-कमलेश घरडी
सपना छन् नि सानी
केही दुरका केही नजिकका
फर्केको आएको दिन
आफ्नो मातृभुमीको एयरपोर्टमा
अङ्गालोमा कस्सिएर रुन मन छ
कहिल्यै खाडी नभासिने साउती
ती तिम्रा कोमल अनि ताता गालामा गाला टासी
कानको छेउमै कसम खान मन छ।
बगाएको रगत अनि पसिनाको ब्यथा
एक्लोपनले गाजिदा तिम्रो म्यासेजले
भुलाएको समय फेरि सम्झिन मन छैन
अर्बौंको कारोबार गर्ने साहुको
२ पैसे मतिको ठिट लाग्दो गाली
बिराना शहरका चुकिला गल्लीका
नमिठा र निरश हिडाइ
मेसिन जस्तै पेलिएर मन भित्रै
गाठो परेका सुकोमल भावना
अहँ त्यो केही सम्झिनै मन छैन
केही महिना भयो
दिनरात मृत्युको भय छ
सबैसंग सबै लुकाउने म
यो लाई किन पो भन्थे र!
अरुचिको पराकाष्ठामा
चुरोटको सलामी चढएकै छु
मन हो जत्ती गरे नि मान्दैन्
त्यस्ले भनेको नगरी म बस्न सक्दिनँ
जहाज त जसरी नि चड्ने हो
जिवित भए आत्मा सहित
प्राण पखेरु उडे देह मात्रै
समुन्द्र तर्न नसकी
मरुभूमिको तातो हावामा
यदि मेरो आत्मा भड्कियो भने
तिम्रो म्यासेजको पर्खाइमा रहने मेरो मन
कफनमा कैद गरियो भने
म सोच्न सक्दिन वा चाहान्न
तर बिर्सन पनि त सकिरहेको छैन
आएर सङ्गै जिउने कसम
अनि भविष्यका योजना
तिम्रो केही छिनको रिसाइ
अनि फकाउन नजान्ने मेरो पुर्पुरो
अब फर्काउन नसकिने
त्यो बितेको समय
एकान्त कुनाको निर्जन भुमी
अनि भुमरीका तिम्रा याद
खाडीमा बस्न मनै छैन
फर्किन मन छ
र फर्किने छु।