उमेरको घाम(कबिता)

कोरियाअपडेट समाचार साहित्य

-कमलेश घरडी 

 

क्षितिजमा धमिलो गुलाबी किरणका तिर
डाँडाका टुप्पोमा छेडुला झै गरि
पश्चिम देखि पुर्वसम्म खिचिएका छन्
ती किरणका रेशा भित्र
धुनिलो धुलोका कण प्रष्टै देखिन्छन्
एक दिनको आयु संगै
घाम डुब्नै लागेको छ

 

सबेरै उठेर
नित्यकर्म पनि राम्रोसँग गर्न पाँउदिन
एक छाकको लागि
सधैं
रफ्तारमा कम्पनी तिर दौडिन्छु

 

लगभग आधी उमेर
कम्पनीका मेसिनहरु संग पैठारी खेले
आफन्तको नाममा त्यहीँ मेसिन र
तिनबाट आउने १४० डेसिबल भन्दा बढीको ध्वनी
कहिलेकाहीँ मेनेजरबाट आउने गालीका बर्षा
अनि महिनाको अन्तमा
हाड छाला घोटेर आउने
एक खाम भित्रको सौगात
सुरुसुरुमा अचाक्ली लाग्थ्यो
अहिले यत्ति नभए घाम डुब्दैन

 

किशोरावस्थामा मेरा नि
आफ्नै सपना थिए
छुट्टै संसारको परिकल्पना थियो
एक बेहतरिन जिन्दगीको तलास थियो
आफ्नै कम्पनीको मालिक हुने चाहा थियो
भग्नावशेषको डामाडोल जिन्दगी
समथर मैदानमा कुदाउने सौख थियो
तर अब उमेरको घाम डुब्नै लागेको छ

 

सपना पूरा गर्न नखोजेको पनि हैन
कहिले आफू भित्र आफू भेटेन
कहिले सम्भावनाको संकेत भेटेन
कहिले मनको बोझ बिसाउने चौतारी भेटेन
कहिले चौतारीमा ठट्निने मान्छे भेटेन
कहिले मेलो भेटेन
कहिले मेसो भेटेन
तर अब घाम डुब्नै लागेको छ

 

डुब्न लाएको घामलाई पछ्याउँदै
थकित शरीर र किञ्चित मन बोकेर
कम्पनी भित्रैको एक क्वाटर भित्र पस्यो
यत्रतत्र छरिएका सामान
असरल्ल परेका कपड़ा
छिचोल्दै बिस्तारामा लखतरान पल्टिँदा
सोचे,

 

आजको लागि पो घाम डुबेको हो
यो त निरन्तर चलिरहेको छ शदियौ देखि
तर भोलिसम्म मेरो आफ्नो घाम डुबेन भने
भोलिको गोधुली साझ फ़ेरि घाम डुबाउनु छ!!

Facebook Comments Box