हामीले समस्या राखिरह्यौं, नेताहरूले सुनिरहे तर अहं केही पनि भएन‼️

कोरियाअपडेट विचार/अन्तर्वार्ता

अजय सोडारी

दक्षिण कोरिया ।

केहि महिना अगाडि म एउटा कार्यक्रमको सिलसिलामा सउल गएको थिए । त्यस कार्यक्रममा नेपालका राष्ट्रिय राजनीतिक एकजना नेता एउटा कार्यक्रमको सिलसिलामा दक्षिण कोरिया आएका रहेछन्। त्यसै अवसरमा त्यो कार्यक्रमको आयोजन भएको रहेछ।

कार्यक्रम सकिएर बाहिर निस्किदै गर्दा त्यो कार्यक्रम आयोजकका एकजना पात्र भन्दै थिए। यस कार्यक्रमले हामीलाई उहां नेता ज्यूसँग नजिकबाट जोडिन सजिलो भयो। अब नेपालमा केही काम गर्दा उहांको सहयोग लिन सजिलो हुने भयो। सिहदरबार र बालुवाटार जान कुनै बाधा-अवरोध नहुने भयो। यस्तै-यस्तै कुरा मैले उहांको मुखार बिन्दुबाट सुनिरहे र मनमनै सोचे, दक्षिण कोरियामा नेपालबाट नेता आउने बितिकै काम छोडेर दौडिदै एयरपोर्ट गएर खादामाल किन लगाउँछन्, एउटा ब्यानरमा कार्यक्रम गर्न तछाडमछाड किन गर्छन् भन्ने कुरा केही हदसम्म महसुस गरे।

माथिका विषयवस्तु लाई पुरा रूप दिन भन्दा पहिले केही कुरा सिलसिला बद्ध ढंगले उठान गर्न चाहन्छु। नेपालबाट विभिन्न समय र परिस्थितिमा विभिन्न पार्टी तथा सरकार पक्षका नेता तथा नेतृत्वहरू दक्षिण कोरिया आएका छन्। नेपाली समुदायसँग भलाकुसारी गरेका छन्। कोरिया स्थित नेपाली समुदायले भोगेको पीड़ा र समस्या मज्जाले सुनेका छन्। आफना कुरा पनि सुनाएका छन्।

म दक्षिण कोरिया आएको दुई वर्ष भएर तेस्रो वर्ष लागिरहेको छ, यो बीचमा दक्षिण कोरियामा आएका नेताहरूका नाम उल्लेख गर्न चाहन्छु।

जनार्दन शर्मा – नेकपा माओवादी केन्द्रका नेता तथा तत्कालीन अर्थमन्त्री:
उहा कोरिया भ्रमणमा रहदा नेपाली समुदायसँग निकै राम्रो साक्षात्कार गर्नुभयो। केही श्रमिक विद्यार्थीका कुरा, केही आफना कुरा राखेर धेरै कुरामा परिवर्तन गर्न संकल्प बोकेर नेपाल फर्किनु भयो, तर अह: केही पनि भएन, ती वाचा, ती प्रतिबद्धता कता हराए कता?

अमनलाल मोदी – नेकपा माओवादी केन्द्रका नेता तथा तत्कालीन नेपाल सरकारका संघीय मामिला मन्त्री:

दक्षिण कोरियाको राजधानी सउल दोङदेमुनको एक होटलको हलमा निकै मिठा कुरा गरेर कोरियामा रहेका नेपालीलाई मिठो मातमा हराइदिने नेता तथा मन्त्री तिनै अमनलाल मोदी हुन। उहांले थुप्रै वाचा गर्नु भयो। नेपाली दूतावास दक्षिण कोरियालाई चुस्तदुरुस्त पार्ने देखि श्रमिक अस्पतालको परिकल्पना गर्ने सम्मका कुरा अगाडि बढाउनु भयो। सानातिना कुरा त कति गर्नुभयो, कति तर इन्चन अन्तर्राष्ट्रिय विमानस्थल पार गर्ने बितिकै सबै कुरा भुलिदिनुभयो जसको परिणाम केही पनि भएन।

शेरधन राई – नेकपा एमालेका नेता तथा पूर्व कोशी प्रदेशका मुख्य मन्त्री:

उहा दक्षिण कोरिया व्यक्तिगत उद्देश्यका लागि आएपनि कोरिया स्थित नेपाली जनमानस बीच आफू नेपाल गएर कोरियामा भएका समस्याका पक्षमा सहजिकरण गर्ने भन्नुभयो। त्यतिमात्र होइन, नेपाल एयरलाइन्स कोरिया उडाउन पहल गर्ने पनि भन्नुभयो। अह: तर केही पनि भएन।

