-सिता सुबेदी
२०१९ को डिसेम्बर अन्तिममा चिनको वुहान शहरमा देखा परेको कोरोनाको माहामारीले बिश्व आक्रान्त बनेको छ ।अहिले नेपालमा मात्र नभई बिश्वका सबैजसो राष्ट्रहरु कोरोना भाइरस (कोभिड- १९) सङ्ग जुधिरहेका छन। सर्सर्ती हेर्ने हो भने सम्पुर्ण मुलुकको अर्थतन्त्र देखी सम्पुर्ण पक्षलाई नकारात्मक प्रभाव पारिरहेको छ। बिशेषत देशको अर्थतन्त्रलाई कसरी माथी लैजाने भन्ने कुराको महत्व भन्दा पनि कसरी यो महामारीको घडिबाट पार पाउन सकिन्छ भनी विकसित देशहरूमा रोगको औषधि पत्ता लगाउन हजारौं अनुसन्धान भइरहेका छन।
विश्वको मानचित्रमा ०.००३% भाग ओगटेको सानो सुन्दर शान्त देशमा लगभग ३ करोड जनता बसोबास गर्छन।बिश्वका विकसित तथा स्वास्थ्यका लागी उच्च मापदण्डअनुसारको जिवन पद्धति अपनाउने भनिएका युरोपियन मुलुकलाई त यो महामारीको अवस्थालाई थेग्न हम्मे परेको छ भने हाम्रो जस्तो भ्रष्टाचारको जालोबाट माथी उठ्न नसकेको देशको अवस्था कुन हालतमा हुने होला। सम्झिदा पनि आङ्ग जिरिङ्ग भएर आउँछ। भगवानको कृपा नै भन्नुपर्छ हाम्रो देशमा कोरोनाको अवस्था प्रथम चरणमा रहेको छ । अहिले सामान्य अवस्थाको नागरिकको मनोबैज्ञानिक स्थिति भयानक भन्ने छ भने अपाङ्गता भएका ब्यक्तिहरुको दैनिकी कति कष्टकर छ यसै पनि अनुमान लगाउन सकिन्छ। बिशेष गरी अपाङ्गता भएका ब्यक्तिहरुले प्रयोग गर्ने सहायक सामाग्री सम्बन्धि सचेतनाका कुरा गौण बनेका छ्न । उनीहरुले प्रयोग गर्ने सामाग्रीहरु कृतिम खुट्टा, बैशाखी, व्हिल चियर, सेतो छडी(दृष्टिविहीन ब्यक्तिहरुले प्रयोग गर्ने) जस्ता सामाग्रीहरु अति आवस्यक सामाग्री भित्र पर्छ्न। जुन चिजहरु अनिवार्यरुपमा हिडडुल गर्दा प्रयोग गर्नुपर्छ। यि सामाग्रीहरु बिकसित देशमा जस्तो सुरक्षित रुपमा सरसफाइ गरि प्रयोग गर्न मिल्ने खालका पनि हुदैनन् । यि र यस्ता सामाग्री त प्रतिनिधि सामाग्री मात्र हुन । त्यसैले सिङ्गो अपाङ्गता क्षेत्रले यसबारेमा एकपटक गम्भीर भएर सोच्ने र उक्त कुराका बारेमा जानकारी गराउनुका साथै ध्यान पुर्याउनु आवश्यक देखिन्छ।
यो महामारीको स्थिति अपाङ्गता भएका महिलाको हकमा अझै भयावह हुने देखिन्छ । त्यसैले यसलाई महत्त्वपूर्ण तरिकाले हेर्नहुन पनि आग्रह गर्न चाहन्छु । यस्तो जोखिमबाट पार पाउन अहम भुमिका आफैले खेल्नुपर्ने भएता पनि हालको ठप्प अवस्थामा अपाङगता भएका महिलाको लागी अझै कठिन अवस्था हो। यस कुरालाई सामाजिक संघ सस्था तथा राज्यको महत्वपूर्ण दायित्व समेत हो। यस कुरालाई गम्भीरता पुर्वक मनन गरियोस।
यतिबेला जनता जति सरकारले केहि गर्छ कि भनेर मुख ताकेको देखिन्छ । किन भने अवस्था अवस्था पनि त्यस्तै छ। तर हामी जनता आफैं पनि जिम्मेवारी पुरा गर्नु भन्दा अर्काको मुख ताक्ने कुरामा भने कम छैनौं । लकडाउन हाम्रै सुरक्षाको निमित्त गरिएको हो। यो कुनै चाडपर्व होइन । अहिले सरकारलाई मात्रै गाली गर्ने भन्दा पनि एउटा असल नागरिकको कर्तव्य पालना गरौं । लकडाउनको पुर्ण पालना गरी देशलाई महामारीबाट बचाउन सहयोग गरौं ।