संघर्षरत रहे । सबै किसिमका निरंकुशताविरुद्ध प्रखर वैचारिक संघर्षमा होमिएका गिरी लोकतान्त्रिक आन्दोलनमा वैचारिक र साङ्गठनिक अग्रणी भूमिका निभाउने क्रममा पटकपटक जेल र निर्वासनमा रहेका थिए । उनी कांग्रेस पार्टीमा मात्रै नभएर नेपाली र विदेशी राजनीतिक समकक्षीबीच लोकप्रिय थिए ।

दार्शनिक नेता प्रदीप गिरिको निधनले नेपाली लोकतान्त्रिक आन्दोलन, कांग्रेस, सिङ्गो संसदीय अभ्यास र मुलुकलाई ठूलो क्षति पुग्न गएको छ ।
वास्तविक रुपमा चित्रण गर्ने हो भने गिरी नेपाली रजनीतिमै निष्ठाको राजनीति गर्ने, अध्ययनशील, प्रखर बौद्धिक क्षमता भएको व्यक्ति हुन् । राजनीतिक चिन्तक र विश्लेषक, समाजवादीहरुलाई पनि समाजवाद पढाउनसक्ने क्षमता भएका नेताको रुपमा उनलाई लिन सकिन्छ । उनले नेपालको राजनीतिक दर्शनलाई सैद्धान्तिक र राजनीतिक पाटोबाट अगाडि बढाउनुपर्छ भन्ने मान्यता राख्ने र जनतालाई हेरेर जनतासँग भिजेर उनीहरुको उत्थानका लागि राजनीति गर्नुपर्छ भन्ने व्यक्तित्वका रूपमा उनलाई चिन्न सकिन्छ । कांग्रेसमा सक्रियता र सहभागिता भए पनि कम्युनिष्टहरुले पनि उत्तिकै गिरीलाई सुन्थे । ‘समाजवादी चिन्तनमा पनि प्रदीप गिरी माक्र्सवादी धाराका मानिन्छन् । उनले जुन कुरा धेरैपटक कबुल गरेका पनि छन् । कम्युनिष्टहरुले उनलाई प्रशिक्षणमा पनि बोलाउनुमा माक्र्सवादी अध्ययन थियो । कतिसम्म भने सन् २०१८ मा कार्ल माक्र्स द्विशतकी वार्षिकी समारोह मनाइरहँदा गिरिलाई सल्लाहकारमै राखिएको थियो । अध्ययन गरेको विषय र पात्र समेत कण्ठाग्र बोल्न सक्ने गिरिले पूर्वीय र पश्चिमा दर्शन, भौतिकतावादी चिन्तन र आध्यात्मिक सोचबारे सरल भाषामा सारांश सुनाउन सक्थे ।राजा, पञ्चायत, कांग्रेस, कम्युनिष्ट र विश्व राजनीतिक पात्र अनि तिनको प्रवृत्तिसँग वर्तमान राजनीतिलाई तुलनात्मक अध्ययन गर्न सक्ने खुबीकै कारण युवा पंक्तिमा समेत उनी प्रिय बने । समाजवादी चिन्तन र जीवनशैली प्रति जसरी आजीवन सम्झौता गरेनन्, त्यसैगरी राजनीतिक द्वन्द्वमा आफ्नो कित्ता सधैं प्रष्ट पारे । भन्थे ‘युद्धमा योद्धाले आफ्नो कित्ता प्रष्ट पार्नैपर्छ ।’ तत्कालीन सशस्त्र द्वन्द्वको अवधिमा माओवादीको पहिलो तारो कांग्रेस बनेको थियो । माओवादीको नारा नै थियो ‘कांग्रेस खोजीखोजी, एमाले रोजीरोजी ।’ तर ‘कांग्रेस खोजीखोजी’ को बेलामा माओवादी नेतृत्वले आन्तरिक रुपमा सूचना पठाएर प्रदीप गिरिको चुनाव प्रचार अभियानमा दखल नपु¥याउन निर्देशन दिइएको थियो । प्रदीप गिरि माओवादीलाई आतंकवादी नभई राजनीतिक शक्तिकै आँखाबाट हेरिनुपर्ने मत राख्थे । उनी त्यस्तो बेला यो मत दर्ज गरिरहेका थिए, जुन बेला पार्टीका एकछत्र शक्तिशाली नेता गिरिजाप्रसाद कोइराला थिए । कोइराला त्यस बेला माओवादीप्रति अनुदार देखिएका थिए ।