विराज भक्त श्रेष्ठ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा तत्कालीन युवा तथा खेलकुद मन्त्री:
तपाईंहरूको समस्या के-के हुन् लेखेर दिनुस्, एक-एक पुरा गर्ने संकल्प गर्छु भनेर कोरियामा रहेका श्रमिकका गडगडाड तालि पाउने नेता हुन विराज भक्त श्रेष्ठ। कोरिया स्थित नेपाली कामदारमा लागू हुन नसकेको राष्ट्रिय पेन्सन बीमा (खुकमिन) लागू गराउने पहल गर्छु भनेर कोरिया बाट नेपाल गएका उंनि तै चुप मै चुप भए।

हरी ढकाल – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सांसद:
उनले कोरियाका विभिन्न सहरमा पुगेर निकै ठूला भाषण गरे, युवालाई स्वदेश फर्काउनेदेखि सेयर बजार सुधार गर्ने ठूलो प्रतिबद्धता गरे, न युवा स्वदेश फर्किए, न नेपाल सेयर मार्केट लयमा आयो। हामी विच भ्रममको खेती गरेर गए।

सुशिला श्रिपालि – नेकपा माओवादी नेता तथा तत्कालीन पर्यटन राज्य मन्त्री:
कोरिया बाट लगानी र हवाई उडानको समस्या समाधान गर्न आफुले मन्त्रालय स्तरमा पहल गर्ने भन्नुभयो, तर नेपाल फर्किपछि कोरियामा बाचा गरेको विषय उहांले सम्झनै चाहनु भएन।

पदम गिरी – प्रदीप पौडेल – बिना मगर – क्रमशः नेताहरू नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र:
तिनै जना नेता एकसाथ कोरिया आउनु भयो। नेपाल र कोरियाको सम्बन्धलाई अझ परिमार्जन र नजिक बनाउने उद्देश्य सहित उहाहरू कोरिया आउनुभएको भन्ने कुरा छ। त्यसका केही दृश्य र कार्यक्रमका झलक सामाजिक सञ्जाल भरी देखिएका थिए। प्रदीप पौडेल बाहेक बाँकी नेताहरूले नेपाली समुदायसँग निकै लामो भाषण र ठूलो आश्वासन देखाउनु भयो। कोरियामा नेपालले भोगेका र देखेका समस्याहरू मिहिन तरिकाले सुन्नु भयो, हामी गर्छौं पनि भन्नुभयो, तर अहिले सम्म केही परिवर्तनको महसुस गर्न सकिएको छैन।

गगन थापा – नेपाली कांग्रेसका महामन्त्री तथा सांसद:

गगन थापाले कोरिया आउदा दोङदेमुनको त्यो हल आक्रोशित थियो, त्यहाँ भन्दा बढी अपेक्षारहित थियो। गगन थापाले केही गर्छन्। नेपाल एयरलाइन्स कोरिया उड्ने सपना पनि पुरा हुन्छ। नेपाल कोरियाको महगो भाडादर पनि घट्छ। कोरियाका युवा विद्यार्थीका समस्या केही रूपमा भएपनि समाधान हुन्छ भन्ने निकै ठूलो अपेक्षा गरिएको थियो। गगन थापा ज्युको एक घण्टा भन्दा लामो भाषण दक्षिण कोरियाका समस्या र त्यसमा आफुले र सरकार पक्षले गर्ने कामका बारेमा थियो। उहांले त तीन महिनामा नेपाल एयरलाइन्स कोरिया उडाएर पर्यटन र उडान क्षेत्रमा नयाँ क्रान्ति गर्ने भन्नुभएको थियो, तर उहां कोरिया भ्रमण गरेको तीन महिना पुग्न लागिसकेको छ, तर केही हुन सकिरहेको छैन, लक्षण, तयारी र पहलकदमी प्रभावकारी छैन।

पद्मामा अर्याल – सचिव नेकपा एमाले तथा पूर्व मन्त्री:

