अन्तराष्ट्रिय मजदुर दिवसमा( मे 1st)आन्सान नेपाली पुस्तकालयले वेवसाइट(e-library) आरम्भ गर्ने

कोरियाअपडेट समाचार

सन्तोष खड्का 

कामदार दैनिक

अन्तराष्ट्रिय मजदुर दिवस( मे १ तारिख ) का दिन दक्षिण कोरियाको आन्सान सहर स्थित “आन्सान नेपाली पुस्तकालय” को वेवसाइट सञ्चालनमा आउन लागेको हो । वेभसाईटको माध्यमबाट अब कोरियाभर घरमै बसी बसी पुस्तक मगाएर अध्ययन गर्न तथा पुस्तकालयको सदस्य बन्न सकिनेछ।

 

पूर्वीय कला सँस्कार अनि सँस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्दै साहित्य र संगीतको माध्यमद्धारा विश्वमा आध्यात्मिक जागरण गराउने प्रयास स्वरूप स्थापना भएको सनातन साहित्य संगीत साधना समूह पाँच’स’ दक्षिण कोरियाले आन्सान शहरमा स्थापना गरेको “आन्सान नेपाली पुस्तकालय” मार्फत कोरियामा रहेका नेपालीहरूलाई घरमै बसी बसी पुस्तक पढ्ने सुविधा प्राप्त होस् भन्ने उद्देश्यले यही आउदो मे १ तारिखका दिन आफ्नो पुस्तकालयको वेबसाइटको उद्घाटन गर्न लागेको कुरा पाँच “स” का प्रेमराज अधिकारीले जानकारी गराउनुभएको छ ।

 

पुस्तकालयको वेवसाइट मार्फत कोरियामा रहेका नेपालीहरुले घरमै आफूले अध्ययन गर्न चाहेको पुस्तक मगाउन सक्नेछन । पुस्तक मगाउनको लागि अनिवार्य रूपमा पुस्तकालयको सदस्यता लिनु पर्ने र एकपटक सदस्यता लिइसकेपछि एक वर्षसम्म नि:शुल्क रूपमा पुस्तक मगाएर अध्ययन गर्न सक्नेछन् । पुस्तक अध्येताहरूलाई पढ्नको लागि कुन पुस्तक छनोट गर्ने सहज होस् भन्ने हेतुले पुस्तकहरूलाई धार्मिक, साहित्यिक, भाषा-साहित्य, जीवनी, उपन्यास, स्वास्थ र बिज्ञान, नेपाल भूगोल तथा राजनीतिक लगायत अलग- अलग विधामा छुट्ट्याएर राखिएको छ । साथै कसरी पुस्तक मगाउन सकिन्छ भन्ने जानकारी सहितको भिडियो समेत सोही दिन पुस्तकालयको पेज तथा अन्य सामाजिक संजाल मार्फत उपलब्ध गराउने कुरा पुस्तकालयको लाइब्रेरियन नरेश मेहताले जानकारी गराउनुभएको छ । पुस्तकालयमा अहिले लगभग ११०० जति पुस्तक भएको र पुस्तक सङ्कलन गर्ने तथा वेबसाइटमा पुस्तकहरू दर्ता गर्ने काम निरन्तर चलिरहने कुरा पुस्तकालयका प्रमुख व्यवस्थापक तथा संरक्षक श्याम खड्का ज्यूले जानकारी गराउनुभएको छ ।

 

पुस्तकालय स्थापना तथा निरन्तरताको लागि पुस्तक तथा आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुमा सँस्थाको तर्फबाट हार्दिक आभार समेत व्यक्त गर्दै आगामी दिनहरूमा पनी सम्पूर्ण शुभेच्छुक महानुभावहरुवाट आ-आफ्नो स्थानबाट आफूले सकेको सहयोग गर्दै हातेमालो गरी अघि बढ्नका समेत सँस्थाले अनुरोध गरेको छ ।

Facebook Comments Box