प्रदीप गिरीको जन्म पिता मित्रलाल गिरी र माता पुण्यप्रभा गिरीको कोखबाट विसं २००४ असोज २४ गते गोबर्धन पूजाका दिन सिरहाको बस्तीपुरमा भएको थियो । उनले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नाकोत्तर गरेका थिए । उनलाई समकालीन प्रजातान्त्रिक समाजवादी नेताहरुसँग उच्च तहको मित्रवत् सम्बन्ध एवं नेपाल–भारत सम्बन्धमा गहिरो प्रभाव राख्ने एक सरल जीवनशैलीका गान्धीवादी हेरिन्छ । तराईको सम्पन्न परिवारमा जन्मिएर पनि विलासी संस्कृतिको अवलम्बन नगर्नु उनको समाजवादप्रतिको सम्मोहनको एउटा बलियो उदाहरण हो । दर्शनको व्याख्या गर्नेहरु प्रायः एकांकी, सामूहिक गफगाफमा रुचि नदिने स्वभावका देखिन्छन् । तर उनी अरुभन्दा फरक थिए । गाउँमा गएर सम्बाद गर्ने, सुन्ने उनको रुचि नै थियो । युवाहरुलाई अभिप्रेरित गर्ने उनीहरुसँगको संवादमा जोड दिने उनको क्षमता र स्वभाव थियो । गिरि पटकपटक सांसद भए तर मन्त्री बन्न चाहेनन । मन्त्री किन नभएको भन्ने प्रश्नको मनमौजी जवाफ दिन्थे, ‘कसैले बनाए पो हुने’ भन्ने जस्तो जवाफ आउँथ्यो । उनी आफैँ परीक्षणमा जाने भन्दा परीक्षणमा गएकाहरूको मूल्यांकन र खबरदारी गर्ने पात्रका रुपमा आफूलाई उभ्याउन इच्छुक देखिन्थे । उनी सांसद रहँदा अरु बेला नबोले पनि सरकारको नीति तथा कार्यक्रम र बजेटमा अनिवार्य बोल्थे । सरकार उनको पार्टीको होस् वा नहोस् उनको समाजवादको आलोकमा त्यसको समीक्षा गर्थे । उनी संसद्मा बोल्दै गर्दा प्रजातान्त्रिक समाजवादको शिविरजस्तै बन्थ्यो भन्नेहरु थुप्रै छन् ।

नेपाल फर्किएपछि २०२५ र २०४२ सालमा गरी चार वर्ष जेल जीवन बिताए । त्यसैबेला दरबारले राजकीय अवसरको प्रस्ताव गरे । तर गिरिलाई आफू हिंडेको आन्दोलन प्रिय थियो, सामाजिक जागरण प्यारो लाग्यो । प्रतिबन्धित पत्रिका तरुण र प्रवाह मार्फत् कांग्रेसप्रति आकर्षण बढाए । तर कांग्रेसको कार्यकारी भूमिका उनको रुचिमा थिएन । बहुदल आएपछि गिरि पटक–पटक सांसद भए, कांग्रेसको केन्द्रीय समितिमा निर्वाचित भए । २०५१ मा सिराहा–५ बाट निर्वाचित र २०५६ मा पराजित भए । २०६३ सालको पुनस्र्थापित संसदमा मनोनीत भए भने २०६४ र ०७० मा समानुपातिक सांसद भए । २०७४ मा एमाले र माओवादी केन्द्रको गठबन्धन तोडेर सिरहा–१ बाट सांसद निर्वाचित भए । तर न कहिल्यै मन्त्री बने, न त्यसप्रति कुनै रुचि राखेको देखियो । २०५६ को पोखरा महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित गिरि गत मंसिरमा सम्पन्न १४ औं महाधिवेशनसम्म उक्त भूमिकामा रहे । क्यान्सरको उपचारार्थ अस्पतालमा रहेकाले १४औं महाधिवेशनमा भने सहभागी भएनन् । बीपीसँग सैद्धान्तिक बहस गर्ने गिरि कांग्रेसभित्र सुवर्ण शमशेरको कित्तामा उभिए । त्यसैको निरन्तरतामा कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहलाई साथ दिए । यो कित्तामा २०५३ पछि शेरबहादुर देउवा जोडिए । त्यसपछि सधैंभर देउवालाई नै साथ दिंदै आइरहेका थिए ।

जीवनको अस्तित्वसँग मृत्यु जोडिएर आउँछ । मृत्यु सवैको जीवनको एकमात्र सत्य हो । सबैले कुनै न कुनै समयमा मृत्युलाई वरण गर्ने पर्दछ । तर मानिसले आफ्नो वैयक्तिक जीवन कसरी बाँच्यो । जीवन आफ्नो निहित स्वर्थमै रुमलिएर वितायो कि समाज र देशलाई केही योगदान ग¥यो त्यसको धरातलको कशीमा व्यक्तिको सम्रग जीवनलाई मृत्युको क्षणमा सम्झने गरिन्छ । प्रदीप गिरीको सादगी, वैचारिकता, निष्ठा र देश र समाजप्रति उनले गरेको योगदानको धरातल कति ठुलो र विशिष्ट रहेछ भन्ने उनको अन्तिम विदाईमा भएको समग्र उपस्थितिले प्रष्ट पारेको छ । एक निडर, निष्पक्ष सफा चरित्र भएको समाजवाद उन्मुख मुलुकमा समाजवाद र लोकतन्त्रको व्याख्याताको छवि निर्माण गरेका राजनीतिज्ञको अवसानले अपुरणीय क्षति पुग्न गएको छ । यो क्षति सवै समाजवादी चिन्तक, दलहरु र सम्पूर्ण देशले व्यवहोरेको छ । यस्ता प्रखर व्याख्याताको सम्बोधन अबको संसदले कहिल्यै पाउने छैन । नेपाली समाजले प्रजातान्त्रिक समाजवादको कसीमा नेपाली अर्थतन्त्रलाई डो¥याउनका लागि गरिने खबरदारी गर्ने व्यत्तित्व हामीबीच रहेनन् । यो रिक्तता नेपाली संसदीय इतिहास र समग्र नेपाली राजनीतिमा सदैव खड्की रहने छ ।

 

 

Facebook Comments Box