केहि दिन अगाडि एक कार्यक्रमको सिलसिलामा दक्षिण कोरिया आउनुभएको उहांले आफू दक्षिण कोरिया केही सिक्न आएको र तपाईंका अनुभव र समस्या हामीलाई सूचित गर्नुहोस्। हामी अथवा म नेपाल फर्केर यता जानेका बुझेका कुराहरू नेपालमा प्रयोगमा ल्याउन चाहन्छु। तपाईंहरूको प्रमुख मुद्दाहरूमा काम गर्न चाहन्छु भन्नुभयो। तर अहिले के गर्दै हुनुहुन्छ थाहा छैन, तरपनि आगामी दिनमा उहाको प्रयास र पहलकदमी थाहा हुने नै छ।

बीर बहादुर बलायर, पदम गिरी, सुहाङ नेम्बाङ र अमरेश कुमार सिंह – क्रमशः नेताहरू नेपाली कांग्रेस – नेकपा एमाले, नेकपा एमाले, स्वतन्त्र सांसद:

केहि दिन अगाडि एउटा कार्यक्रममा दक्षिण कोरिया आउनु भएका उहाहरूले पनि नेपाली समुदाय माझ केही वाचा र प्रतिबद्धता गर्नुभएको छ, तर आगामी दिनमा के हुन्छ त्यो हेर्न र परिक्षण गर्न बाकि नै छ।

यतिका नेता तथा नेतृत्वहरूले दक्षिण कोरियाको भ्रमण गरिरहदा कोरिया बाट उहाहरूले के सिक्नु भयो र देशलाई कसरी योगदान तथा नयाँ मागमा लैजना के कस्ता योजना र भिजनहरू अगाडि बढाइरहनुभएको छ, त्यो त हामीलाई थाहा छैन। तर हामी माझ बसेर हाम्रो बीचमा चर्को र ठूलो स्वरमा भाषण गरेर विदेशमा हुने युवाका लागि केही गर्छौं भन्ने उहाका प्रतिबद्धता तथा आश्वासन आज डाको छोडेर धुरुधुरु रोइरहेका छन्।

युवाका अवस्था, बाध्यता र भावना माथि नेताहरूले नेपालमात खेलेखेलै विदेशमा आएर पनि खेले। दक्षिण कोरियामा रहेका नेपाली श्रमिक, विद्यार्थी तथा व्यापारीका माग ठूला केही थिएनन्। कोरियन एयरको एकलौटी भयो, भाडा महङ्गो भयो। नेपाली एयरलाइन्सको कोरिया उडाउनमा पहल गरिदिनुहोस्। हामी हाम्रो पैसा आफ्नै एयरलाइन्सलाई दिन्छौं। आफ्नै राष्ट्रिय ध्वजाबाहकमा यात्रा गर्न चाहन्छौं।
हामी विदेशबाट फर्किदा एयरपोर्टमा दुश्मनको जस्तो व्यवहार हुन्छ, हाम्रो दुख र पसिनाले किनेको मोबाइल र घाटिमा लगाएको सिक्री खोसिन्छ। त्यसमा सुधार गरिदिनुहोस्। विदेशबाट रेमिट्यान्स गर्नेहरूलाई केही नयाँ अवसर र कार्यक्रममा समेटिदिनुहोस्। कोरियाको सीप, पूंजी र मेहनतलाई नेपालमा स्थापित हुने वातावरण सिर्जना गराइदिनुहोस्। दक्षिण कोरियामा नेपाली कामदारले राष्ट्रिय पेन्सन बीमा पाइरहेका छैनन्, त्यसमा पहल गरिदिनुहोस । कोरियामा कसैको अकस्मात् मृत्यु भयो भने नेपाल पठाउन समस्या छ । सरकार तर्फबाट उदार र राहतका लागि केहि प्याकेज र कार्यक्रम बनाइदिनुहोस । नेपाली राजदुताबास बाट प्रबाहा हुने सेवा सुविधा चुस्तदुरुस्त र छिटिछरितो गरिदिनुहोस । यिनै माग त हुन हाम्रो !! नेपाल बाट नेता आइरन्छन हामि यि कुरा भनिरहन्छौ उनिरहरु सुनिरहन्छन ,गर्छु भनिरहन्छन तर केहि हुदैन भएकै छैन ।

नेताहरुका भम्रण तथा कोरियाका यात्रा मैले अघि भनेजस्तो केहि व्यक्ति लाई सिंहदरबार र बालुवाटार छिर्न र त्यसबाट केहि लाभ लिन मात्र केन्द्रित भए तर विदेशमा भएका युवाले अझ भनौ कोरियामा भएका नेपाली समुदायले केहि पाएनन् ।

(लेखक अजय सोडारी हाल दक्षिण कोरिया कार्यरत छन् ।)

Facebook Comments Box