बे~मतलबी (कविता)

कोरियाअपडेट समाचार साहित्य

-कमलेश घरडी

 

धेरै बर्ष भो
आउने जाने मात्रै गर्छ
अनुभव गर्न पाएको छैन
कसैका फेस्बुक पोष्ट र
अन्लाईन पोर्टलका भित्तामा
सजिएका रङ्गिबिरङ्गी पोस्टर
अनि शुभकामना सन्देशका पोका
झुल्केका देख्दा
टिपम टिपम लाग्छ
फेरि स्वार्थको लागि आउने
चाडवाडको रहर बाकी छैन र पो!

 

 

सबैको लागि हर्षौल्लास
बोकेर आउने चाडवाडहरु
धेरैको लागि दशा बोकेर आउँछन्
स्टार होटलमा हो, ढिडो मिठो लाग्ने
ढिडोको अमिलोपन सधैं खानेलाई पिर्छ
सप्तमिसम्म पशुबलीको बिरोध गर्नेहरु
अष्टमिदेखी मासु पसल र
बधशालामा आफ्नो पालो कुरिरहेका हुन्छन्
जत्ती गुदि छ त्यति बुझ्ने हो
सबैलाई ढाट्ने धुर्त
आफ्नो मनसङ्ग मात खान्छ
अनि ङिच्च मुस्कुराएको फोटोले
संजाल रङ्गाउछ

 

 

एकसरो किन्न नसक्नेले देखासिखि गर्नुपरेको छ
हुनेखानेले गफ नलाए सम्म
अष्टमी देखि हसुरेको पच्दैन
अनि म जस्ता मध्यमवर्गीयले
यी दुई बिचको भिन्नता
छुट्याउन नसकेर तवाफी छ
गलतलाई गलत भनु भने
बाइकट गर्लान् भन्ने चिन्ता
नभनु त आत्मालाई कसरी ढाट्नु?

 

 

गफ गफै हो
मुखनेर ठिक्क पार्नेको जमातमा
म विस्वासीलो खोजिरहेको हुन्छु
मुस्कानको चटक बुझि नसक्नुको छ
भुमरीको ज्वालामुखी भित्र
घिउको काम गर्ने कुराले अचेल
पीडा भन्दा नि खुसी दिन थालेको छ
त्यसैले त मलाई अचेल
चाडवाड र अतिरन्जित कुराले खासै फरक पर्दैन
दुनियाँ भुलेर आफुमा समाहित हुनुको मज्जै बेग्लै

 

 

एकैदिन थोरै समयको अन्तरालमा
कसैको आत्मा शान्तिको प्राथना गर्ने जमात
लाज पचाएर जन्मदिनको शुभकामना
अनि चाडवाडका संदेश सम्प्रेषण गर्छ
सेकेन्ड भरमै श्रद्धाञ्जली र शुभकामना दिन
आफ्नो मनलाई पो अत्यास लाग्छ
दुनियाँ भन्दा भिन्न हुने भनेर
हो मा हो थप्ने जीवन सङ्गिनी
मैले फोन राख्ने बित्तिकै
अल्लारेहरु सङ्ग मस्किदै गफिन्छे
म आफ्नाहरु संग टाढिन्छु उसैको लागि
उ पराईको लागि मसङ्ग टाढिन्छे
सायद फराकिलो मनको फाटोको
सपनाको जुदारिला गहकिला हुँदा हुन्

 

 

आफ्नो जुनिलाई धिक्कार्न देखेको छैन
निर्दोष, सोझो अनि आफ्नो पराई चिनेको
जे छ त्यहीँमा खुसी, जे छैन त्यो मा नि
पशुका घट भित्रको भगवान पनि अचम्मको छ
कसैको खुसीको लागि
आफ्नो रक्षाकवच सुटुक्क चढाउछ
अन्तिम घडीसम्म उस्ले जिउने लालच देखाइरहेथ्यो
तर बोल्न नसक्नेलाई दयाको भिख दिए पो!
प्रतिकार गर्न नसक्नेलाई
जिउने अधिकार दिए पो!

 

 

दातको चिरामा अड्केको
भोजनको रछारलाई
सिन्काले प्रक्षेपण गर्दै
संजालमा फिजाएको गन्धकीको लागि
मेरो तर्फको प्रतिक्रियाको पर्खाइ छ
ओहो, दसैंमा सिंगै ** पचाएको उस्को ज्यान
लाज पचाउन के ठूलो कुरो भयो र?

Facebook Comments Box